सडक दुर्घटनामा परी निधन भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको श्रद्धाञ्जलीका लागि प्रदेश सरकारले उनको पार्थिव शरीरलाई धनगढी रङ्गशालामा राखिएको छ । सुदूरपश्चिमका प्रदेश प्रमुख, सभामुख मुख्यमन्त्री, मन्त्री तथा प्रदेश सभा सदस्यहरूले धनगढी रङ्गशालामा पुगेर श्रद्धाञ्जली दिएका छन् ।
मंगलबार गृह जिल्ला बझाङ जाने क्रममा मन्त्री सिंहको गाडी दुर्घटनामा परेर निधन भएको हो । दुर्घटना लगत्तै उपचारका लागि कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज पुर्याइएका सिंहलाई अस्पतालले मृत घोषणा गरेको थियो ।
उनको शव मंगलबार राति नै धनगढी ल्याइएको हो । धनगढीमा श्रद्धाञ्जली सभापछि अन्त्येष्टिका लागि गृह जिल्ला बझाङ लगिने पारिवारिक स्रोतले जनाएको छ । प्रदेश सरकारले आज बुधबार प्रदेशभर शोक बिदा दिएको छ । मंगलबार राति ९ बजे प्रदेशको आकस्मिक रूपमा बसेको मन्त्रीपरिषद् बैठकले बुधबार शोक बिदा दिने र राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको हो ।
मन्त्री नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला बझाङ जाने क्रममा मन्त्री सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडानजिकै दुर्घटना भएको थियो । सँगै दुर्घटनामा परेका मन्त्री पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको बझाङको स्थानीय देउरा प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको थियो ।
उनीहरूको शव मंगलबार साँझ सदरमुकाम चैनपुर पुर्याएर जिल्ला अस्पतालमा राखिएको छ । मन्त्री सिंहसहित उनको परिवार चैनपुरस्थित घरको प्रतिष्ठा पूजा र ढडार मष्टाको पूजा गर्न सोमबार धनगढीबाट हिँडेका थिए । दिवङ्गत सिंह दम्पतीका दुई छोराबुहारी र दुई नातिनातिना छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।