logo-img

खडेरीले खेतमै सुके मकै, किसान चिन्तित

खडेरीले खेतमै मकै सुकेपछि चितवनका किसान चिन्तित बनेका छन् । मकैको घोगा लाग्ने र पाक्ने बेलामा बढ्दो तापक्रम र खडेरीले मकैका बोट सुक्न थालेपछि किसान चिन्तित बनेका हुन् ।   

सुकेको मकैका बोट काटेर किसानले गाई, भैँसीलाई घाँसको रूपमा दिन थालेका छन् । भरतपुर महानगरपालिका–८ गौरीगन्जका नवीन पुरीले १३ गठ्ठा जग्गाको मकै पूरै सुकेको बताए । उनले भने, ‘घोगा लाग्ने बेलामा मकैका बोट सुक्यो । मकैमा गरिएको मल, बिउ र खनजोतको लगानी खेर गयो ।’

भरतपुर महानगरपालिका–११ बसेनीकी जलपादेवी घिमिरेले सात गठ्ठा जग्गामा मकै लगाएकी थिइन् । सबै मकै सुक्न थालेपछि उनले घाँसको रूपमा मकैका बोट काटेर गाईलाई दिन थालेकी थिइन् । सबै परिवार कृषिमा आश्रित ७८ वर्षीय जलपादेवी मकै डढ्न थालेपछि चिन्तित बनेकी छन् ।

सोही ठाउँकी तारादेवी भण्डारीको पनि चार गठ्ठाको मकै सुकेको छ । पाइप लगाएर अलिअलि पानी हाल्दाहाल्दै पनि चर्को घामले मकै सुकेको उनले बताइन् । ‘मकैका बोट सुकेपछि काटेर गाईलाई दिन थालेको छु । चाख्नसमेत नपाइने भयो मकै । मल, बिउ र मिहिनेत त्यसै खेर गयो,’ घिमिरेले भने ।

कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी मीनबहादुर पुनले प्राकृतिक कारणले यस वर्ष मकै सुकेको भन्दै केही रोकथाम गर्ने उपाय नै नभएको बताउँछन् । ‘सिँचाइको सुविधा भएको ठाउँबाहेक अन्य ठाउँको मकै जोगाउन कठिन छ,’ उनले भने । पुनले सरकारी अनुदानमा बोरिङको सुविधा भएको ठाउँको मकै मात्र केही जोगिन सक्ने भए पनि अन्यत्रको मकै पूरै सुकेको बताए । उनले मकै मात्र होइन खडेरीका कारण तरकारी खेतीमा समेत प्रभाव परेको छ ।

चितवनमा २६ हजार हेक्टर बढी क्षेत्रफलमा मकैखेती गरिने जनाइएको छ । उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव ७९ मेट्रिक टन रहेको छ । मकै घोगा लगाउने सिजनमै खडेरीले मकै सुकेपछि अहिले किसान समस्यामा परेका हुन् ।  



चितवनमा प्रायः तीन सिजन मकैको खेती हुन्छ । माघ फागुनमा लगाइने ‘बसन्ते’ मकै चितवनमा १४ हजार छ सय हेक्टरमा खेती हुने गर्छ । यो मकै जेठ/असारमा पाक्छ । 

वैशाख/जेठमा गरिने मकै खेती साउन भदौमा पाक्छ । यसलाई वर्षे मकै भनिन्छ । चितवनमा यो मकै ९ हजार ८ सय हेक्टर बढीमा खेती गरिन्छ । यस्तै, असोज/कात्तिकमा लगाइने हिउँदे मकै चितवनमा १४ हजार ६ सय हेक्टरमा खेती हुन्छ । यो मकै फागुन/चैतमा पाक्छ । 



चितवनमा वार्षिक ९४ हजार ८० मेट्रिक टन मकै उत्पादन हुने गर्छ । रासस 

  • प्रकाशित मिति : जेठ २८, २०८० आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया