logo-img

ज्योतिषमा के छ ?

आकाशमा रहेका जति पनि उज्याला तेजपुञ्ज छन् ती सबैलाई ज्योति भनिन्छ । तीमध्ये सधैँ एक रूपका रहने नक्षत्र हुन् । प्रत्येक दिन भिन्न–भिन्न स्वरूपमा देखिने ग्रह हुन् । यसरी आकाशीय ग्रहनक्षत्रहरूको गतिस्थितिलाई अध्ययन गरी भौतिक वस्तु एवं पदार्थमा ती ग्रह–नक्षत्रले पार्ने प्रभावका बारेमा फलादेश गर्ने शास्त्र हो, ज्योतिष । 

वेदका मुख्य छ अंग शिक्षा, कल्प, निरुक्त, छन्द, ज्योतिष र व्याकरण हुन् । वेदको मुख्य अंग आँखाका रूपमा ज्योतिषलाई लिइएको छ । यसैले ज्योतिषलाई समयको ज्योति प्रदान गर्ने वेदको मुख्य अंगका रूपमा लिइन्छ । ज्योतिषको काम चिना निर्माण एवं फलादेश मात्र होइन । यसको क्षेत्र व्यापक छ । सिद्धान्त, संहिता र होरा ज्योतिषशास्त्रका मुख्य तीन शाखा रहेका छन् । सिद्धान्त ज्योतिषशास्त्रको मूल हो । जसलाई गणित पनि भनिन्छ ।

यसअन्तर्गत अंकगणित, बीजगणित, ज्यामिति, त्रिकोणमिति, क्षेत्रमिति, चलनकलन, दीर्घवृत्त ग्रहगणित आदि पर्दछन् । यिनै सिद्धान्तका आधारमा सम्पूर्ण आकाशीय ग्रहपिण्डको अवस्थिति पत्ता लगाउने कार्य हुन्छ । गणितका सम्पूर्ण गणना प्रक्रिया यसअन्तर्गत हुने गर्दछन् । 

सिद्धान्त एवं करणग्रन्थबाट पञ्चांग (पात्रो) निर्माण हुन्छ । उक्त पञ्चांगा आधारमा हाम्रा जन्मपत्रिका (चिना) निर्माण हुन्छन् । यसरी निर्माण गरिएका चिनाको फलादेश गर्ने ज्योतिषको शाखा होरा (जातक) हो । शुभाशुभफल वर्णनका साथै मुहूर्तहरूको निर्धारण गर्ने, वास्तुको आदेश गर्ने  शाखा संहिता हो । यसलाई भौतिक फलितशास्त्र पनि भनिन्छ । 

वास्तु, मुहूत्र्त, रत्न, शकुन आदि व्यवहारिक विषयवस्तुको ज्ञानका साथै ग्रहसञ्चार, वृष्टिज्ञान, वृक्षायुर्वेद,   उदयास्तफल, विश्वको शुभाशुभ फलको विवेचना,  भूकम्प, उल्कापात, केतूदय,  प्रकृतिका लक्षण, चेष्टा आदिको फलादेश यो शाखाबाट हुने गर्दछ ।   

ज्योतिष समयको बोध गराउने शास्त्र हो । जसले प्रमाणसहित फलको आदेश गर्दछ । खगोलीय एवं भूगोलीय अध्ययन अनुसन्धान गर्ने र त्यसै आधारमा फलको प्रक्षेपण गर्ने कार्य यसअन्तर्गत हुने गर्दछ । जुन व्यवस्थित र वस्तुनीष्ठ रहेको छ । प्रत्यक्ष प्रमाणका आधारमा नै फलको आदेश हुने गर्दछ । 



हुन त आकाशमा रहेका ग्रहले जमिनमा के फरक पार्छन् र ? भन्ने धारणा पनि धेरै पाइन्छ । तर, यो अबुझपन मात्रै हो । हामीले सूर्यको तापबाट थुप्रै तत्व ग्रहण गरिरहेका हुन्छौँ । ज्योतिषशास्त्रमा पनि सूर्यलाई ग्रहहरूको राजा मानिएको छ । सूर्यमा ताप छ भनेर लाखौँ वर्षपहिले नै हाम्रा ऋषिमहिर्षले बताएका छन् । यसैलाई आजको भौतिक विज्ञानले पुष्टि गर्यो भने मान्ने नत्र नमान्ने आमधारणा पाइन्छ । पौरस्त्य वाङ्मयमा यस्ता थुप्रै विषय छन्, जुन आजको विज्ञानले भर्खर साबित गर्दै छ । 

ज्योतिषशास्त्रले चन्द्रमालाई मनसम्बन्धी ग्रह मान्छ । यो शीतकारक ग्रह हो भनेर हजारौँवर्ष पहिले पौरस्त्य वाङ्मयले प्रमाणित गरिसकेको हो । तर, वैज्ञानिकहरुले चन्द्र सतहमा पानी देखिएको कुरा भर्खरै मात्र पत्ता लगाए । 



ज्योतिषमा मंगललाई भूमि (पृथ्वी)पुत्र भनिन्छ । मंगल पृथ्वीजस्तै समान गुण धर्म र तत्त्व भएको ग्रह हो । त्यसैले आज एलन मस्कसहित नासाका वैज्ञानिक त्यहाँ मानवबस्ती बसउने प्रयत्नमा जुटेका छन् । चीन, रुसलगायतले मंगल ग्रहमा विशेष यान पठाइरहनुले पनि मंगल पृथ्वीपुत्र भएको पुष्टि हुन्छ । 

यसैगरी बुध, वृहस्पति, शुक्र, शनि, राहु, केतुको पनि तथ्यगत विषयवस्तु विद्यमान छन् । यद्यपि, राहु र केतु भने पिण्डरहित सूर्य र चन्द्रमा हिँड्ने बाटाका दुई सम्पात विन्दु मात्रै हुन् ।

ग्रहशान्ति गर्नु भनेको आफूमा भएको शक्तिलाई जागृत गराउनु हो । हामीमा अथाह शक्ति छ । जसको जागृतिका साथै रोगप्रतिरोधी क्षमताको विकासका निम्ति ग्रहशान्तिका उपाय अवलम्बन गरिन्छ । जसका थुप्रै विधि छन् । ध्यान, उपासना, वस्तु दान गरेर, जप गरेर, स्नान गरेर, हवन, रत्नधारण आदि । ग्रहजन्य वृत्ति हाम्रै शरीरमा विद्यमान छ । यही आफूभित्रको ऊर्जालाई जागृत गराउने कार्य शान्ति विधिभित्र पर्दछ । आकाशमा रहने ग्रह र व्यक्तिका सूक्ष्म तत्त्वबीच समानता रहेको हुन्छ । आध्यात्मिक दृष्टिले सूक्ष्म तत्त्वको चिन्तन एवं उपासना गरी नकारात्मक पक्षको अन्त्य गरी सकारात्मक ऊर्जाको प्रवाह गर्नु नै ग्रहशान्ति हो । 

प्रत्येक व्यक्तिअनुसार ग्रहजन्य फलमा भिन्नता रहन्छ । शुभ र अशुभ फल भोग गर्ने हाम्रो शरीरले नै हो । दूषित ग्रहको प्रतिकूल अवस्थाबाट सुरक्षित रहन सके हामी आत्मिक र भौतिक रूपमा सुरक्षित रहन्छौँ, तब त्यो विकृत वायु र पदार्थले हामीलाई असर गर्न सक्दैन । 

जसरी रोगप्रतिरोधी (इम्युनिटी) शक्तिद्वारा कोरोनालाई जित्न सकिन्छ, त्यसैगरी विशेष शक्तिद्वारा उक्त ग्रहजन्य दूषित अवस्थाबाट सुरक्षित रहन सकिन्छ । यसरी सुरक्षा प्राप्ति गर्ने उपाय भनेका यज्ञ, जप, दान, स्नान आदि कार्य हुन् । यज्ञले पर्यावरणीय शुद्धिका साथै आत्मिक शुद्धि प्रदान गर्ने गर्दछन् । दानद्वारा आत्मिक शुद्धि प्राप्त हुन्छ ।

जपद्वारा प्रतिरोधी शक्तिको विकास हुन्छ । स्नानद्वारा शारीरिक सुरक्षा प्राप्त हुन्छ । यसका साथै वस्त्र धारण, पीपल, तुलसी आदिमा जल अर्पणलगायत कार्यले पनि दूषित विकारलाई परास्त गर्नसक्ने शक्ति प्राप्त हुन्छ । यसैले यस्ता कार्य भौतिक र आत्मिक दुवै दृष्टिले उपयोगी मानिन्छन् । ग्रह कटाउनु भनेको आफूमा भएका नकारात्क तत्वलाई निस्तेज पारी सकारात्मक पक्षको सबलीकरण गर्नु हो ।  

कसैले ज्योतिष मनोविज्ञान हो, मान्छेको मनस्थितिलाई हेरेर जे भनिदिए पनि हुन्छ भन्ने आरोप लगाउने गर्दछन् । तर, त्यो केवल भ्रम मात्र हो । ज्योतिषी र ज्योतिषमा फरक छ । ज्योतिषी ज्योतिषशास्त्रको विद्यार्थी मात्र हो । उसले ग्रहको अवस्थितिका आधारमा फलादेश गरेको हुन्छ । 

ज्योतिषीको फलादेश सही नहुन पनि सक्छ, तर ज्योतिष विद्या कहिल्यै गलत हुन सक्दैन र हुँदैन पनि । जसरी एउटा योग्य डाक्टर बन्न, सिपाही बन्न वर्षौं मिहिनेत गर्नुपर्छ, त्यस्तै योग्य ज्योतिषी बन्न पनि निकै तपस्याको जरुरत पर्दछ । गणित एवं फलित दुवै विधामा निपूण हुनुपर्दछ । फलादेश सजिलो कुरा होइन । कुनै काल्पनिक विषय पनि होइन । ग्रहहरूको अवस्थितिलाई गहन रूपमा अध्ययन गरेर त्यसको प्रभावका आधारमा मात्र फलादेश गर्ने शास्त्रीय विधान छ । 

एक महिना, एकवर्ष ज्योतिष सिकेको भरमा फलादेश असम्भव छ । वर्षौंका परीक्षण सफल भइरहेका हुँदैनन् भने थोरै समयको बुझाइले सही फलादेश असम्भव छ । हेराउन आउनेले पनि ज्योतिषी त्यस विषयको विज्ञ हो होइन जान्नु बुझ्नु हुन्छ । न कि ज्योतिषशास्त्रलाई मात्र गाल पार्नु । 

डाक्टरले औषधि दिए पनि निको नभएका उदाहरण थुप्रै छन् । त्यो कसको दोष हो ? डाक्टरको या डाक्टरी विद्याको ? हो, यस्तै हो ज्योतिष विद्या पनि । यसमा सर्वप्रथम आकाशमा रहेका ग्रहहरूको अवस्थिति पत्ता लगाइन्छ । यसको छुट्टै र निकै लामो गणितीय विधि छ ।

वर्तमानमा केही कम्प्युटर गणना प्रविधि पनि भित्रिएका छन् । जसले केवल गणना मात्र गर्ने हुन् । फलको आदेश गर्न सक्दैनन् ।  कतिपयको बुझाइमा कम्प्युटरले फलादेश गर्छ अरे भन्ने  भ्रम पनि पाइन्छ । कम्प्युटर केवल गणना गर्ने क्याल्कुलेटर मात्र हो । फलादेश गर्ने शास्त्रको क्षेत्र बृहत् भएकाले यसलाई तत्कालै कम्प्युटरीकृत गर्न असम्भव छ । फलको वर्णन गर्ने भनेको ज्योतिषीय विश्लेषणले नै हो । ग्रहहरूको अवस्थितिअनुसार नै व्यक्तिको जीवनका विविध विषयवस्तुको फल प्राप्त हुने गर्दछ ।  
    
कतिपयमा भौतिकवादी बनेर स्वयं नै सर्वोपरि ठान्ने प्रवृत्ति पनि छ । त्यस्ता व्यक्ति भाग्यवश सफल पनि भइरहेका हुन्छन् । सफल भइरहे भने त्यस्ता व्यक्तिले ज्योतिषलाई पनि मान्दैनन् र भाग्यमा पनि विश्वास गर्दिन भन्छन् । जब उन्नतिको मार्गमा बाधा खडा हुन्छ, कार्यमा अवरोध आउँदै जान्छन्, अनि मात्र ज्योतिषीको ढोकामा पुगेका उदाहरण पनि थुप्रै पाइन्छन् । 

अध्यात्मसँग ज्योतिषको अन्योन्याश्रित सम्बन्ध छ । आत्मिक कुरा सूक्ष्म र अदृष्ट हुन्छन् । भौतिक वस्तुका साथै आत्मिक विषयको पनि विश्लेषण हुने भएकाले  ज्योतिष भौतिक र अध्यात्म दुवैको सेतुशास्त्रका रूपमा विद्यमान छ । अध्यात्मले भौतिक र आत्मिक दुवैपक्षलाई स्वीकार्छ । तर, भौतिकले केवल भौतिक मात्र । विश्वास गरे पनि नगरे पनि हामीमा आत्मिक वृत्ति निश्चय नै रहन्छ । जन्म–जन्मान्तरको कर्मको फल नै ज्योतिष शास्त्रले प्रकाशित पार्ने हो ।

गीताको उपदेश पनि ‘कर्म गर फल पाए भोग नपाए आशक्त नहोऊ’ भन्ने छ । कर्म गरेर त फलको आशा नगर भनिएको छ भने कर्म नै नगरी फलको आश गर्नु व्यर्थ हो ।  

ज्योतिष एक वैज्ञानिक विषय हो । राम्रा–नराम्रा कुरा सबै क्षेत्रमा हुन्छन् । नराम्रा कुरालाई जहाँ पनि त्याग्न सक्नुपर्छ र राम्रा कुरा जहाँ भए पनि अनुशरण गर्न सक्नुपर्दछ । व्यक्ति र शास्त्र भिन्न कुरा हुन् । जसले जति अध्ययनको गहिराइ प्राप्त गरेका छन्, त्यही आधारमा फल विश्लेषण गर्दछन् । ऋषिहरूले बनाएका शास्त्र सत्य छन् । 

व्यक्तिले नै शास्त्रको व्याख्या गर्ने हो । अनुसन्धानको गहिराइबाट गरिएको फलादेश वास्तविकताको नजिक हुन्छ भने सतही ज्ञानद्वारा गरिएको फलादेशले व्यक्तिका साथै समग्र शास्त्रलाई नै दूषित बनाइरहेको हुन्छ । 

यसैले ज्योतिष एक विज्ञान हो । विज्ञानको सही प्रयोग कल्याणदायी रहन्छ भने दुरुपयोगले सबैलाई दूषित बनाइरहेको हुन्छ ।  

  • प्रकाशित मिति : जेठ २५, २०८० बिहीबार १६:४७:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया