त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको धर्नालाई ऐक्यबद्धता जनाउन जिल्ला अदालत, काठमाडौं पुगेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार ब्यानरसहित चलाउनेको धर्नामा ऐक्यबद्धता जनाउन जिल्ला अदालत काठमाडौं पुगेका केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो । आफूमाथि निर्घात कुटपिट गर्ने नेविसंघका कार्यकर्ताको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध चलाउने सोमबार साँझदेखि धर्नामा बसेका छन् । धर्नास्थलमा वैशाखी टेकेर पुगेका उनले ‘घामजस्तै छर्लङ्ग घटनामा न्यायको भीख माग्नु दुःखको कुरा’ भएको बताए ।
उपप्राध्यापक चलाउनेले आफू पीडित हो कि होइन भन्नेकुरा अदालतले भन्नुपर्ने बताए । उनले अदालतले दिनलाई रात र रातलाई दिन बनाउन नहुने बताए । चलाउनेले मुद्दा फिर्ता लिने कुरा आफूलाई नसोधेर नै लिइएको बताए ।
उनले सरकार अपराधीको पक्षपोषणमा लागेको र अपराधीहरूले राजनीतिकरण गरेको बताए । उपप्राध्यापक चलाउनेले प्राध्यापकमाथि दिनदहाडै आक्रमण हुँदा न्यायको मजाक उडाइएको बताए ।
उनले अपराधीले सञ्चारमाध्यममा गएर अभिव्यक्ति दिनुले नेपालमा न्याय मरेको अनुभूति भएको पनि टिप्पणी गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।