मंगलबारदेखि खप्तडमा आध्यात्मिक सम्मेलन हुँदै
प्रधानमन्त्री प्रचण्डले उद्‍घाटन गर्ने, भारतीय योग गुरु बाबा रामदेवको प्रवचन रहने

सुदूरपश्चिमको प्रमुख पर्यटकीय क्षेत्र खप्तडमा आध्यात्मिक सम्मेलन हुँदैछ । सम्मेलनको तयारी पुरा भएको आयोजकले जनाएको छ ।

मंगलबार (जेठ २३ देखि २५ गतेसम्म आयोजना) हुने सम्मेलनको व्यवस्थापनदेखि अन्य तयारी पुरा भएको आयोजक समिति सदस्य एवं खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका कार्यकारी प्रमुख भीमबहादुर खड्काले जानकारी दिए ।

सम्मेलनमा सहभागी हुन आचार्य बालकृष्ण आज खप्तड पुग्दै छन् । भोलि मंगलबार बिहान ९ बजे प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्रीसहित मन्त्रीहरू, प्रदेश मुख्यमन्त्री, सभामुख, योग गुरु रामदेव भोलि हेलिकप्टरमा आएर बिहान खप्तड पुग्ने खप्तड पर्यटन क्षेत्र विकास समितिका कार्यकारी निर्देशक भीम खड्काले जानकारी दिए ।

सम्मेलनमा भारतीय योग गुरु बाबा रामदेवको प्रवचन हुनेछ । सम्मेलनको दोस्रो दिन खप्तड धार्मिक पर्यटकीय क्षेत्रको सम्भावना र चुनौती विषयक कार्यपत्र प्रस्तुत हुनेछ । जसमा राजनीतिज्ञ, विषय विज्ञहरूबीच प्यानल डिसकशन हुनेछ । तेस्रो दिन विधिवत् रूपमा सम्मेलन समापन हुनेछ ।

यसैबीच, सम्मेलन अवधिको साँझ–बिहान बाबा रामदेवबाट योग शिविर समेत सञ्चालन हुनेछ । सम्मेलन सुदूरपश्चिम प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड, खप्तड पर्यटन विकास तथा व्यवस्थापन समिति र स्थानीय तहको संयुक्त आयोजनामा हुन लागेको हो ।

गत वर्ष यहाँ पहिलो पटक योग शिविर सञ्चालन भएको थियो । ‘सुन्दर सुदूरपश्चिम खप्तड योग ध्यान शिविर २०७९’ नामक तीन दिने शिविर चलेको थियो, जसमा अडाई सयभन्दा बढी योग साधकहरूको सहभागिता थियो । सुदूरपश्चिमका पहाडी जिल्ला बाजुरा, बझाङ, डोटी र अछामको केन्द्रमा रहेको खप्तड समुद्री सतहबाट ३२ सय मिटरको उचाइमा छ । खप्तड क्षेत्र प्रकृति, पर्यापर्यटन, आध्यात्मिक लगायत दृष्टिले महत्त्वपूर्ण छ ।



खप्तड क्षेत्रमा खप्तड बाबाले ५० वर्षसम्म साधना गरेका थिए । सो क्षेत्रमा खप्तड बाबाको कुटी, सहस्र लिङ्ग, विभिन्न २२ पाटन, ५३ टापु लगायतका आकर्षक संरचना छन् । खप्तड राष्ट्रिय निकुञ्जसमेत रहेको सो क्षेत्र झन्डै २२५ वर्ग किलोमिटरमा फैलिएको छ । भू स्वर्गका नामले परिचित खप्तडलाई सुदूरमा लुकेको स्वर्गका रूपमा पनि परिभाषित गर्ने गरिएको छ । खप्तड क्षेत्रको महिमा र सम्भावना उजागर गर्न अन्तर्राष्ट्रिय स्तरको सम्मेलन आयोजना गर्न लागिएको हो । 

सम्मेलनमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा खप्तडको प्राकृतिक सौन्दर्य, आध्यात्मिक, योग, ध्यान र साधनाको महत्त्व चिनाउन सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ । सम्मेलनमा ५ सयभन्दा बढीको सहभागिता हुने विश्वास गरिएको छ । सम्मेलनमा विभिन्न १६ देशका राजदूतसहितका प्रतिनिधिलाई आमन्त्रण गरिएको छ । 



खप्तड आध्यात्मिक, धार्मिक र प्राकृतिक वासस्थानको हिसाबले पनि त्यत्तिकै महत्त्वपूर्ण छ । खप्तड क्षेत्रमा सदियौँदेखि लाग्ने विविध सांस्कृतिक मेलामध्ये गंगा दशहरा, जनै पूर्णिमामा हजारौँ तीर्थयात्री त्यहाँ पुग्ने गरेका छन् । 

  • प्रकाशित मिति : जेठ २२, २०८० साेमबार १५:१५:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया