रास्वपालक्षित शंकर पोखरेलको टिप्पणी- नयाँ पार्टी यथास्थितिवाद र व्यापारिक पुँजीवादको पक्षपोषक मात्र
फाइल तस्बिर

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नयाँ पार्टीको नाममा सुरु भएको राजनीति यथास्थितिवाद र व्यापारिक पुँजीवादको पक्षपोषक भएको बताएका छन् ।

 राजनीतिक दलहरूले नीतिगत र वैचारिक रूपमा आफूलाई स्पष्ट रूपमा अगाडि बढाउन नसक्दाको परिणामस्वरूप केही पपुलिष्टहरू राजनीतिको विकल्पको रूपमा आउन खोजिरहे पनि सबै व्यापारिक पुँजीवादको पोषण पक्षधर रहेको बताएका हुन् । 

‘नयाँ भनिने पार्टीहरू न त विचारधारात्मक जगमा खडा भएका छन् । न त उनीहरूको समस्या समाधान गर्नका लागि व्यवस्थित कुनै सोचहरू रहेका छन् । न त उनीहरू समाजलाई नीतिगत रूपमा नेतृत्व गर्नका लागि निश्चित लक्ष्य र उद्देश्य तय गरी अगाडि बढ्न खोजिरहेका छन्’, रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी लक्षित गर्दै उनले भने, ‘विशुद्ध रूपमा उनीहरू नयाँ र पुरानोको भाष्य खडा गरिकन हामी त नयाँ हौँ भन्ने अर्थमा आफूलाई प्रस्तुत गरी समाजलाई दिग्भ्रमित गर्ने कोसिस गरिरहेका छन् ।’ 

नयाँको नामबाट सुरु भएका राजनीतिक दलहरू यथास्थितिवादलाई पोषण गर्ने बाहेक अन्य ठोस आधार र धरातल नभएको बताए । महासचिव पोखरेलले समाजमा असन्तुष्टिको विकल्पका रूपमा कहिलेकाहीँ पपुलिष्टहरू राजनीतिमा आउने गरे पनि समाज परिवर्तनको आकाङ्क्षाहरूलाई सम्बोधन गर्न र समाजका समस्याहरूलाई समाधान गर्न नसक्ने दाबी गरे । समाजमा कुनै एउटा क्षेत्रबाट ख्याति प्राप्त गर्ने बित्तिकै राजनीतिमा आएर राजनीतिलाई सही बाटोमा डोर्‍याउन सकिन्छ भन्ने मान्यता सर्वथा अनुचित र गलत रहेको उनले बताए ।

उनले भने, ‘नयाँको नाममा सुरु भएको पलुलिष्ट जुन प्रकारको राजनीति छ, यो राजनीति भनेको यथार्थतामा भन्नुहुन्छ भने यथास्थितिवादलाई पोषण गर्ने कुरा मात्रै हो । व्यापारिक पुँजीवादलाई पोषण गर्ने कुरा मात्रै हो । दलाल नोकर शाही पुँजीवादलाई पोषण गर्ने कुरा मात्रै हो । समाजलाई परिवर्तनको दिशातर्फ, समृद्ध समाजतर्फ अगाडी बढाउने हो भने हामीले कुन प्रकारका नीतिका आधारमा समाजलाई त्यो बाटोमा अगाडि बढाउने भन्ने प्रश्नका सन्दर्भका बारेमा नीतिगत बहस गर्नै पर्दछ । वैचारिक बहस गर्नै पर्दछ ।’  

उनले पछिल्लो समय जनतामा देखिएका असन्तुष्टि र निराशाहरू विचारधारात्मक काममा जोड दिन नसक्दाका परिणाम भएको बताए । उनले राजनीतिक दलहरूले विचार धारात्मक जगमा नेपाली समाजलाई ध्रुवीकृत गर्ने प्रयास गरेको भए यस प्रकारका निराशाका स्थितिहरू उत्पन्न नहुने बताए । 



राजनीतिक दलहरूले नीतिगत र वैचारिक रूपमा आफूलाई अगाडि बढाउन नसक्दाको परिणामको रूपमा अहिले पपुलिष्टहरू राजनीतिको विकल्पको रूपमा आएको बताए । पपुलिष्टहरूले कहिले पनि समाजका समस्याहरूलाई समाधान गर्न नसक्ने उनको दाबी छ । नेपाली समाजलाई वैचारिक र राजनीतिक हिसाबबाट अगाडि बढाउनुपर्ने आवश्यकता रहेको महासचिव पोखरेलले बताए । 



  • प्रकाशित मिति : जेठ २५, २०८० बिहीबार १२:२:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया