टिकट महँगो भएपछि रत्न मन्दिर छिरेनन् विदेशी

गणतन्त्र दिवसका अवसरमा यही १५ जेठमा खुला गरिएको पोखराको फेवा किनारास्थित रत्न मन्दिर घुम्ने विदेशी पर्यटकको सङ्ख्या अति न्यून छ । अहिलेसम्म जम्मा नौ जना विदेशी पर्यटक टिकट काटेर मन्दिर छिरेका छन् । 

त्यहाँ भित्रिने आन्तरिक पर्यटकको सङ्ख्या भने दैनिक सयौँमा छ । टिकटको शुल्क सुनेपछि महँगो भन्दै विदेशी प्रवेशद्वारबाटै फर्कने गरेको पोखरास्थित नेपाल ट्रस्टको एकाइ कार्यालय प्रमुख गीता मिजारले बताइन् । उनका अनुसार नेपालीका लागि १ सय र विदेशी नागरिकका लागि १ हजार रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । ‘विदेशी पर्यटकबाट टिकट शुल्क घटाउनुपर्ने सुझाव आएको छ, यो विषयमा नेपाल ट्रस्टको केन्द्रीय कार्यालयमा पनि जानकारी गराएका छौँ,’ प्रमुख मिजारले भनिन्, ‘टिकट दर संशोधन गर्ने कुरा भइरहेको छ, माथिबाट निर्णय भएर आउन बाँकी छ ।’ 

पर्यटन सम्बद्ध निकाय र संस्थाबाट पनि विदेशी पर्यटकका लागि तोकिएको शुल्कलाई केही घटाउनुपर्ने सुझाव आएको उनको भनाइ छ । आन्तरिक पर्यटक भने दैनिक सरदर ३ सय ५० को सङ्ख्यामा रत्न मन्दिर पुगेको तथ्याङ्क उक्त कार्यालयसँग छ । गत शनिबार मात्रै सात सय बढीले रत्न मन्दिर घुमेका थिए । 

सोमबारबाहेक हरेक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मन्दिर खुला हुने गर्छ । टिकट कक्ष भने ४ बजे नै बन्द हुन्छ । विद्यार्थी, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिका लागि ५० रुपैयाँ शुल्क निर्धारण गरिएको  छ । कार्यालयको पूर्वस्वीकृति लिएर वृत्तचित्रका लागि प्रतिघण्टा ५ हजार रुपैयाँ र व्यावसायिक भिडियोग्राफीका लागि प्रतिघण्टा १० हजार रुपैयाँ शुल्क तोकिएको छ । 

पूर्वराजपरिवारको शीतकालीन दरबारका रूपमा चिनिने रत्नमन्दिर गणतन्त्रको उदयसँगै १५ वर्षदेखि बन्द अवस्थामा थियो । पर्यटकीय गन्तव्यस्थलका विकास गर्ने ध्येयले पहिलोपटक उक्त दरबार सर्वसाधारण तथा पर्यटकका लागि खुला गरिएको हो । 

नवौँ शाहवंशीय राजा महेन्द्रले आफ्नी कान्छी रानी रत्नको नाममा रत्न मन्दिर बनाएका थिए । राजसंस्थाको अन्त्यपछि पूर्वराजा वीरेन्द्रको नाममा रहेको उक्त दरबार वि.सं २०६४ मा नेपाल ट्रस्टको स्वामित्वमा आएको थियो । रासस    





  • प्रकाशित मिति : जेठ २६, २०८० शुक्रबार २२:३६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया