\
सरकारले असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ । सडक विभागले बिहीबार सार्वजनिक सूचना जारी गर्दै वर्षायाममा सडक खन्न प्रतिबन्ध लगाएको हो ।
वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक थप बिग्रिँदै जाने भएकाले खन्न रोक लगाइएको विभागले जनाएको छ ।
रोक लगाइएको अवधिमा संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं र सडक डिभिजन मातहतका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने पनि विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
यदि कसैले सूचनाको उल्लंघन गर्दै सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने विभागले चेतावनी दिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।