मानवजीवनलाई व्यवस्थित बनाउन हाम्रा महर्षिहरूले हामीलाई कैयौँ ज्ञान सुम्पिएर गएका छन् । तिनै ज्ञानमध्येको एक हो, खगोलीय ज्ञान । ज्योतिषशास्त्र त्यही खगोलीय ज्ञानको भण्डार हो । ज्योतिष ज्ञान मात्र नभएर विज्ञान पनि हो । त्यही ज्योतिषीय दिव्य ज्ञान अहिले हाम्रो जीवनको मार्गदर्शन बनेको छ ।
खगोलीय अध्ययन गरी त्यसकै आधारमा समयको निर्धारण परम्परादेखि नै विद्यमान छन् । आकाशका तारासँग पृथ्वीवासीको प्रत्यक्ष सम्बन्ध रहने गर्दछ । ज्योतिषमा यस्ता थुप्रै विषयवस्तु छन्, जसले आजको विश्वलाई नेतृत्व गरिरहेको छ । अन्तरिक्षको परिकल्पना पनि ज्योतिषशास्त्रकै उपज हो । सृष्टि उत्पत्तिदेखि लिएर अन्त्यसम्मको गणना ज्योतिषशास्त्रमा विद्यमान छ । युग, वर्ष, महिना, बार आदिको निर्धारण पनि ज्योतिषशास्त्रबाट नै हुन्छ । जसले हरेक कुराको वैज्ञानिक आधार प्रस्तुत गरेको छ ।
वैशाख, जेठ आदि बाह्रवटा महिनाको नाम निर्धारण कसरी भयो भन्ने सन्दर्भमा पनि वैज्ञानिक कारण ज्योतिषशास्त्रमा विद्यमान छन् । महिनाको नाम निर्धारणमा आकाशका तारा, चन्द्रमा र सूर्यको विशेष भूमिका रहने गर्दछ । सूर्यका बाह्रवटा कला (किरण) हुन्छन् । शास्त्रमा सूर्यका बाह्र कलाको नाम यसरी दिइएको छ : ‘तपिनीतापिनीधूम्रा मरीचिज्र्वालिनी रुचिः । सुषुम्णा भोगदाविश्वाबोधिनीधारिणी क्षमा । तन्त्रविद्भिरिमाः प्रोक्ताः कलाद्वादशभास्वतः।।’ (कर्मकाण्डभास्करः पृ.५) यिनै बाह्रवटा कला(किरण)का आधारमा बाह्रवटा महिनाको निर्धारण गरिएको छ ।
यसैगरी, सूर्यले एक वर्षमा ३६० अंश (डिग्री) पार गर्छन् । अझ भनौँ, एक वर्षमा सूर्यको एक गोलाइ चक्कर पूरा हुन्छ । सोही पूरा गर्न ३६५ दिन १५ घडी ३१ पला लाग्ने गर्दछ । प्रत्येक महिनाको परिवर्तन पनि सूर्यकै आधारमा हुने गर्दछ । यसका साथै महिनाको नाम निर्धारणका सन्दर्भमा चन्द्रमा र नक्षत्रको विशेष स्थान हुने गर्दछ ।
चन्द्रमा आकाशमा जुन नक्षत्रमा पूर्ण हुन्छन् वा पूर्ण देखिन्छन्, उक्त महिनाको नाम सोही नक्षत्रका आधारमा निर्धारण हुने गर्दछ । सूर्य र चन्द्रमाको तारतम्य मिलेपछि मात्र हाम्रा महिनाको नाम निर्धारण हुन्छ । ज्योतिषशास्त्रमा महिना निर्धारणको वैज्ञानिक कारण छ । सूर्यले ३० अंश पार गरिसकेपछि एक महिना हुन्छ । त्यसमा पनि पहिलो ३० अंश पार गरेको समयावधिलाई वैशाख महिना भनिन्छ । यसरी ३० अंश पार गर्दा पनि सूर्यसंक्रमणलाई विचार गर्नुपर्दछ । दक्षिणायन वा श्रावण संक्रान्तिको निर्धारण सूर्यले अहोरात्रभित्र जुन दिन राशि परिवर्तन गर्दछन् वा संक्रमित हुन्छन्, सोही दिन संक्रान्ति वा महिनाको पहिलो दिन हुन्छ । यसैगरी, मकर संक्रान्तिमा दिनमान भित्र संक्रमण भए सोही दिन संक्रान्ति गनिन्छ ।
अन्य महिनाको सन्दर्भमा मध्यरात्रिभित्र सूर्य संक्रमण भए भने सोहीदिन संक्रान्ति र अन्यथा भोलिपल्ट संक्रान्ति मान्नुपर्ने ज्योतिष एवं धर्मशास्त्रीय व्यवस्था रहेको छ । उक्त अवधि कहिले ३० दिनको पनि हुन सक्छ कहिले ३२ पनि पुग्न सक्छ त कहिले २९ दिन पनि हुन सक्छ । यसरी महिनाको निर्धारण सूर्य चन्द्रमा एवं नक्षत्रको अवस्थितिका आधारमा हुने गर्दछ । जसले आकाशीय परिदृश्यलाई पनि प्रत्यक्ष प्रतिनिधित्व गरिरहेको हुन्छ ।
हाम्रा चान्द्रमहिना पूर्णिमासँगै पूरा हुने गर्दछन् । चन्द्रमा र सूर्यको १२ अंशको फरकमा एक तिथि निर्धारण गरिएको छ । यसरी ३० तिथि पूरा हुँदा एक चान्द्रमास हुन्छ । बाह्रवटा चान्द्रमास पूरा भएपछि एक चान्द्र वर्ष हुने गर्दछ । हाम्रा हरेक धार्मिक कार्य चान्द्रमासका आधारमा सम्पादन गरिन्छन् । हरेक औँसीका दिन सूर्य र चन्द्रमा एउटै राशिमा हुने भएकाले उक्त रात पूर्ण अन्धकारयुक्त हुन्छ ।
पूर्णिमाका दिन सूर्य र चन्द्रमाबीच १८०अंश अर्थात् ६ राशिको अन्तर पर्ने भएकाले आकाशमा पूर्ण चन्द्रमाको दर्शन हुने गर्दछ । यसरी आकाशीय सूर्य र चन्द्रमाको आधारमा निर्धारण गरिने महिना प्रत्यक्ष छन् । सौरमहिनाको तुलनामा चान्द्र महिना धेरै हुने गर्दछन् । अर्थात् हरेक बत्तीस महिनामा सौर र चान्द्रमहिनामा एक महिनाको अन्तर पर्ने गर्दछ, जसलाई अधिकमास भनिन्छ ।
उक्त समयमा एक चान्द्रमास अधिक हुन्छ । यस्तो समयमा दुई औँसीका बीच एउटा पनि संक्रान्ति पर्दैन । जसको वैज्ञानिक गणना पद्धति ज्योतिषशास्त्रमा विद्यमान छ । यसैगरी चान्द्र र सावनमासको अन्तर नै क्षयमास हो । क्षय हुँदा दुई औँसीका बीच दुई संक्रान्ति पर्दछन् ।
तर, पाश्चात्य (ईश्वी सन्) निर्धारण निश्चित सूर्यको गतिका आधारमा तय गरिएको हुन्छ । सौरमासलाई मात्र लिने भएकाले चान्द्रतिथिको ईशवीय वर्ष (इश्वी सन्)मा कुनै महत्त्व रहँदैन । यसैगरी सौरमासलाई मात्र ग्रहण गर्दा अधिक र क्षयमास पनि पर्दैनन् । मार्च बाट सुरु हुने महिनालाई पछि जुलियस सिजरले जनवरीबाट चलाएको इतिहास पाइन्छ । प्रायः महिनाको नाम इसाइ देवताका आधारमा निर्धारण गरिएको छ ।
तर, पौरस्त्य महिनाको निर्धारण कुनै देवताका आधारमा छैन । आकाशका ताराविशेष नक्षत्रका आधारमा नै निर्धारित पाइन्छन् । वैशाख एक गतेलाई विषुवत् दिन भनिन्छ । यस दिन दिन र रात बराबर हुन्छन् । तर, जनवरी एक तारिखमा वर्षारम्भ मान्नुको कुनै ठोस आधार पाइँदैन । केवल जुलियस सिजर राजाको आदेश मात्र हो ।
यसैगरी, नेपाली महिनाको नामाकरणको पनि वैज्ञानिक आधार रहेको छ । आकाशीय नक्षत्रका आधारमा प्रत्येक महिनाको नाम निर्धारण गरिएको छ । अर्थात्, विशाखा नक्षत्रका दिन पूर्णिमा हुने महिनालाई वैशाख भनिन्छ । अर्थात् वैशाख शुक्ल पूर्णिमाका दिन विशाखा नक्षत्र पर्ने गर्दछ । यसैगरी, ज्येष्ठा नक्षत्रका दिन पूर्णिमा हुने महिनालई ज्येष्ठ भनिन्छ । पूर्वाषाढा नक्षत्रका दिन पूर्णिमा पर्ने महिनालाई आषाढ, श्रवण नक्षत्रमा पूर्णिमा पर्ने महिना श्रावण, पूर्वाभाद्रपदा नक्षत्रका दिन पूर्णिमाा पर्ने महिना भाद्र, अश्विनी नक्षत्रका दिन पूर्णिमा पर्ने महिना आश्विन, कृत्तिका नक्षत्रका दिन पूर्णिमा पर्ने कार्तिक, मृगशिरा नक्षत्रका दिन पूर्णिमा पर्ने मार्गशीर्ष, पुष्य नक्षत्रका दिन पूर्णिमा पर्ने पौष, मघा नक्षत्रका दिन पूर्णिमा पर्ने महिना माघ, पूर्वाफाल्गुनी नक्षत्रका दिन पूर्णिमा पर्ने महिना फाल्गुन, अनि चित्रा नक्षत्रका दिन पूर्णिमा पर्ने महिना चैत्र भनी पूर्णिमा र नक्षत्रको संयोगका आधारमा बाह्र महिनाको निर्धारण गरिएको छ ।
पाश्चात्यमा जनवरी, फेब्रुअरी आदिमहिनाको केवल ईश्वरका नाम र कामका आधारमा मात्र निर्धारण गरिएको छ । जसमा कुनै खगोलीय सम्बन्ध पाइँदैन । यसैगरी बारको निर्धारण पनि पूर्वीय ज्योतिषशास्त्रमा वैज्ञानिक तरिकाले गरिएको छ । हरेक ग्रहका आधारमा बारहरू निर्धारित छन् । ग्रह पृथ्वीको चारैतिर घुम्दछन् । अर्थात्, सबैभन्दा माथि शनि त्यहाँबाट मुनि क्रमशः गुरु, मंगल, सूर्य, शुक्र, बुध र चन्द्रमा छन् । अहोरात्रमा २४ होरा मानिएका छन् ।
सातवटै ग्रह २४ होराका क्रमशः स्वामी हुन्छन् । अहोरात्रमा यिनको तीन आवृत्ति समाप्त भएपछि तीन होरा बाँकी रहन्छन् । यसप्रकार चौथो ग्रह दोस्रो दिनको प्रथम होराको स्वामी हुन्छ । प्रथम दिन प्रथम होराको स्वामीय दिशनि हुन्छ भने द्वितीय दिन प्रथम होराको स्वामी रवि र तृतीय दिन चन्द्रमा हुन्छ । दिनको प्रथम होराको स्वामी नै त्यो दिनको बार स्वामी हुन्छ ।
हाम्रो दैनिक व्यवहारलाई समयको व्यवस्थापन गर्न वर्ष, महिना, दिन, समय आदिको निर्धारण आवश्यक हुन्छ । यही प्रक्रिया र पद्धतिलाई दीर्घकालसम्म चलाउन खगोलीय ग्रह–नक्षत्रको आधार व्यावहारिक हुन्छ । यसैले हाम्रा महिनाको निर्धारण पनि यिनै आकाशीय ग्रह–ताराका आधारमा भएका छन् । आकाशमा पूर्णिमा अर्थात् पूर्णचन्द्र भएको दिन चन्द्रमा जुन नक्षत्रमा रहन्छन्, सोही नक्षत्रको नामबाट नै महिनाको नाम पनि निर्धारित छ ।
जसले ज्योतिषको वैज्ञानिक पक्षलाई पुष्टि गर्दछ । हरेक ज्योतिषीय विषयवस्तु तथ्य र प्रमाणका आधारमा निर्धारण गरिएका छन् । सूर्य निर्धारित समयमै उदाउनु, निश्चित समयमा अस्त हुनु, चन्द्रमा, नक्षत्र एवं तारा आदि प्रत्यक्ष आकाशमा देखिनुले पनि ज्योतिषको वैज्ञानिक पक्षलाई थप पुष्टि गर्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।