नेपाली चलचित्र नीरफूलको प्रिमियर शो भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको प्रिमियर शो भएको हो ।
चलचित्रमा दयाहाङ राईसँगै शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, जीवन बराल, लक्ष्मी बर्देवा, मानस राज, रोशन फ्युबा, विजय लामा लगायतको अभिनय रहेको छ । रेखा थापा यो चलचित्रमा विशेष भुमिकामा छिन् ।
बाल गायिका जिम्मे छ्योइकी र नाट्यकर्मी शान्ति वाइबाले यही चलचित्रबाट ठूलो पर्दामा डेब्यु गरेका छन् । यो चलचित्रमार्फत तामाङहरुको मौलिक संस्कृतिलाई नजिकबाट चिन्ने अवसर पाउने अभिनेता दयाहाङ राईले बताए । उनले आफूले ५ वर्षअघि कथा पाएको र आज फिल्म हेर्दा विगतको अनुभवलाई महसुस गर्न पाएको बताए । वि.सं २०७२ सालको भूकम्पबाट भएको क्षति र त्यसको दुःख र भोगाइलाई चलचित्रमा उतारिएको छ ।
जेठ २६ गते प्रदर्शन हुने चलचित्र ‘नीरफूल’ मा तामाङ संस्कृति समेटिएको छ । धादिङको रुबी भ्यालीमा यसको छायाङ्कन गरिएको थियो । भूकम्पका कारण बिछोडिएका एक परिवारको सदस्यले पुनर्मिलनका लागि गरेको प्रयत्नमा आधारित रहेको चलचित्रमा अभिनेता राईसँगै रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरीलगायतको अभिनय रहेको छ ।
चलचित्रमा पटकथा लेखन निर्देशक फूलमान बल र सचिन घिमिरे, छायाङ्कन प्रमोद कार्की, सम्पादन निमेश श्रेष्ठ, सङ्गीत सिर्जना अर्जुन पोखरेल र चन्द्रकुमार दोङले गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।