आइसिसी एकदिवसीय विश्वकप छनोटको तयारीका लागि दक्षिण अफ्रिका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दैछ ।
नेपाल–स्कटल्याण्डबीचको खेल दिउँसो १ः१५ देखि सुरु हुनेछ । विश्वकप छनोटको अन्तिम तयारीमा रहेको नेपालले स्कटल्याण्डविरुद्ध आफ्नो लय कायमै राख्न चाहन्छ । नेपाल पछिल्लो १२ ओडिआईमा अपराजित छ ।
नेपाल अभ्यास खेलमा पनि स्कटल्याण्डविरुद्ध जित यात्रा कायमै राख्ने योजनामा छ । गत फेब्रुअरीमा घरेलु मैदानमा भएको आइसिसी विश्वकप लिग–२ सिरिजको दुवै खेलमा नेपालले स्कटल्याण्डलाई हराएको थियो ।
दक्षिण अफ्रिकामा भ्रमणअन्तर्गत नेपालले दोस्रो अभ्यास खेल शनिबार नेदरल्यान्ड्ससँग खेल्ने तालिका छ । अभ्यास खेलपछि नेपाली टोली विश्वकप छनोट खेल्न दक्षिण अफ्रिकाबाट नै जिम्बाब्वे जानेछ ।
विश्वकप छनोटमा समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा ३ असारमा जिम्बाब्वेको सामना गर्नेछ । त्यस्तै, नेपालले दोस्रो खेलमा ५ असारमा अमेरिकासँग खेल्नेछ ।
तेस्रो खेलमा नेपालले वेस्ट इण्डिजसँग प्रतिस्पर्धा गर्ने तालिका छ । नेपाल र वेस्ट इण्डिजबीचको खेल ७ असारमा हुनेछ । समूह चरणको अन्तिम खेलमा नेपालले ९ असारमा नेदरल्याण्ड्सको सामना गर्नेछ ।
त्यसअघि नेपालले ३० जेठमा यूएई र ३२ जेठमा ओमानसँग अभ्यास खेल खेल्ने तालिका छ ।
विश्वकप छनोट खेल्ने नेपाली टोली : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, भीम सार्की, प्रतिश जिसी, अर्जुन साउद र किशोर महतो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।