राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाको अहिलेसम्म ६० प्रतिशत मात्र निर्माण सकिएको छ । आयोजना कार्यालयका अनुसार निर्माण सुरु भएको १३ वर्षमा ६० प्रतिशत मात्र निर्माण कार्य सकिएको हो ।
आर्थिक वर्ष २०६७/६८ बाट निर्माण कार्य थालेको आयोजनाले २०८०/८१ मा काम सम्पन्न गर्ने लक्ष्य लिएको भए पनि अहिलेसम्म ६० प्रतिशत काम मात्र सकिएको जनाएको छ ।
आयोजनाको गुरुयोजनाअनुसार २७ अर्ब ७५ करोड रुपैयाँ लागत रहेकामा अहिलेसम्म १८ अर्ब रुपैयाँ खर्च भएको छ । त्यसबाहेकका रकम खर्च हुन बाँकी रहेको र काम सम्पन्न गर्न तोकिएको समयभन्दा बढी समय लाग्ने देखिएको आयोजना प्रमुख केदारकुमार श्रेष्ठले जानकारी दिए । ‘तोकिएकै समयमा काम सम्पन्न हुने देखिएको छैन । आयोजनाका पहिलो चरणका सबै कामहरू सम्पन्न भइसकेका छन् । अहिले दोस्रो चरणका कामहरू धमाधम भइरहेका छन्,’ श्रेष्ठले भने ।
उनका अनुसार दोस्रो चरणअन्तर्गत प्रशाखा नहर, त्यसपछिका टर्सरी फोर्स निर्माण, सडक ग्राभेल तथा पथरैया नदीका तीन स्थानमा पुल निर्माणका काम भइरहेका छन् । ‘आयोजनाले जेठ ३१ गतेदेखि रानी जमरा, कुलरियातिरका नहरमा पानी सञ्चालन गरेको छ,’ श्रेष्ठले भने, ‘पहिले वैशाख २५ गतेदेखि पानी सञ्चालन गरिए पनि नहरको बीचमा बनिरहेको विद्युत् गृहको केही काम गर्नुपर्ने भएकाले करिब एक साता नहरमा पानी बन्द गरिएको थियो ।’
अहिले जेठ ३१ गतेदेखि रानी, जमरा र कुलरिया नहरमा करिब ४५ क्युमेक्स पानी सञ्चालन गरिएको र लम्कीतिरको नहरमा पनि असार पहिलो साता पानी सञ्चालन गरिने प्रमुख श्रेष्ठले बताए ।
आयोजनाअन्तर्गत ४.७ मेगावाट क्षमताको विद्युत् पनि उत्पादन हुने तयारीमा रहेको छ । ‘निर्माणाधीन विद्युत् उत्पादनको काम पनि यसै आर्थिक वर्षभित्र सक्ने आयोजनाको लक्ष्य छ’, आयोजना प्रमुख श्रेष्ठले भने, ‘यसै आर्थिक वर्षको असोज कात्तिकमा आएको बाढीका कारण आयोजनाका विभिन्न क्षेत्रका क्षति पुगाएकाले केही काममा ढिलाइ भएको हो ।’
यस वर्ष पनि कर्णाली नदी किनारमा जथाभाबी उत्खनन् भइरहेकाले त्यो समस्या दोहरिने सम्भावना देखिएकाले यस विषयमा यहाँका नागरिकदेखि सरोकारवाला निकाय सजग हुनुपर्ने आयोजना प्रमुख श्रेष्ठको सुझाव छ ।
रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत रानीमूल कुलाका १४ प्रशाखा कुला जमरा मूल कुलाका १५ शाखा कुला, कुलरिया मूल कुलाका १९ शाखा कुला रहेका छन् । ती मूल कुलाका शाखामार्फत बनेका ८ सय ६३ उपशाखा कुला रहेका छन् । यसरी ती शाखा र प्रशाखा कुलामार्फत किसानका ११ हजार हेक्टर खेतसम्म पानी लैजाने कार्य हुन्छ ।
किसान रामकृष्ण चौधरी आयोजनाले व्यवस्थित नहर बनाएर किसानका खेतसम्म वर्षभरि नै पानी पुग्ने व्यवस्था गरेमा यस क्षेत्रका किसान कृषिमा आत्मनिर्भर बन्न सहयोग पुग्ने बताउँछन् । ‘आयोजना निर्माणाधीन अवस्थामा रहेकाले झन् किसानलाई कठिन भएको छ’, उनले भने, ‘निर्माणका बहानामा समयमा खेतमा पानी पुग्दैन । समयमै पानीको सुविधा भएमा किसानलाई खेती गर्न सहयोग हुन्छ ।’
आयोजनाको कृषि एकाइले यससँगै किसानलाई कृषिमा आत्मनिर्भर र आकर्षित गर्न प्राविधिक, कृषि औजार, मल, बिउ जस्ता कुरामा अनुदान लगायतका कार्य गर्दै आएको छ । यसबाट सयौं किसान र कृषि समूहले लाभ लिँदै आएका छन् । रासस
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।