Fri, 22 Mar, 2019


ओलम्पियन दीपक विष्टकोे शिवरात्री सम्झनाः भाङ हालेको लड्डु खाएर चार दिन सुतेँ
दीपक विष्ट
फरकधार / फागुन १९, २०७५
दीपक विष्ट । तस्वीर: विष्टकाे फेसबुकबाट ।

काठमाडौं– यो २०५० सालको कुरा हो । स्कुल सकेर कलेज पढ्ने तम्तयारी साथ म महेन्द्रनगर झरेको थिएँ । एकजना पार्टनरसँग मिलेर मैले कोठा लिएँ । 

शिवरात्री आउँदा म त्यो वर्ष सम्झिन्छु, त्यो वर्षको जस्तो शिवरात्री न त्यसअघि कहिल्यै भयो, न त्यसपछि नै ।

शिवरात्रीको दिन बिहान घरबेटी दिदीले लड्डु दिनुभयो । गुलियो भनेपछि मरिहत्ते गर्थेँ म । झन्, लड्डु त मेरो प्रिय खानेकुरा थियो । घरबेटी दिदीले दिनु भएको लड्डु मैले कपाकप खाएँ । तर, त्यो अरु दिन खाएजस्तो लड्डु भएन । लड्डु खाएको केहीबेर मात्र भएको थियो, मैले वरपर सबै घुमेको देख्न थालेँ । सारा ब्राम्हाण्ड नै घुम्न थालेको थियो, कोठाको छत घुमेको थियो, भुइँ घुमेको थियो । कोठाका सारा वस्तु घुमेका थिए ।

आफू वरपर सबै कुरा घुमेको महसुस भएपछि म निकै आत्तिएँ । अनि चर्को स्वरमा चिच्याएँ पनि । 

हुन पनि कस्तोसम्म भएको थियो भने म आफू ट्वाइलेट पनि जान सकेको थिइनँ, रुम पार्टनरले हातमा समातेर लगेको थियो । 

एकछिन वा त्यो दिन मात्र होइन, चार दिनसम्म सारा पृथ्वी घुमिरह्यो मेरा लागि फनफनी । 

पाँचौँ दिन थाहा पाएँ– मलाई दिइएको लड्डुमा त भाङ पो मिसाएको रहेछ ! यो कुरा मेरो साथीलाई थाहा रहेछ ! तर, मलाई लड्डुमा भाङ मिसाउँछन् भन्ने थाहा थिएन । 

पहिले गाउँमा लड्डुमा भाङ मिसाउने चलन नै थिएन । गाउँमा त हामी शिवरात्रीमा धुनी बालेर बस्थ्यौँ । सबैजना एकै ठाउँमा भेला भएर आगो ताप्थ्यौँ । मलाई शिवरात्री यति ठूलो चाड हो भन्ने त्यति बेला लागेको नै थिएन । रमाइलोका लागि आगो ताप्यो, बस्यो । सकियो भन्ने लागेको थियो ।

महेन्द्रनगरमा भाङ मिसाएको लड्डु खाएर चार दिन लड्दा पनि मलाई शिवरात्री भन्ने यति ठूलो चाड हो भन्ने नै थिएन । तर, जब काठमाडौं आएँ, शिवरात्रीबारे मेरो सोच बदलियो । 

म २०५१ सालमा काठमाडौं आएँ । अनि थाहा पाएँ– शिवरात्रीमा त सबैजना पशुपतिनाथ जाँदा रहेछन् । अनि बल्ल मलाई पशुपतिनाथ ठूला देवता हुन् भन्ने बोध भयो । त्यसमाथि घरबाट बुबाआमाले पनि भन्नुभयो– काठमाडौंमा भएको मान्छे, पशुपति गए हुन्छ नि । 

बुबाआमाको निर्देशन र शिवरात्री ठूलो चाड हो भन्ने बोध भएकाले म काठमाडौंमा छु भने शिवरात्रीमा एकपटक पशुपति पुगेरै छाड्छु । किन पनि भने पहिलो पटक पशुपति पुग्दाको सम्झना मेरो दिमागमा ताजै छ । हो, मैले पूरै रात पशुपतिमा बिताएको त छैन तर त्यहाँ जति समय बसिन्छ, त्यति रमाइलो नै हुँदो रहेछ ।

तर, कहिलेकांही खेल्न विदेश वा काठमाडौं गएको समयमा पशुपति मिस हुँदो रहेछ । मनको कुनामा आज त चाड हो नि भन्ने पर्दो रहेछ । यसपटक पनि मैले शिवरात्रमिा पशुपति मिस गर्ने भएँ । नेपालगन्जमा भएकाले यहाँको बागेश्वरी मन्दिर दर्शन गर्न जाने कार्यक्रम चाहिँ बनेको छ ।

यो रमाइलो सँगसँगै पछिल्लो समय शिवरात्रीमा युवाहरुबीच बढ्दै गएको विकृतिका कारण चाहिँ म निराश पनि छु । कतिले त शिवरात्री भनेको गाँजा खाने दिन हो भनेर चित्रण गर्छन् । मलाई चाहिँ आफ्नो स्वास्थ्यमा असर गर्ने गरि कुनै पनि चाड मनाउनु पर्छ जस्तो नै लाग्दैन । महादेवको प्रसादको नाम दिएर अहिले बढिरहेका विकृति मलाई फिटिक्कै मन पर्दैन । 

फेरि के पनि हो भने शिवरात्रीमा महादेवको प्रसाद भनेर गाँजा, भाङ खाँदा शिवजी खुसी हुन्छन् भन्ने छैन नि ! 

चाडवाड त आस्था र श्रद्धाका कारण मनाउने पो हो त, किन आफ्नै शरीरलाई हानी गर्नु ? 



यो पनि नछुटाउनुहोस्