श्रीमतीलाई भेट्न विमान चोरेर उड्ने सैनिक !

१९६९ मा शीतयुद्ध चरम स्थितिमा थियो । २३ वर्षीय एक मेकानिक पल मेयर युनाइटेड स्टेट एयर फोर्स (युएसएएफ) को इंग्ल्याण्ड स्थित बेसमा खटिएका थिए । पलले बेसबाट एक हरक्युलिस विमान चोरे । र आफ्नो देशका लागि उडे ।

उडान भरेको केही घण्टामै उक्त विमान अचानक रडारबाट गायब भयो । उसोभए के त्यो विमान क्र्याश भएको थियो वा खसालिएको ? २२ मे १९६९ को रात पलका लागि बेचैनीले भरिएको रात थियो । उनी आफ्नी श्रीमती र सौतेला बच्चालाई सम्झिरहेका थिए । केहीदिन पहिले उनले आफ्नो ट्रान्सफर अमेरिकाको भर्जिनिया गरिदिन अनुरोध पनि गरेका थिए । तर, उनको अनुरोध अस्वीकार भयो ।

खिन्न युवा भियतानमी वेटरन आफ्ना एक साथीको पार्टीमा गए । त्यहाँ उनले टन्न मदिरा पिए । उनका साथीका अनुसार उनले मदिरा पिएपछि आक्रामक व्यवहार गर्न थाले । तर, पलका साथीले उनलाई गएर सुत्न सुझाए । तर, पल झ्यालबाट निस्केर भागे । पुलिसलाई त्यो ए–११ सडकमा जाँदै गर्दा भेटिए । पुलिसले उनलाई मदिरा पिएर गलत व्यवहार गरेको भन्दै पक्राउ गर्यो । पुलिसले पललाई उनको ब्यारेकमा लिएर गए । र, सुत्न भने । तर, पल मेयरको दिमागमा अरु नै केही खेलिरहेको थियो ।

‘हनि, म घर आउँदैछु’

पल एक क्याप्टेनको कक्षमा पसे । र त्यहाँबाट उनले ट्रकको चाबी चोरे । ‘क्याप्टेन एपस्टन’को नाम लिएर पल मेयरले एयरक्राफ्ट कोर्डिनेटरलाई फोन गरेर आफूलाई हरक्युलिस सी–१३० ट्रान्सपोर्ट शिप चाहिएको बताए । उनले कोर्डिनेटरसँग अमेरिकासम्म पुग्ने इन्धन पनि विमानमा चाहिने कुरा बताए । क्रुले वरिष्ठ अधिकारीको आदेश पालना गरे । र नक्कली क्याप्टेन शिपमाथि सवार हुँदै निस्किए ।

२३ मे । बिहानको ५ बजेर १० मिनेटमा युवा सैनिक ६० टन तौलको जहाज लिएर उडे । पलले विमान उडाउने कुनै तालिम लिएका थिएनन् । भर्जिनियामा आधा रात भएको थियो । त्यसबेला मेरी एन ‘जेन’ मेयरको फोन बज्यो ।



मेरीले जसै फोन उठाइन्, उनका पतिले जोसिँदै भने– ‘हाइ हनि ! अनुमान गर म अहिले कहाँ छु ? म घर आउँदैछु, बाटोमै छु । ’ जेन अझैपनि निद्रामा थिइन् । उनले पललाई सोधिन् कि, उनी कतिबेला आइपुग्नेछन् । ‘म स्वयं विमान उडाएर एक्लै घर आइरहेको छु’ पलले जवाफ दिए ।

‘तिमी...? तिमी विमान उडाइरहेका छौ ? हे भगवान्...’ जेन चकित भइन् । त्यो दिनको ५० वर्षपछि मेरी एन जेन गुडसन (अहिले उनी यो नामबाट चिनिन्छिन्) भन्छिन् कि, पलसँग भएको त्यो दिनको १ घण्टा वार्ता आज पनि दिमागमा ताजै छ । मेरीलाई जब बिनाअनुमति नै पल निस्केको र उनले एक हरक्युलिस विमान समेत चोरी भएको थाहा पाइन् तब पलसँग फर्केर जान भनिरहिन् । यदि उनी नफर्केको खण्डमा सेनाले कडा कारबाही गर्ने कुरा पनि पललाई उनले भनेकी थिइन् । पललाई आफूले भनेको अन्तिम शब्द त थाहा छैन, तर उनलाई उनका पतिले अन्तिम पटक भनेको कुरा भने थाहा छ ।



‘बेबी ! म तिमीलाई पाँच मिनेटमा फोन गर्छु । यहाँ केही समस्या आइलाग्यो ।’ त्यसपछि फोन काटियो । र, त्यसको एक घण्टापछि पलको विमान क्र्याश भयो ।

के उनलाई मारिएको थियो ?

घटनाको केही दिनपछि अलडरनी द्वीपको किनारमा हरक्युलिस विमानको केही भग्नावशेष भेटियो । तर, मेकानिकको शव भने भेटिएन । ‘एयरफोर्सको तर्फबाट मलाई कहिल्यै विमान क्र्याश भएकोबारे बताइएन’ पलकी पत्नी मेरी भन्छिन् । १९६९ मा शीतयुद्ध चर्केको थियो । युनाइटेड स्टेट फोर्सको आधिकारिक रिपोर्टका अनुसार पल मेयरले विमान लिएर गएको केही समयपछि उनको सहयोगका लागि आरएएफको लेकनहिथ बेसबाट एक एफ–१०० फाइटर प्लेन सहित दुई विमानलाई पठाइएको थियो ।

तर, दुवै विमानले पलसँग सम्पर्क गर्न सकेनन् । पल पत्नी मेरीका अनुसार जब उनी आफ्ना पतिसँग फोनमा कुरा गरिरहेकी थिइन्, २० मिनेटपछि उनले लाइनमा कुनै दोस्रो व्यक्तिको आवाज सुनिन् । उक्त व्यक्तिले पललाई कुराकानी जारी राख्न भनिरहेको थियो । तत्कालीन ब्रिटिश डेपुटी अधिकारीले सेनासँग यसबारे जवाफ पनि माग्दै सोधेको थियो कि, यति ठूलो विमान सही समयमा ब्रिटिश र अमेरिकन रडारको सम्पर्कमा किन आएन ? जवाफमा मिनिस्ट्री अफ डिफेन्सका जोन मरिसले पलले विमानले लगेको केही मिनेटमै अमेरिकाले आरएएफको एयर डिफेन्स अपरेशन्स सेण्टरलाई यसको जानकारी दिएको बतायो ।

पल फरक खालका मान्छे

अमेरिकाको आधिकारिक रिपोर्टक अनुसार मेयर केही फरक स्वभावका मान्छे थिए । उनी भावनात्मक रुपबाट धेरै दुःखी थिए । उनी रिसमा थिए । किनकि, उनलाई प्रमोशन भएन भन्ने लागिरहेको थियो । पलले हरक्युलिस विमान उडाउने तालिम त लिएका थिएनन्, तर एक मेकानिक हुनुको नाताले उनी प्लेनबारे केही जान्दथे । क्र्याश हुनुको पछि तर्क दिइएको छ कि, यदि कोही मान्छे नशामा र निदमा छ भने विमानबाट कन्ट्रोल हराउँछ । तर, उक्त दिन खास के भएको थियो भन्ने कुरा सबैलाई चासोको विषय बनेको छ । पल पत्नी मेरी आज पनि त्यसबारे तथ्य जान्ने कोसिस गरिरहेकी छिन् ।

-एजेन्सीकाे सहयाेगमा ।

  • प्रकाशित मिति : फागुन १८, २०७५ शनिबार ०:४३:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया