\
नेकपा (माओवादी केन्द्र)ले कोशीमा प्रदेशमा नेकपा (एमाले) नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
माओवादी केन्द्र कोशी प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिए । केन्द्रीय गठबन्धनमा आएको फेरबदलको कारण आफूहरुले समर्थन फिर्ता लिएको उनले बताए ।
आज बसेको माओवादी केन्द्रकाे संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्तासँगै माओवादी केन्द्रबाट सरकारमा सहभागी दुई मन्त्री फिर्ता बोलाउने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्य र भौतिक पूर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाईंले राजीनामा दिएका हुन् ।
आङ्बोले वर्तमान सरकार र राजनीतिक दलकै सहमतमा प्रदेश नामकरण भए पनि पहिचान पक्षधरले उठाएको मागप्रति प्रदेश सरकारले कुनै चासो नराखेकाले समर्थन फिर्ता लिइएको बताए ।
नेता आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिचानवादीसँग वार्ता गर्न आह्वान गरे पनि वार्ता टोली गठन नगरेको र पहिचानवादीलाई बेवास्ता गरेको आरोप लगाए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।