\
नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देसाई बिहीबार दक्षिण अफ्रिका प्रस्थान गरेका छन् ।
भिसा प्राप्त गर्न ढिलाइ भएपछि उनी आज बिहान दक्षिण अफ्रिका प्रस्थान गरेका हुन् । देसाईले सुरुमा अमेरिकाबाट दक्षिण अफ्रिकाको भिसाको प्रक्रिया अघि बढाएका थिए । तर, उनले त्यहाँबाट भिसा पाउन सकेका थिएनन् ।
त्यसपछि भारत आएर उनले भिसा प्रक्रिया अघि बढाएका थिए । क्यानका अनुसार उनले बुधबार मात्र भिसा प्राप्त गरेका हुन् । लगत्तै उनी भारतबाटै दक्षिण अफ्रिका गएका हुन् ।
दक्षिण अफ्रिकामा नेपालले आज स्कटल्याण्ड र शनिबार नेदरल्याण्ड्ससँग अभ्यास खेल्दैछ । अभ्यास खेलपछि नेपाली टोली विश्वकप छनोट खेल्न दक्षिण अफ्रिकाबाट नै जिम्बाब्वे जानेछ ।
विश्वकप छनोटमा समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा ३ असारमा जिम्बाब्वेको सामना गर्नेछ । त्यस्तै, नेपालले दोस्रो खेलमा ५ असारमा अमेरिकासँग खेल्नेछ ।
तेस्रो खेलमा नेपालले वेस्ट इण्डिजसँग प्रतिस्पर्धा गर्ने तालिका छ । नेपाल र वेस्ट इण्डिजबीचको खेल ७ असारमा हुनेछ । समूह चरणको अन्तिम खेलमा नेपालले ९ असारमा नेदरल्याण्ड्सको सामना गर्नेछ ।
त्यसअघि नेपालले ३० जेठमा यूएई र ३२ जेठमा ओमानसँग अभ्यास खेल खेल्ने तालिका छ ।
विश्वकप छनोट खेल्ने नेपाली टोली : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलसन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, भीम सार्की, प्रतिश जिसी, अर्जुन साउद र किशोर महतो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।