सत्ता टिकाउनका लागि रेशम चौधरीलाई आममाफी दिइयो : कांग्रेस नेता कोइराला
फाइल फाेटाे

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता टिकाउनका लागि अदालतको आदेश विपरीत रेशम चौधरीलाई आममाफी दिने निर्णय गरेको आरोप लगाएका छन् ।

दण्डहीनतालाई प्रश्रय दिने गरी राष्ट्रपतिबाट तीन वटै तहको अदालतको आदेश विपरीत चौधरीलाई आममाफी दिने कुराले अन्ततः लोकतन्त्रलाई नै कमजोर बनाउने भन्दै उनले आक्रोशसमेत व्यक्त गरे ।

‘अहिले निर्वाचन आयोगलाई हामीहरूले स्वतन्त्र र निष्पक्ष निर्वाचन आयोग बनाउनु पर्छ भनेर भनिराखेका छौँ । र, हुन पनि पर्छ । निर्वाचन आयोगलाई सिडिओको मातहतमा लगेर एउटा कोठामा लगेर राख्ने । त्यसले लोकतन्त्र मजबुत हुन सक्दैन । लोकतन्त्र मजदुर हुनका लागि निर्वाचन आयोग स्वतन्त्र र निष्पक्ष हुन जरुरी छ भन्ने कुरा पनि तपाईँहरू माझमा राख्न चाहन्छु, उनले भने, ‘सुशासन, पारदर्शिता, जबाफदेहिता र उत्तरदायित्व यी कुराहरू कुनै पनि लोकतन्त्रलाई सुदृढ गर्न बनेको हुन्छ । हामी कहाँ दण्डहीनताको पनि कता कता बढ्दै गएकोमा मलाई चिन्ता लागिरहेको छ । अहिले भर्खरै हेर्नुस् । तीन अदालत उच्च अदालत, जिल्ला अदालत, सर्वोच्च अदालतले गरेको निर्णयलाई राष्ट्रपतिजीले त्यो मसी सुक्न नपाउँदै माफी दिनु भयो । हामी जस्ताले त्यसलाई कसरी हेर्ने ? यी कुराहरू अत्यन्त गम्भीर हुन्छन् भोलीका दिनमा ।’ 

शनिबार नेपाली कांग्रेस जिल्ला कार्य समिति, भक्तपुरले आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता कोइरालाले जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालय मातहत राख्ने सरकारको निर्णयप्रति पनि आपत्ति जनाए । 

निर्वाचन आयोगको स्वतन्त्रता र निष्पक्षतामाथि नै प्रश्न उठ्ने गरी सरकारले सो निर्णय गरेकाले आफूहरूले विरोध गर्नु परेको उनको तर्क छ । कोइरालाले  लोकतन्त्रलाई मजबुत पार्नका लागि पनि जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालयको मातहत राख्ने काम गर्न नहुने बताए ।

उनले भने, ‘सरकार टिकाउनका लागि यी कुराहरू गर्दा खरी लोकतन्त्र कमजोर हुन्छ भन्ने कुरा पनि हामीले बुझ्न जरुरी छ । हामीले राजनीतिक स्वतन्त्रता छ पायौँ । संविधान पायौँ नि । तपाईँहरू, हामीहरू सबै खुसी छौँ । तर आर्थिक, सामाजिक, सांस्कृतिक विविधताहरू अहिले पनि अप्ठ्यारोमा परेका छन् ।’



नेता कोइरालाले कांग्रेस कमजोर भएको हीन भावना लिएर नबस्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । अतीतबाट सिक्ने सके कांग्रेस कमजोर हुने कुनै कारण नरहेको उनले बताए ।



  • प्रकाशित मिति : जेठ २७, २०८० शनिबार १२:१५:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया