\
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम बुधबार प्रदेश सभामा पेस गरेको छ । प्रदेश प्रमुख देवराज जोशीले आज प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेका हुन् ।
प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम ल्याएको छ । जसअनुसार प्रदेश सरकारले व्यावसायिक कृषि गर्ने कृषकलाई शून्य ब्याजदरमा ऋण उपलब्ध गराउने छ ।
प्रदेशको राजधानी निर्धारण भएको ठाउँ अत्तरियामा चिडियाखाना निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । प्रदेश सरकारले थारु जातिको बरघर प्रथालाई संरक्षण र प्रवर्द्धन गर्ने नीति तथा कार्यक्रममा समावेश गरेको छ । यस्तै प्रदेश सरकारले आम नागरिकका गुनासो सुन्न हल्लो सीएम कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।
नीति तथा कार्यक्रममा हाल सञ्चालनमा रहेका बहुवर्षिय, क्रमागत र अधुरा एवम् दायित्व सृजना भएका आयोजनाको पुनरावलोकन गरी तोकिएको समयमै सम्पन्न गर्न बजेट विनियोजनमा प्राथमिकता दिइने उल्लेख छ ।
यस्तै, गरी स्वरोजगार कोषमार्फत सिपमूलक तालिम तथा सहुलियत ब्याजदरमा कर्जा प्रवाह गर्ने, ‘प्रदेश सरकार: कृषकको सहयोगी’, कृषिमा आत्मनिर्भर सुदूरपश्चिम प्रदेश अभियान’, ‘व्यावसायिक कृषिका लागि शून्य ब्याज’, ‘बृहत् एवम् विशेष उत्पादन तथा औद्योगीकरण कार्यक्रम’, ‘स्थानीय कृषि वस्तु उपभोग गरौँ : खाद्य एवम् पोषण सुरक्षा सुनिश्चित गरौँ’, ‘एक स्थानीय तह: एक कृषक पाठशाला’ लगायतका नारा लिदै कृषिलाई आधुनिकिकरण, उत्पादन वृद्धि, कृषकलाई आत्मनिर्भर लगायतका कार्यक्रम तय गरिएको छ ।
प्रदेश सरकारको नीति तथा कार्यक्रममा एक जिल्ला एक उद्योग सञ्चालन गर्ने उल्लेख छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।