प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड खप्तड आइपुगेका छन् । उनी सुर्खेतको वीरेन्द्रनगरबाट नेपाली सेनाको हेलिकोप्टरमा यहाँ आइपुगेका हुन् ।
सुदूरपश्चिम प्रदेशमा अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल खप्तडको गङ्गा दशहरा मेला उद्घाटन गर्न प्रधानमन्त्री दाहाल खप्तड आइपुगेका हुन् । उक्त मेला खप्तड राष्ट्रिय निकुञ्जमा आयोजना गरिएको छ । निकुञ्जले बझाङ, बाजुरा, अछाम र डोटी जिल्लालाई ओगटेको छ ।
प्रधानमन्त्री दाहालसँगै पूर्वप्रधानमन्त्री झलनाथ खनाल, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकलगायत पनि यहाँ आइपुगेका हुन् । यसअघि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल, प्रदेशका मन्त्रीलगायत खप्तड आइसकेका छन् ।
खप्तड क्षेत्रमा पहिलोपटक आयोजना गरिएको अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलनमा भाग लिन भारतीय योगगुरु बाबा रामदेव, पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्णलगायत आजै हेलिकोप्टरमार्फत खप्तड आएका छन् ।
सम्मेलनको पहिलो दिन आज बाबा रामदेव र त्यसपछिका दुई दिन आचार्य बालकृष्णले योगा गराउने कार्यक्रम रहेको खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष हर्कबहादुर सिंहले जानकारी दिए । रासस
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।