कहिले घट्ला अधिकतम तापक्रम ? यस्तो भन्छन् मौसमविद्

देशका अधिकांश स्थानमा अधिकतम तापक्रम अझै केही दिन रहने मौसमविद्ले बताएका छन् । मौसमविद् शान्ति कँडेलले यस वर्ष अधिकांश भू–भागमा सरदरभन्दा कम वर्षा हुने र सरदरभन्दा बढी अधिकतम तापक्रम हुने देखिएको बताइन् । उनले न्यूनतम् तापक्रम पनि सरदरभन्दा धेरै बढी हुने देखिएको बताइन् ।

कँडेलका अनुसार नेपालमा १३ जुनबाट मात्रै मनसुन प्रवेश हुने भएकाले अझै केही दिन नेपालमा हिट वेब हुने र त्यसपछिका केही दिनलगत्तै पुनः हिट वेब बढ्ने अवस्था रहेको छ । 

यस वर्ष अधिकांश भू–भागमा सरदर भन्दा कम वर्षा हुनेछ । वर्षा कम हुने देखिएको छ । अधिकतम तापक्रम सरदरभन्दा बढी अधिकतम तापक्रम हुने देखिएको छ । यो अझै धेरै समयसम्म रहन्छ । त्यस्तै न्यूनतम् तापक्रम पनि सरदर भन्दा धेरै बढी हुने देखिएको छ,’ उनले भनिन्, ‘नेपालमा मनसुन प्रवेश गर्ने भनेको १३ जुन हो, अब एक दुई दिनमा पूर्वी भू–भागमा वर्ष हुनेछ भने १६ तारिखदेखि वर्षा हुने देखिएको छ । हिट वेब अझै केही दिन लम्बिनेछ ।’

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले गर्मीबाट बच्नका लागि परोपकारी संस्थाहरूले ठाउँठाउँमा माटोको भाँडाहरूमा पानी राखेर खुवाउने, सातु खुवाउने, कागती हालेर पानी खुवाउने र मोही खुवाउने विधिलाई अघि बढाउन जरुरी रहेको बताए । उनले यसमा सरकार र प्राधिकरणले पनि सहयोग गर्ने बताए ।

‘परोपकारी संस्थाहरूले ठाउँ ठाउँमा माटोको भाँडाहरूबाट कपडाले बेरेर पानी खुवाउने, बरफहरू हालेर खुवाउने, सातु खुवाउने, कागतीहरू हालेर खुवाउने, मोहीहरू खुवाउने यो धर्मको हिसाबबाट पनि गर्ने गरिन्छ । यसलाई पनि हामीले अघि बढाउनुपर्छ । यसमा परोपकारी संस्थाको ठूलो भूमिका हुन्छ,’ पोखरेलले भने, ‘समुदायमा यस किसिमका गतिविधि गर्न जरुरी छ । पालिकामुखी भएर काम गर्न जरुरी छ । यसमा छिटोछरितो टिम बनाएर जानुपर्छ, हरियाली बनाउन विरुवा रोप्ने काममा पनि हामी लाग्नुपर्छ ।’

त्यस्तै, मौसमसम्बन्धी विज्ञ र सरोकारवाला निकायका प्रतिनिधिहरूले पूर्वसूचना प्रणाली कमजोर रहेको बताए । गर्मीका कारण लू लाग्ने, बान्ता हुने, थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने,  चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्नसक्ने विज्ञहरूले बताए । 



तातो हावाबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्किँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाहसुझाव लिनुपर्ने चिकित्सकको सुझाव छ ।   



  • प्रकाशित मिति : जेठ २६, २०८० शुक्रबार १९:२१:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया