नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने क्यानडाको ग्लोबल टी–२० लिगमा अनुबन्धित भएका छन् । मंगलबार राति भएको खेलाडी ड्राफ्टमा उनी सुर्रे जाग्वार्समा अनुबन्धित भएका हुन् ।
सन्दीप करिब एक वर्षपछि व्यावसायिक क्रिकेट लिगमा फर्किँदै छन् । गत वर्षको भदौमा एक किशोरीलाई जबरजस्तीकरण गरेको आरोप लागेपछि उनी व्यावसायिक लिग खेल्न वञ्चित भए । योबीचमा जेलसम्मको यात्रा गरेका सन्दीपले अब भने विदेशी लिगमा प्रतिस्पर्धा गर्नेछन् ।
सन्दीप अन्तिमपटक वेस्ट इण्डिजमा आयोजित क्यारेबियन लिग अर्थात सीपीएलमा अनुबन्धित भएका थिए । तर, बलात्कार आरोपमा प्रहरीमा जाहेरी परेपछि उनले गत सिजनकोे सीपीएलमा एउटा पनि खेल खेल्न पाएनन् ।
अहिले पनि उनीविरुद्धको मुद्दाको छिनोफानो भइसकेको छैन । त्यसका बाबजुद सन्दीप विदेशी लिगमा फर्किन लागेका छन् । उनले यसअघि नै ग्लोबल टी–२० लिग खेलिसकेका छन् ।
सन्दीपले पहिलो सिजन मोन्टेरियल टाइगर्स र दोस्रो सिजन टोरन्टोबाट लिग खेलेका थिए । यसपटक उनीसम्मिलित सुर्रेमा एलेक्स हेल्स, लिन्टन कुमार दास, जेसन बेहरेन्डोर्फ जस्ता स्टार छन् ।
दीपेन्द्र पहिलोपटक विदेशी लिगमा
नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्र सिंह ऐरी पनि आसन्न सिजनको ग्लोबल टी–२० लिगमा अनुबन्ध भएका छन् । उनी मोन्टेरियल टाइगर्समा अनुबन्ध भएका हुन् ।
दीपेन्द्र पहिलोपटक विदेशी लिगमा जोडिएका हुन् । उनीसम्मिलित मोन्टेरियल टाइगर्समा शाकिव अल हसन, आन्द्रे रसेल, क्रिस लिनलगायत नाम चलेका खेलाडी अनुबन्ध भएका छन् ।
ग्लोबल टी–२० खेल्ने दीपेन्द्र तेस्रो नेपाली खेलाडी हुन् । यसअघि सन्दीप र सोमपाल कामीले यो लिगमा प्रतिस्पर्धा गरिसकेका छन् ।
यस्तै, दीपेन्द्र विदेशी लिग खेल्ने छैटौँ नेपाली खेलाडी बनेका छन् । यसअघि नेपालबाट सन्दीप, सोमपालसहित पारस खड्का, कुशल मल्ल र करण केसी विभिन्न विदेशी लिगमा अनुबन्धित भइसकेका छन् ।
आउँदो सिजनको ग्लोबल टी–२० लिग २० जुलाईदेखि सुरु हुँदैछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।