बाबुराम भट्टराईको नजरमा भरतमोहन अधिकारी

हामीभन्दा अग्रज भएर पनि भरतमोहन अधिकारीले कहिल्यै त्यो भाव देखाउनु भएन । उहाँ मिलनसार हुनुहुन्थ्यो, सबैसँग राम्रो सम्बन्ध राख्नुहुन्थ्यो । अग्रज नै भए पनि उहाँ मेरो असल मित्र हुनुहुन्थ्यो, अभिभावक हुनुहुन्थ्यो । 

मैले उहाँलाई ३४/३५ सालमा नै चिनेको हुँ । त्यति बेला देशमा पन्चायत व्यवस्था थियो । हामी चाहिँ पन्चायतको विरोधमा थियौँ । पन्चायतको विरोध गर्न हामीले अखिल भारत नेपाल विद्यार्थी संघको निर्माण गरेका थियौँ । यो त्यही ३४ साल तिरको कुरा हो । 

हामी विभिन्न कार्यक्रम गर्दा उहाँलाई बोलाउँथ्यौँ । उहाँ आउनुहुन्थ्यो । विराटनगरमा उहाँले वकालती पेसा पनि गर्नुहुन्थ्यो । त्यसैले उहाँसँग हामी विभिन्न सल्लाह लिन्थ्यौँ । त्यति बेला चिनजान भएको उहाँसँग मेरो लामो समयसम्म नजिकको सम्बन्ध रह्यो । 

पछि २०४६ सालमा म उहाँसँग झन् नजिक भएँ । त्यति बेला जनआन्दोलन सुरुवात गर्ने कुरा हुँदा भरतमोहन अधिकारी, सिन्धुनाथ प्याकुरेल र मैले नै वामपन्थीहरुको अलग्गै मोर्चा बनाएर बहुदलीय संगठनमा होमिनु पर्छ भन्ने सल्लाह गरेका थियौँ । कालिकास्थानमा शिवनाथ प्याकुरेलको घरमा गरेको त्यो सल्लाह अहिले पनि मलाई सम्झानामा छ । त्यो सल्लाहपछि आन्दोलनमा दुई धार भएर होमियौँ । भरतमोहन अधिकारीलगायतले वाममोर्चा बनाउनुभयो । हामीले संयुक्त राष्ट्रिय जनआन्दोलन बनायौँ । यसरी उहाँसँग धेरै निकट भएर काम गर्ने अवसर प्राप्त भयो । 

पछि उहाँ अर्थमन्त्री हुनुभयो । ९ महिने एमालेको सरकारमा अर्थमन्त्री भएपछि नयाँ कार्यक्रम ल्याउनुभयो । मुलतः उहाँकै योेगदान थियो ती कार्यक्रमहरुमा । उहाँको अर्थतन्त्रको बुझाइ अत्यन्त राम्रो थियो, उहाँले देशको विकास र समृद्धिका विषयमा आफ्ना धारणा प्रष्टसँग राख्नुहुन्थ्यो । 

पछिल्लो समय उहाँले मिडियाबाट वर्तमान सरकारको आलोचना गर्नु भएको थियो, जुन गति लिनुपथ्र्यो, त्यो लिएन भनेर ।



हामी शान्तिप्रक्रियामा आइसकेपछि पनि उहाँसँग आर्थिक विकास र नीतिका कुरामा पटक–पटक कुराकानी हुन्थ्यो । वामपन्थी भन्ने सरकारले खास प्रकारको आर्थिक नीतिको विषय लिन सकेन भन्ने कुरामा उहाँ र मेरो गम्भीर कुराकानी हुन्थ्यो । उहाँ यस्ता विषयमा निकै चासो राख्नुहुन्थ्यो । 

उहाँ अस्पताल भर्ना हुनुभएको थाहा पाएपछि अस्ति साँझ ह्याम्स हस्पिटलमा भेट्न गएँ । अर्धचेत अवस्थामा हुनुहन्थ्यो, मलाई नमिठो अनुभूति भयो । उहाँको निधनले मलाई स्तब्ध बनाएको छ ।



 

(रमेश दवाडीले गरेकाे कुराकानीमा आधारित)

  • प्रकाशित मिति : फागुन १९, २०७५ आइतबार १४:१०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया