Sun, 21 Jul, 2019


दरबारबाट सुरु भएर ट्याम्पुको स्टेयरिङ हुँदै अगाडि बढेको लक्ष्मीको उडान
फरकधार / फागुन १८, २०७५

नेपाली महिला शृङ्खला 



आजभन्दा ३८ वर्षअघिको काठमाडौं । नेपाली महिलाको अवस्था निकै कमजोर थियो । पुरुष र महिलाले गर्ने कामबीच ठूलो खाडल थियो, फरकफरक काम छुट्ट्याइएको थियो ।

त्यही समय लक्ष्मी शर्माले एउटा बोल्ड डिसिजन गरिन्– ट्याम्पु चलाउने । 

खासमा ट्याम्पु चलाउने कुरा लक्ष्मीका लागि सोखको विषय थिएन, एउटा बाध्यता थियो परिवार पाल्न । त्यसैले उनी रानीपोखरी देखि महाराजगन्जको सडकमा प्रत्येक विहान ट्याम्पु लिएर निस्कन्थिन् । हो, मानिसहरु अचम्म मानेर हेर्थे, कति त उनलाई जिस्काउने हेतुले नै ट्याम्पुमा चढ्थे पनि । तर, लक्ष्मीले यी सब कुरा बेवास्ता गरिन्, ट्याम्पुको स्टेयरिङबाट आफ्नो पाइला अगाडि सारिन् । 

तर, लक्ष्मीले सुरुमै ट्याम्पु चलाउन भने सुरु गरेकी होइनन् । उनले त यसलाई व्यवसाय बनाउँछु भनेर सुरु गरेकी थिइन् । आफूले किनेको ट्याम्पुका ड्राइभरले चाहिँ उनलाई सहयोग गरेनन् । अनि लक्ष्मी स्वयंले निर्णय गरिन्– म आफैं चलाउँछु ट्याम्पु । 

कमाइ राम्रो हुन थाल्यो । लक्ष्मीको परिवारलाई एउटा ट्याम्पुले धानेको थियो, अब चारवटा थपिए । ती सबै ट्याम्पुलाई भाडामा लगाइन् उनले । 

अनि थोरबहुत मेकानिकको काम पनि सिक्नु पर्छ भन्ने उनको मनमा आयो । उनले वर्कसपमा गइन् र सिकिन् पनि । 

सुरुमा आफ्नो काम चलाउन ट्याम्पु चलाउन थालेकी लक्ष्मीले लाइसेन्स लिएकी थिइन् । काठमाडौंमा सवारी थपिँदै गए, नियम कडा हुन थाल्यो । ‘प्रहरीको चेकिङले हैरानी बढाउन थाल्यो,’ लक्ष्मी सम्झिन्छिन्, ‘त्यसपछि मैले लाइसेन्स लिने भएँ ।’

ट्याम्पु चलाउन थालेको ४ वर्षपछि २०४१ साल चैत १४ गते लाइसेन्स लिएर व्यावसायिक रुपमा नै लक्ष्मी ट्याम्पु चालक बनिन् । यसरी ट्याम्पु चलाउनकै लागि लाइसेन्स लिने उनी पहिलो महिला भइन् । 

 
दरबारमा लक्ष्मी 

२००७ सालमा महाराजगन्जमा जन्मिएकी हुन् लक्ष्मी । लक्ष्मीका बुबा, हजुरबुबा राजा त्रिभुवनकी बहिनी बुनुको दरबारमा ढोके, पाले, तवेलाको रेखदेख गर्ने काम गर्थे । लक्ष्मीले पनि दरबारमा नै काम गर्ने मौका पाइन् । जति बेला उनी दरबारमा काम गर्न गएकी थिइन्, त्यति बेला उनको उमेर जम्मा ६ वर्षको थियो । 

‘काम चाहिँ सजिलो थिएन,’ उनले हाँस्दै सम्झिइन्, ‘काम गर्न ४० जना आएका थिए । तर, सबैले पाएनन्, म र कमलाले मात्र काम पायौँ ।’ 

दरबारमा नुहाइधवाइ गरेपछि बगैँचामा फूल टिप्ने र पूजा कोठाको सामान ठिक पार्ने जिम्मेवारी पाइन् लक्ष्मीले । उनी भन्छिन्, ‘मध्यान्हको समय दरबारमा राधा कृष्ण देवताका मुर्तीलाई लुगा, मुकुट फुकालेर सुताइन्थ्यो र बेलुकी उठाएर महले नुहाएर गाजल कपडा लगाइन्थ्यो ।’

त्यसपछि लक्ष्मीले दरबारमा हाँस हेर्ने जिम्मेवारी पाइन् । एकदिन हाँस हरायो । ‘मैले कुटाइ खाएँ,’ अहिले पनि त्यो कुटाइ सम्झिँदा लक्ष्मीका आँखामा आँसुका थोपा देखिन्छन् । 

कलिलो उमेरमै दरबारमा काम गर्दा उनले बुनुसँग घुम्न गएको सम्झना अहिले लक्ष्मीलाई छ । तर, उनी लामो समय दरबारमा काम गर्न पाइनन् । ‘बुनु महारानीको देहान्तपछि मैले त्यहाँ काम गर्न छाडेँ,’ उनले सम्झिइन् । 

त्यसपछि उनको परिवारले आफ्नै काम गर्न सुरु गर्यो । उनी दूध लिएर दैनिक भोटाहिटीमा एक साहुकोमा पुग्थिन् । फर्किँदा त्यहाँबाट रक्सी लिएर आउँथिन् । उनकी आमाले होटल व्यवसाय सुरु गरेकी थिइन् । 

‘मैले पनि आमालाई होटलमा सहयोग गर्न थालेँ,’ लक्ष्मीले भनिन् । 

एकातिर लक्ष्मी होटलमा आमालाई सहयोग गर्दै थिइन्, अर्कोतिर उनको विवाहको कुरा पनि चलिरहेको थियो । योग्य केटा भेटिए, रामेछापका । उनी जागिरे थिए । लक्ष्मीलाई आफन्तले भन्न थाले– अब त सुख हुने भयो नि, केटा जागिरे छ । 

‘आफन्तका कुराले खुसी त बनाएको थियो,’ लक्ष्मी सम्झिन्छिन्, ‘तर, विवाह गर्नु भूल रहेछ भन्ने केही दिनमा नै मलाई लाग्यो । उहाँ दैनिक रक्सी खाएर आउनुहुन्थ्यो र मलाई कुटपिट गर्नुहुन्थ्यो ।’ घरमा तालमेल केही ठीक नभएपछि लक्ष्मीको पहिलो बच्चा ४ महिनाको शिशु खेर गयो । ‘अहिले पनि मेरा आँखा रसाउँछन्,’ लक्ष्मीका आँखा रसाए नै, ‘मलाई त जीवनमा ठूलो भूल गरेँ भन्ने भएको थियो ।’

तर, त्यसको एक वर्षपछि पहिलो सन्तानका रुपमा छोरी जन्माइन् लक्ष्मीले । घरमा व्यवहार बढ्दै गएको थियो । उता, उनका पति अझै पनि निकै दुःख दिने मनासयमा थिए, दैनिक रक्सी सेवन गर्ने र लक्ष्मीलाई कुट्न उनले छोडेका थिएनन् । ‘तीन छोरी जन्मिएर व्यवहार बढ्दै जाँदा पनि उनी नसुध्रिएपछि मैले सम्बन्धविच्छेद नै गरेँ,’ लक्ष्मीले सुनाइन् । 

घर चलाउन चाहिँ लक्ष्मीले भूगर्भ विभागमा काम गर्ने एक रुसी नागरिकको घर सफा गर्ने काम सुरु गरेकी थिइन् । विस्तारै कामहरु बढ्दै गएका थिए । चिनजान फराकिलो हुँदै गयो । 

अनि उनको काम पनि फेरिँदै गयो ।

 

काष्ठ उद्योगमा लक्ष्मी 

विदेशी नागरिकको चिनपहिचानले एकदिन उनलाई हस्तकलासम्बन्धी तालिम लिन भारत जाने प्रस्ताव आयो । भारतको पटना संग्राहालयमा मुर्ति बनाउन सिकिन लक्ष्मीले । 

बनारसमा कार्भिङ र लेथ मेसिन तथा  कलकत्तास्थित शान्ति निकेतनमा छालाका सामान निर्माणको अनुभव बटुलिन् लक्ष्मीले । नेपाल आएर हस्तकलाको कुनै व्यवसाय गर्ने सोच बनाएकी लक्ष्मीलाई टेम्पोले सहयोग पुग्यो । 

यसअघि ट्याम्पु किनेकी लक्ष्मीले ट्याम्पु बेच्ने भइन् अनि २०४३ सालमा लक्ष्मी उड् क्राफ्ट उद्योगको स्थापना गरिन् । उद्योगका लागि भारतमा लेथ, कार्भिङ र ड्रिलको साथमा २ जना कालिगढ पनि ल्याइन उनले । 

सुरुवाती चरणमा लक्ष्मीको उद्योगले काठका कचौरा उत्पादन सुरु गर्न थाल्यो । त्यतिबेला पनि लक्ष्मीको टेम्पो सडकमा गुड्थे । टेम्पो चलाइरहेको बेला धोवीखोला तल भैंसी, राँगाका हाड तथा सिंह छरिरहेको देख्थिन् उनी । हात्तिको हाड र दाह्राबाट कलात्मक सामान र टाकको विषयमा अध्ययन गरेकी लक्ष्मीलाई अब हड्डीबाटै कलात्मक वस्तुहरु बनाउने सोच आयो । 

उनले अब दिनभर टेम्पो चलाउने अनि साँझ टेम्पोमा भैंसी, राँगाका हाड तथा सिंह ल्याएर टाँकहरु बनाउन सुरु गरिन् । उनको उद्योगमा भारतीय नागरिकले काम पाएका थिए । ‘नेपालीहरुले त यो काम सिकिसकेका पनि थिएनन्,’ उनी भन्छिन् ।

विस्तारै उद्योगले गति लिन थाल्यो । टाँकहरु विदेशमा बढि माग हुन थाले । उनको प्रख्याती बढ्न थाल्यो । 

२०४४ सालमा नै जर्मनीको बर्लिनमा आयोजित हस्तकलाका सामान प्रदर्शनीमा जाने मौका पाइन् लक्ष्मीले । त्यसपछि त लक्ष्मी उद्योगले व्यवसायको गति लिन थाल्यो । 

त्यसयता उनी अरु थुप्रै देश गएकी छिन् । उनको उडानले एउटा उचाइ लिएको छ । 

‘तर, यो सजिलै प्राप्त भएको थिएन,’ उनी भन्छिन्, ‘एक त महिलाले केही गर्न सक्दैनन् भन्ने समयमा मैले काम सुरु गरेँ, अप्ठ्याराहरु धेरै भोगेँ तर अगाडि बढिरहेँ ।’

संघर्षले र अभावले भरिएको उनको जीवनको गतिबाट पनि सिक्न सकिन्छ, गरे सबथोक हुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्