संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री सुदन किरातीले नेपाल र चीनबीचको सम्बन्ध ऐतिहासिक रहेको बताएका छन् । फेस्टिभलले दुई देशबीचको सम्बन्धमा थप इट्टा थपेको उनले बताए ।
नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दुतावास र पोखरा महानगरको आयोजनामा पोखरामा आजदेखि सुरु भएको नेपाल—चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस फेस्टिभल’को उद्घाटन गर्दै उनले दशकौँदेखिको सम्बन्ध हालसम्म सुमधुर रहँदै आएको बताए ।
पर्यटकीय नगरी पोखरामा आयोजित मैत्रीपूर्ण यस महोत्सवले दुई देशबीचको सांस्कृतिक र जनस्तरको सम्बन्धलाई समेत थप प्रगाढ बनाउने उनले विश्वास व्यक्त गरे । उनले चीनसँग सम्बन्ध बलियो बनाउन फेस्टिभलले नयाँ सूत्रपात निर्माण गरेको भन्दै चिनियाँ नागरिकलाई नेपाल घुम्न आउन आग्रह गरे ।
‘आदरणीय चिनियाँ नागरिकलाई म नेपाल घुम्न आउन निम्तो गर्न चाहन्छु, नेपालमा तपाईहरुलाई स्वागत र सम्मान गर्न हामी आतुर छौँ’, मन्त्री किरातीले भने, ‘तपाईंहरु नेपाल घुम्न आइदिनुहोस् ।’
मन्त्री किरातीले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको समेत स्पष्ट पारे । इतिहासमा चीन र भारतको व्यापारिक नाका रुपमा स्थापित पोखरामा भव्यरुपमा महोत्सवमा ड्रागन बोट फेस्टिभल सम्पन्न हुन लागेको उनको भनाइ छ ।
नेपालका लागि चिनियाँ राजदुत छन् सोङले नेपाल र चीनबीच लामो समयदेखि आर्थिक सामाजिक तथा सांस्कृति सम्बन्ध रहेको बताउँदै ‘ड्रागन बोट रेस फेस्टिभल’ दुईदेशबीचको आपसी सम्बन्ध एवं जनस्तरको सम्बन्ध अझै बलियो बन्ने विश्वास व्यक्त गरे।
पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले ‘ड्रागन बोट रेस फेस्टिभल’ पोखरामा हुनुलाई आफूहरूले महत्वपूर्ण रुपमा लिएको बताउँदै यसले आगामी दिनमा पोखरामा चिनियाँ पयर्टकको आगमन बढ्ने विश्वास व्यक्त गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।