बाँके राप्तिसोनारी गाउँपालिका–८ ओभरिकी रुपा वली अहिले ६५ वर्ष पुगिन् । उनले नौजवानले फुकेझैंँ नरसिंगा फुक्छिन् । लोप हुँदै गएको नेपालीको मौलिक संस्कृति र परम्परालाई जोगाउन आफूल पञ्चेबाजाअन्तर्गत पर्ने नरसिंगा फुक्ने गरेको वलीले बताइन् ।
सुरुसुरुमा सास तान्न र स्वरलाई मोड्न निकै अप्ठ्यारो हुने गरेकामा हिजोआज भने बानी परेपछि सजिलैसँग नरसिंगा फुक्न सक्ने उनको भनाइ छ । यो उमेरमा पनि मलाई कुनै रोगले छोएको छैन । म शारीरिक रुपमा पूर्ण रुपले स्वस्थ छु,' उनले भनिन्, 'नरसिंगा अरु बाजा बजाएजस्तो होइन । यसलाई सासले बजाउनुपर्छ ।'
वलीले आफूसँगै समूहमा आबद्ध भएका अन्य महिलालाई पनि नरसिंगा बजाउन प्रेरित गरेको बताए । 'यो त सीप हो । सीपलाई हस्तान्तरण गर्नुपर्छ । गरिएन भने लोपहुँदै जान्छ,' उनले भने, 'अबको दुई/चार वर्षपछि मैले नरसिंगा बजाउन सक्दिनँ । नयाँ पुस्ताले अहिले नै सिके भने पछि बजाउन सक्छन् । नरसिंगा लोप नहोस् भन्नका लागि मैले अरुलाई पनि सिकाउने गरेको छु ।'
अवसर पाए महिलाले सबै काम गर्न सक्छन् भन्ने सन्देश समाजलाई दिनका लागि आफूले नरसिंगा बजाउने काम रोजेको वलीको भनाइ छ । सुरुसुरुमा कुरा काट्नेले नि हिजोआज प्रशंसा गर्ने गरेको उनले बताइन् ।
संस्कृति संरक्षण समूहअन्तगर्तको पञ्चेबाजा उप–समूहमा आबद्ध मैसरी खत्रीले १० किलोको पञ्चेबाजा बाजा बजाउँछिन् । सानैबाट नाच्ने गाउने रुचि भएकाले आफू समूहमा आबद्ध भएको उनले बताइन् । घाँटीमा झुण्ड्याएर पञ्चेबाजा बजाउन सजिलो नहुने खत्रीले बताइन् ।
'काम त सजिलो कुन चै छ र १० किलोको पञ्चेबाजालाई घाँटीमा झुण्ड्याएर बजाई रहँदा सुरुसुरुमा हातमा फोका उठ्यो, ज्वरोले थला परिन्थ्यो,' उनले भनिन्,'महिलाले पनि पुरुषसरह सबै काम गर्न सक्छन् भन्ने लागेर मैले पनि १०-१० किलोको पञ्चेबाजा बजाउने हिम्मत गरेकी हुँ ।'
सोही समूहमा आबद्ध भीमा विष्ट ५४ वर्षकी छन् । उनले अगुवा बाजा र सानो बाजा बजाउँछिन् । संस्कृतिको संरक्षणका क्षेत्रमा केही नयाँ गर्नुपर्छ भन्ने सोचले अगुवा र सानो बाजा बजाउन थालेको उनकाे भनाइ छ ।
०७९ असोजमा गठन भएको उक्त पञ्चेबाजा समूहले सुरुमा १० हजार मात्र कमाएको विष्टले बताइन् । समूहको तर्फबाट पहिलोपटक उक्त रकम कमाउँदा निकै खुसी लागेको उनले बताइन् ।
लोप हुँदै गइरहेको नेपालीको मौलिक बाजा, संस्कृति र परम्परालाई जोगाइ राख्नका लागि समूहलाई पञ्चेबाजा दिएर सहयोग गरेको सांस्कृति संरक्षण समूहका अध्यक्ष हर्कबहादुर विष्टले जानकारी दिए ।
उक्त पञ्चेबाजा समूहमा १९ जना महिला आबद्ध छन् । सो समूहमा १० दमाहा, दुई टेम्की, दुई जोडा चिल्लर, दुई सनाही, दुई नरसिंगा र नेपाली पोसाक छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।