चलचित्र ‘परस्त्री’को ट्रेलर सार्वजनिक गरिएको छ । विवाहेतर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक विषयमा निर्माण भएको चलचित्रलाई सुरज पाण्डेले निर्देशन गरेका हुन् । कलाकारको रूपमा यस क्षेत्रमा भित्रिएका पाण्डेको यो पहिलो निर्देशकीय चलचित्र हो ।
'हामीले भारतमा बजार पाउन सक्यौँ भने हाम्रो निर्माणमा अझै भव्यता पाउनेछौँ । हामीले विदेशी भाषामा चलचित्र ल्याएर दर्शक बढाउने प्रयास र ‘ओभर दी टप’ (ओटिटी) प्लेटफर्ममा सम्भावना खोजिरहेका छौँ,' निर्देशक पाण्डेले भने । उनले हिन्दी भाषामार्फत बढी दर्शकसम्म पुग्ने विश्वास व्यक्त गरे ।
चलचित्रका लेखक दीपेन्द्र के खनालले यो विषय समाजसँग जोडिएको बताए । उनले भने,'यो हामीले देखिरहेको र सुनिरहेको कथा हो । यसले हाम्रो कमजोरी औँल्याउनसमेत मद्दत गर्छ ।'
चलचित्रकी अभिनेत्री शिल्पा मास्केले आफूले अहिलेसम्मकै फरक भूमिका निर्वाह गरेको जानकारी दिइन् । 'बनिरहेका चलचित्रभन्दा फरक छ । यसको कथा सुन्दा नै मलाई राम्रो लागेको हो,' उनले भनिन्,'पोस्टर सार्वजनिक हुँदा पाएको चर्चाले ‘नर्भस’ पनि थिएँ । यद्यपि ट्रेलर हेर्दा ढुक्क भएकी छु ।'
अभिनेता कोसिस क्षेत्रीले पनि समाजमा भएको तर दबाइएको कथा चलचित्रमा समेटिएको जानकारी दिP . यसमा काम गर्दा निकै सहज र सरल भएकाे उनकाे भनाइ छ ।
अर्का अभिनेता गौरभ विष्टले प्रेमी युवाको भूमिका निर्वाह गरेको जानकारी दिए । यस्ता चलचित्र बिरलै बन्ने गरेकाे भनदै उनले यसले दर्शकलाई निराश नबनाउने दाबी गरे ।
आगामी असार १५ गतेदेखि प्रदर्शनमा आउने चलचित्र नेपालीसँगै हिन्दी भाषामा प्रदर्शन हुँदै छ । नेपालमा हिन्दी भाषामा प्रदर्शन गर्ने वा नगर्ने विषय तय नभएको वितरक करण श्रेष्ठले जानकारी दिए । चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।