Sun, 21 Jul, 2019


#farakक्षमताः जसले गुमाइन् खुट्टा, गुमाइनन् आत्मविश्वास
फरकधार / फागुन १७, २०७५

२०७४ साल मंसिर १३ गते । धेरैका लागि यो मिति सम्झिनु पर्ने कुनै कारण छैन । तर, मीरा कटुवालको जीवनमा यो सबैभन्दा बढी सम्झनामा आउने मिति हो । गाडीका हर्न र भीडभाडलाई छिचोलेर चावाहिलबाट गौशालातिर सय मिटर अगाडि बढेपछि बायाँतिर ओर्लने एउटा सानो गल्ली छ ।



त्यो गल्ली हुँदै दायाँतिर मोडिँदा चोकैमा एउटा घर छ । बाहिर रातो रंग्याइएको घरको भित्र कोठामा पुग्ने वित्तिकै मीरा सम्झिन्छन्– २०७४ साल मंसिर १३ गते । किनकि कोठाको भित्तामा झुन्डिएका दुई तस्वीरमध्ये एकले उनलाई त्यही दिनमा पुर्याउँछ ।

२०७४ साल मंसिर १३ गते । यो एउटा दिन हो, जसको विहानी पल मीराको सम्झनाबाट मेटिएको छ । मानौं सम्झनाहरु मेट्ने इरेजर भनेका अरु सम्झनाहरु छन् । किनकि त्यो दिनको प्रसङ्ग आउने वित्तिकै मीरा पुग्छिन् ९ बजेतिर । देशभर चुनावी माहोल थियो । मीराको गृहजिल्ला उदयपुरको कटारी पनि त्यो माहोलाबाट अछुतो थिएन । झन्, चुनाव प्रचार अभियानकै लागि मीरा पुगेकी थिइन् कटारी ।

मीरासँग त्यति बेला सपना थियो– आफ्ना पार्टीका उम्मेदवार नारायण बहादुर कार्कीलाई जिताएरै छाड्ने । तर, सपनाहरु फेरिन समय लाग्दो रहेनछ । १३ मंसिरमा घरबाट निस्किएर गन्तव्य नेपालटार नपुग्दै मीराका सपना फेरिए । र, मीराको जीवनमा एउटा नमीठो सम्झना कैद भयो । मन नहुँदानहुँदै नेपालटारको यात्रा सुरु गरेकी थिइन् मीराले । उनलाई घरमै लिन आइपुगेका थिए नारायाणबहादुरसहितको एउटा टोली । सेतो बलेरो गाडीमा मीरा चढिन् । गाडीभित्र चुनावकै कुरा प्रमुखताका साथ हुन थाले ।

गाडी मवारीको जंगल पुग्यो । जंगल छेउछाउ बाटोमा एकजना बुढी आमै भारी बोकेर हिँडिरहेकी थिइन् । गाडीमा भएका सबैजसोले झट्ट भने– हामी युवा गाडी चढ्ने, बुढी आमा भारी बोकेर हिँड्ने, यो त भएन ! बुढी आमालाई पनि लिफ्ट दिए उनीहरुले । अब गाडीमा नौ जना भए । मवारीको जंगल कट्यो । गाडी स्पिडमा चलिरहेको थियो । गाडीमा चुनावका कुरा भइरहँदा मीराको मनमा आशंका उब्जिएको थियो– कतै विप्लबको (नेकपा– माओवादी विप्लव समूह) बम आक्रमणमा परिने त होइन ? यो समयमा विप्लवले विभिन्न ठाउँमा बम आक्रमण गरिरहेका थिए ।

जंगल सकियो । गाउँको बाटो सुरु भएसँगै गाडीको स्पिड अलिक कम भयो । गाडीको स्पिड कम के भएको थियो, मीरालगायतले एउटा ठूलो स्वर सुने । ड्याम्म । आवाज कानमा मात्र के परेको थियो, मीरालाई महसुस भयो, उनी हावामा उड्दैछिन् । खासमा उनीमात्र होइन, उनी चढेको गाडी पूरै हावामा थियो । तत्काल मीरालाई बोध भयो– उनी एम्बुसमा परिन् ।

त्यसपछिका पल मीरालाई ठ्याक्कै सम्झनामा छैनन् । त्यतिबेला पनि र अहिले पनि । ‘होसमा थिएँ कि बेहोसीमा थिएँ,’ भित्ताको फोटोतिर उनले हेरेर भनिन्, ‘एक मन त म मरिसकेँ कि भन्ने पनि भयो ।’

केही सेकेन्डमै हुनुपर्छ, मीरालाई सबैभन्दा बढी पीडा बायाँ खुट्टामा भएजस्तो लाग्यो । आफ्नै शरीरबाट रगतको भल बगेको जस्तो अनुभूत गरिन् उनले । दिमागमा अरु केही पनि सोच्न सकिनन् । उनले त्यतिबेला सोचिन्– मेरो प्राण उडिसक्यो । तर, तत्काल झसङ्ग भइन् उनी । आँखा खोलिन् । आँखा खुले । अनि बल्ल महसुस भयो उनलाई– म जीवितै छु । त्यसपछि आँखा उनका खुट्टामा पुगे जहाँबाट त्यो दिनसम्म नभोगेको पीडा अनुभूत गर्दै थिइन् उनी ।

अर्कोपटक झसङ्ग भइन् मीरा– विस्फोटले उनको खुट्टा क्षतविक्षत भएको थियो, दुई औंलामात्रै सद्दे देखिन्थे । र, भलभली बगिरहेको थियो रगत । अब मीरालाई तत्कालको पीडा होइन, बाँचियो भन्ने आसले भविष्यको पीडाले बढी चिमोट्न थाल्यो । असह्य पीडा हुँदाहुँदै पनि मीरालाई त्यो भविष्यको चिमोटाइले अझ बढी दुखी बनायो । यतिबेलासम्म मीराका त्यो यात्रा सहयात्री सबै गाडीमा नै थिए ।

विस्फोटको आवाज सुनेर गाउँले भेला भइसकेका थिए । तर, कसैले पनि मीराहरुलाई गाडीबाट निकाल्ने आँट गरेन । सौभाग्य भनौँ कि दुर्भाग्य ! त्यही गाउँमा रहेछन्, नारायण कार्कीका एक विद्यार्थी । उनले आफ्ना गुरुलाई असह्य पीडामा रहेको देख्न सकेनन् । अनि मानौं गुरुदक्षिणा लिएर उभिएका थिए उनी, सोझै गाडी भएको ठाउँमा पुगे । घाइतेहरुलाई निकाल्न थाले । त्यसपछि बल्ल उनको जोसमा गाउँलेहरु थपिए । गाडीबाट निस्किएर थोरै साइड के लागेका थिए, मीराले कसैले भनेको सुनिन्– हेलिकोप्टर आउँदैछ रे ! मरिसकेको आश फेरि पलायो मीराको ।

त्यही आशले मीरालाई असह्य पीडा भुल्न राहत दियो । हेलिकोप्टरमा काठमाडौंको टिचिङ अस्पतालसम्म आइपुग्दा पनि आशाले नै मीराको जीवन धान्यो । ‘कन्ससनेस गुमाउँथे,’ अहिले पछाडि फर्किँदा मीराको अनुहारमा एउटा नमीठो भाव कुद्न थाल्छ, ‘फेरि दिमागलाई भन्थेँ– आश नमार, अनि बेहोस हुनबाट बच्थेँ ।’ त्यसका लागि मीरा आफूलाई नै टेस्ट गर्थिन् ।

उनी आफैंलाई सोध्थिन्– तेरो नाम के हो ? – तेरो घर कहाँ हो ? – कुन ठाउँ जाँदै थिइस् ? – साथमा अरु को थिए ? जब मीराले आफैंलाई यी प्रश्नहरुको सही जवाफ दिइन्, तब उनलाई लाग्यो, उनको खुट्टामा चोट लागे पनि मस्तिष्कमा केही भएको रहेनछ ! एकातिर मीरा आफूमाथि यस्ता टेस्ट गरिरहेकी थिइन् भने अर्कोतिर उनको उपचारमा संलग्न चिकित्सकहरु ठूलो द्विविधामा थिए । त्यो द्विविधा चिकित्सकहरुबाट विस्तारै मीरामा पनि सर्दै थियो । ‘मीराको खुट्टा जोड्न निकै मुश्किल छ,’ उनले गाइगुइँ सुन्न थालिन् । यस्तो सुन्न थालेपछि उनले विकल्पहरुबारे सोच्न थालिन् ।

‘कृत्रिम खुट्टाबारे सोच्न थालेँ,’ उनी भन्छिन्, ‘खुट्टा ट्रान्सप्लान्ट गर्न मिल्छ कि भन्ने पनि सोचेँ । कसले दिन्छ होला खुट्टा, कहाँ खोज्नु होला खुट्टा भन्ने पनि मनमा आयो ।’

टिचिङ अस्पतालको बेडमा बस्दा मीरालाई भेट्न आउनेहरु सहानुभूतिका शब्दहरु प्रकट गर्थे । मीरासँग आफ्नैलागि चाहिँ साहानुभूतिभन्दा पनि बढी आत्मविश्वास थियो । उनले खुट्टा गुमाएकी थिइन् तर गुमाएकी थिइनन् आत्मविश्वास– म केही गर्न सक्छु । ‘त्यो एउटा परीक्षा थियो,’ उनी भन्छिन्, ‘म कति संयम र धैर्य छु भन्ने जाँच्ने एउटा ठूलो परीक्षा ।’ र, त्यो परीक्षामा उर्तीण भइन् मीरा । उर्तीण हुनेवित्तिकै उनले आफूलाई दिएको सर्टिफिकेटमा लेखिन्– मैले पार्टी र देशका लागि धेरै गर्न सक्छु, ममा त्यो आत्मविश्वास छ, ममा त्यो शक्ति छ ।

उनले आफूमा ढुङ्गामा खोपेको जस्तै गाढा रुपमा खोपेर राखेकी छिन् त्यो आत्मविश्वास । र, त्यही आत्मविश्वास लिएर अहिले पनि लागिरहेकी छिन् आफ्नो सपनाको यात्रा थप बलियो बनाउन । त्यसका लागि उनलाई कृत्रिम खुट्टाले सहयोग गरिरहेको छ । राजनीतिमा लागेर देशको सेवा गर्ने मीराको सपना आजको चाहिँ होइन । वा १३ मंसिरले जन्माइदिएको सपना पनि होइन । यो त उनले बाल्यकालमा देखेको सपना हो । त्यही सपनालाई पछ्याउँदै स्कुले जीवनमा नै मीरा राजनीतिमा होमिइन् । कक्षामा पढाइ हुने विषयमात्र होइन, पुस्तकमात्र होइन मीराले अतिरिक्त ज्ञान पनि लिन थालिन्, पत्रपत्रिका पढ्न थालिन्, समसामयिक विषयमा चासो दिन थालिन् । यो देशमा माओवादी सशस्त्र युद्ध हुँदा ताकाको कुरा हो ।

देशमा संकटकाल लागेको थियो । तर, संकटकालले राजनीतिक क्रियाकलाप पूर्णरुपमा रोक्न सकेको थिएन । ‘गाउँमा दाइहरु लुकिछिपी संगठन बनाउन हिँड्नुहुन्थ्यो,’ ती दिनमा मीरा फर्किइन्, ‘एकदिन मलाई पनि कमिटीमा राखिदिनु भएको कुरा सुनाउनु भयो । थाहा नै नपाइ म नेपाल विद्यार्थी (नेवि) संघकी सदस्य भएँ, प्रजातन्त्रमा होमिएँ ।’ थाहा नहुँदै सुरु भएको त्यो यात्राले निरन्तरता पायो ।

जब उनी उदयश्री बहुमुखी क्याम्पसमा उच्च अध्ययनका लागि भर्ना भइन्, नेवि संघका गतिविधिमा उनी लाग्न थालिहालिन् । नेवि संघकी इकाइ सभापति भएपछि उनले लामो राजनीतिक यात्राको बाटो समातिन् र नेवि संघकै लागि समय दिन थालिन् । अहिले नेवि संघ उदयपुरकी जिल्ला अध्यक्ष भएर काम गरिरहेकी मीरालाई देशका लागि केही गर्नु छ । ‘म त एउटा जिउँदो इतिहास भएकी छु,’ उनी भन्छिन्, ‘अब मेरो अठोट भनेकै देशका लागि केही गर्नु हो, गरेर देखाउँछु पनि ।’ दुर्घटनामा परेको केही दिन रोए पनि मीराले आजभोलि त्यही घटनालाई सम्झिएर आँसु झार्दिनन् ।

बरु गौशाला नजिकै आफ्नो परिवारसँग साट्छिन् आफ्नो सपना । उनका लागि खुट्टामात्र कृत्रिम हो, देश सुन्दर बनाउने र आवश्यक परेकाहरुको सेवा गर्ने सपना चाहिँ दह्रो आत्मविश्वास । 

 

(अर्काइभबाट)


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्