\
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले इन्टरपोलका अध्यक्ष अहमद नासेर अल–राइसी र महासचिव जुर्गेन स्टकलाई विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा फहराइएको इन्टरपोलको झण्डा हस्तान्तरण गरेका छन् ।
इन्टरपोल महासचिवालयको आयोजनामा इन्टरपोल सदस्य राष्ट्रहरूका प्रमुखहरूबीच बुधबारदेखि सिंगापुरमा सुरु भएको १८औँ हेड अफ नेशनल सेन्ट्रल ब्युरो (एनसिबी) सम्मेलनका अवसरमा नेपालको तर्फबाट प्रहरी महानिरीक्षक कुँवरले उक्त झण्डा हस्तान्तरण गरेका हुन् ।
इन्टरपोलको शताब्दी वर्ष मनाउने क्रममा इन्टरपोलको १००औँ सदस्य नेपालको तर्फबाट आरोहणमा सहभागी प्रहरी वरिष्ठ नायब निरीक्षक पुरुषोत्तम नेपालीले यही जेठ २ गते मंगलबार बिहान १०ः१५ बजे विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी चुचुरोमा नेपालको राष्ट्रिय झण्डासहित नेपाल प्रहरी र इन्टरपोलको झण्डा फहराउन सफल भएका थिए ।
आगामी शुक्रबार सम्पन्न हुने उक्त सम्मेलनमा अन्तर्राष्ट्रियस्तरमा हुने अपराधहरूको नियन्त्रणमा इन्टरपोलका सम्पूर्ण एक सय ९५ सदस्य राष्ट्रहरूका एनसिबी प्रमुखहरू तथा इन्टरपोल महासचिवबीच समन्वय तथा सहकार्यको विषयहरूमा छलफल हुने र इन्टरपोलका सदस्य राष्ट्रका प्रमुखले आफ्ना देशका प्राथमिकता, उत्कृष्ट अभ्याससमेत आदान–प्रदान हुने कार्यक्रम रहेको छ ।
एनसिबी काठमाडौंका प्रमुख प्रहरी महानिरीक्षक कुँवर उक्त सम्मेलनमा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गरेका थिए । सम्मेलनमा एनसिबी काठमाडौंका शाखा प्रमुख प्रहरी उपरीक्षक अनुपमशम्शेर जबराको समेत सहभागिता छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।