‘भाषा साहित्य र संस्कृतिको उत्थान, साहित्यिक जागरण हाम्रो अभियान’ भन्ने मूल नाराका साथ तनहुँको सदरमुकाम दमौलीमा राष्ट्रिय साहित्य सम्मेलनको आयोजना गरिएको छ ।
यही जेठ २६ र २७ गते हुने सम्मेलनमा सात वटै प्रदेशका कवि तथा साहित्यकारको जमघट हुने गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँले जनाएको छ । महर्षि वेदव्यासको अवतरण भूमि, भानुभक्तको साधना भूमि र सेतीमादीको संगमस्थल दमौलीलाई उजागर गर्ने हेतुले सम्मेलनको आयोजना गरिएको प्रतिष्ठानका अध्यक्ष सागर उदासले जानकारी दिए ।
भाषा र साहित्यका माध्यमबाट यस क्षेत्रमा रहेका धार्मिक, सांस्कृतिक र ऐतिहासिकस्थलको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास गरिएको उनले बताए । उक्त कार्यक्रममा राष्ट्रिय कविता प्रतियोगिता, सम्मान तथा पुरस्कार वितरण र स्मारिका लोकार्पण गर्ने कार्यक्रम रहेको छ ।
०७६ मा गर्न लागेको भए पनि पटक–पटकको कोरोना र संघीय निर्वाचनका कारण रोकिएको कार्यक्रम अहिले आएर निरन्तरता दिन लागेको आयोजकले जनाएको छ । सम्मेलनमा पुरस्कृत हुने कवि तथा साहित्यकारलाई प्रथम पुरस्कार रु ५५ हजार, द्वितीयलाई रु ४० हजार, तृतीयलाई रु २५ हजार र सान्तवना छ जनालाई रु १० हजारका दरले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।