संस्कृत ज्ञान र विज्ञानको आदि स्रोत हो । आजका जति पनि विषय र क्षेत्र छन्, ती विषय क्षेत्रको आदिस्रोत खोज्न संस्कृत वाङ्मयमा नै पुग्नुपर्दछ । किनकि संस्कृत भाषा मात्र होइन, जीवन र जगत्का समग्र पक्षको ज्ञानको अथाह भण्डार पनि हो । संस्कृत पढ्नु कर्मकाण्ड गर्नु, पुराण भन्नु ज्योतिषीय फलादेश गर्नु मात्र होइन ।
कला, सहित्य, संस्कृति, सभ्यता, भूगोल, खगोल, इतिहास, दर्शन, राजनीति, वाणिज्य, चिकित्सा आदि हरेक क्षेत्रमा दख्खल राख्न सक्नु हो । संस्कृत भिन्न विषय र क्षेत्र आज केही पनि छैन । हरेक विषयवस्तुको आदिस्रोत संस्कृत नै हो । चाहे भाौतिक होस् चाहे आध्यात्मिक । हरेक विषयवस्तुको खोज गर्दा सर्वप्रथम वेदमै पुग्नुपर्ने हुन्छ । किनकि सबैभन्दा पुरानो प्रामाणिक ग्रन्थ नै वेद हो ।
आज जति पनि ज्ञान र विज्ञानका आविष्कार भएका छन् ती सबै वेदकै उपज हुन् । कला, साहित्य एवं संगीत हरेक क्षेत्रको विकासमा संस्कृतको अतुलनीय योगदान रहेको छ । भाषा, संस्कृति र सभ्यताको जननी पनि संस्कृत नै हो । सत्यको मार्गमा हिँड्न सर्वप्रथम वेदले नै सिकाएको छ । संगीतको आदि स्रोत सामवेद हो । यज्ञादि कर्मकाण्डको विधान यजुर्वेदमा वर्णित छ । स्थापत्य वेद वास्तुकलाको आद्यग्रन्थ हो । धनुर्वेदमा युद्धकला पाइन्छ भने आयुर्वेदमा चिकित्साशास्त्र ।
यसैगरी शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्द, ज्योतिष पनि संस्कृृत वाङ्मयकै विशिष्ट विधा हुन् । राजनीतिको गुरु ग्रन्थ महाभारत हो, कौटिल्यको अर्थशास्त्र, विदुरको नीतिशास्त्र आज पनि जीवन उपयोगी सिद्ध भइरहेका छन् । वेदबाट अनुप्राणित उपनिषद्ले ज्ञानको मार्गलाई विशाल तुल्याएका छन् ।
साहित्यको आदि स्रोत पनि वेद नै हो । वेदपछि रामायण, महाभारत, पुराणहरू विकासक्रमका हिसाबले देखा पर्दछन् । महाभारत विश्वको सबैभन्दा ठूलो महाकाव्यात्मक कृति हो । जहाँ हरेक विषयवस्तुको वर्णन पाउन सकिन्छ । वेदकै ज्ञानकाण्डका रूपमा उपनिषद्हरू स्थापित छन् । उपनिषदीय ज्ञानबाट नै आजको विज्ञानको पनि जन्म भएको हो ।
संस्कृत शिक्षाले कर्म गर्न सिकाउँछ । फलको आशारहित कर्म नै निष्काम कर्म हो । निष्काम कर्म गर्नु भनेको नै योगी हुनु हो । योगी हुनु नै इह (स्वर्ग) लोकको मोक्षत्व प्राप्त गर्नु हो । जुन कुरा गीतामा उल्लेख पाइन्छ ।
चराचर जगत् पाञ्चभौतिक पदार्थले बनेको कुरा विज्ञानले भर्खर भेटाउँदै छ । जुन कुरा पृथ्वी, जल, तेज, वायु र आकाशका रूपमा जैमिनि ऋषिले हजाराँै वर्षपहिले नै व्याख्या गरिसकेका छन् । पौरस्त्य न्यायदर्शनबाट नै कानूनका सूत्रहरू आएका हुन् । यसैगरी कानूनको थप विकासमा धर्मशास्त्रको पनि भूमिका पाइन्छ । मनुस्मृतिबाट राज्य सञ्चालनका नियम कानून बनेका हुन् ।
न्यायदर्शनका तर्क नै आजका कानुनका मूल मान्यता हुन् । समयको विकाससँगै नयाँ पन थपिनु स्वाभाविक नै हो, तर इतिहासविहीन संसार हुनु असम्भव छ । मानव पनि पूर्खाको बीज लिएर बाँचिरहेको हुन्छ । जति आधुनिक बन्न खोजे पनि इतिहासको बीज धरातलमा नै ऊ उभिएको हुन्छ भन्ने कुरा संस्कृत वाङ्मयका ग्रन्थहरूले बताएका छन् ।
आजको ज्ञानलाई जान्नु छ भने हिजोको विज्ञानलाई पनि नियाल्नुपर्ने हुन्छ । संसारमा नयाँ भन्ने कुरा केही पनि छैन । जुन हिजो प्रयोगमा आएको थिएन, त्यो आज प्रयोग हुँदा नवीनताको आभास मात्र हुने हो । खिया लागेको खुुकुरीलाई धार लगाउँदैमा नयाँ खुकुरीको आविष्कार गरँे भन्नु उपयुक्त हुँदैन । अतः संसारिक हरेक विषयवस्तुको जननी संस्कृत हो । संस्कृत वाङ्मयले नभनेका विषयवस्तु केही पनि छैनन् । आजको विज्ञानले पनि संस्कृत भाषा आमसम्पर्कको भाषा हुन सक्ने कुरा निष्कर्ष दिँदै आएका छन् ।
संस्कृत वाङ्मयमा कला छ, केही गरेर जीविकोपार्जन गर्नुपर्छ भन्ने ज्ञान राशि अन्तर्निहित रहेको छ । संस्कृत वाङ्मयले अशावादी हुन सिकाउँछ । भौतिक दर्शनको जननी पनि संस्कृत नै हो । चार्वाकको भौतिकवादी दर्शनमा रुमल्लिनु व्यर्थ छ । माक्र्स पनि तिनै चार्वाकका चेला हुन् । आशावादी जीवन पद्धति सर्वोत्कृष्ट हो, भन्ने कुरा पूर्वीय दर्शनको परं मन्त्र हो । भौतिक सुख क्षणिक हुन्छ । आत्मिक सुख नै चिरस्थायी हुने भएकाले आत्मिक आनन्दमा लाग्न वेदले प्रोरित गरेका छन् ।
चार्वाकका भौतिकवादी चिन्तनको चपेटामा परेर अशान्तिको आगोमा विचलित बन्नु हाम्रै कमजारी हो । यसैले सभ्यताको पाठ सिकाउने आदि गुरु पनि संस्कृत नै हो । व्यक्ति र समाजलाई आवश्यक पर्ने हरेक विषयवस्तुको ज्ञान संस्कृत शिक्षाबाट पाउन सकिन्छ । चाहे भाषाविज्ञान होस् चाहे चिकित्साक्षेत्र । चाहे ज्ञान विज्ञान होस् चाहे संस्कृति र सभ्यता ।
आयुर्वेद पद्धतिबाट निरोधात्मक (रोग कम गर्ने) होइन, निदानात्मक फेरि रोग नलाग्ने) उपचार गरिन्छ । आजको आधुनिक ओषधिले निरोधात्मक मात्र उपचार गर्छ, जो क्षणिक हुन्छ । निदानात्मक उपचार पद्धतिले रोगलाई जरैदेखि निर्मूल पर्ने काम गर्दछ । आजको डाक्टरी विद्या यही आयुर्वेदीय परम्पराको विकसित रूप हो । चरक र सुुश्रुत नै सम्पूर्ण चिकित्सा जगत्का जननी हुन् । आयुर्वेदलाई उपवेद पनि भनिएको छ ।
खगोलीय एवं भूगोलीय ज्ञान ज्योतिष शास्त्रअन्तर्गत अध्ययन हुने गर्दछ । खोगोलीय एवं भूगोलीय परिगणना ज्योतिषका प्रत्येक ग्रन्थमा व्याप्त पाइन्छ । दिशा, स्थान, कालको निर्धारणका साथै सूर्योदय, सूर्यास्त, औँसी, पूर्णिमा, ग्रहण, अयनपरिवर्तन, ऋतुपरिवर्तन आदि सम्पूर्ण तथ्यको ज्ञान ज्योतिष शास्त्रको अध्ययनद्वारा पाउन सकिन्छ । यसैगरी मौसम विज्ञानको चर्चा ज्योतिषको संहिता शास्त्रमा उल्लेख छ । ग्रहका आधारमा भूत वर्तमान र भविष्यको फल बताउने ज्योतिषको जातकशास्त्रले प्रदान गर्दछ ।
यसैगरी भूगोलको अवस्थितिअनुसार आकाशमा रहेका ग्रहहरूको कोणीय स्थिति पत्ता लगाउने, पञ्चांग निर्धारण, ग्रहणगणना आदि गणितका यावत् पक्षहरू सिद्धान्त ज्योतिषमा अन्तर्निहित छन् । आकाशीय ग्रहहरूको अध्ययन अवलोकन गरी हाम्रा ऋषि महर्षिहरूले हजारौँ वर्षपहिले दिएको ज्ञान नै आजको खगोल विज्ञान हो । गणितको जननी पनि वेद नै हो । वेदमा बताइएका संख्यात्मक मानको रूप नै आजको गणित विधा हो । व्यक्त अव्यक्त गणित नै आजका अंकगणित र बीजगणित हुन् । जसको व्याख्या ज्योतिषशास्त्रले गरेको छ ।
आकाशीय ग्रहहरूको अध्ययन अवलोकन गर्ने पद्धतिको विकास पनि संस्कृत शिक्षाबाट नै भएको हो । किनकि वेदमा सूर्यादि ग्रहहरू र ग्रहणको पनि चर्चा गरिएको पाइन्छ । सूर्यले वर्षमा ३६० अंश(डिग्री) पार गर्छन् भन्ने कुरा आज भन्दा हजारौँ वर्ष पहिले नै पत्ता लागेको हो । ज्योतिषको सबैभन्दा पुरानो ग्रन्थ सूर्यसिद्धान्त हो ।
वास्तु पूर्वीय वाङ्मयकै उपज हो । आज वास्तु शास्त्रको महत्त्व दिनानुदिन बढिरहेको छ । गृहवास्तु, भूमिवास्तु आदि वास्तुका थुप्रै भेदहरू छन् । जुन हामीलाई आवश्यक परिरहेका हुन्छन् । घर बनाउँदा कस्तो कसरी कुन ठाउँमा बनाउने भन्ने कुरा वास्तुअन्तर्गत जान्न सकिन्छ । आजको इञ्जिनिनयरिङ यही वास्तुको उपज हो । ज्योतिष शास्त्रअन्तर्गतको वास्तु शास्त्रले भूमिदेखि घरका हरेक स्थान र क्षेत्रको अवस्थितिका बारेमा सही दिशानिर्देश गर्दछ ।
योग संस्कृत वाङ्मयकै देन हो । पूर्वीय षड्दर्शन (६ दर्शन) मध्येको एक योगमा शारीरिक स्वास्थ्यका साथै पारलौकिक आनन्द पनि पाउन सकिन्छ । स्वस्थ बनेर पारलौकिक मोक्षका निम्ति पनि योगको आवश्यकता पर्दछ । योगले शरीरलाई स्वस्थ राख्नुको साथै चित्तवृत्तिको समेत निरोध गर्ने गर्दछ । आजका थेरापी विद्या यही योगकै एक अंग हो ।
आज प्राकृतिक चिकित्सा पद्धति पनि निकै प्रयोगमा आइरहेको छ । संसार प्रकृतिमै अडिएकाले प्रकृतिमार्फत् नै उपचार गर्ने पद्धति यसअन्तर्गत पर्दछ । जुन आयुर्वेदको एक हाँगो हो । जसलाई नबुझी प्राकृतिक चिकित्सा बुझ्न गाह्रो हुन्छ । हामी संस्कार र संस्कृतिमा धनी छौँ । जन्मदेखि मृत्युसम्म हामी षोडश (१६) संस्कारमा आबद्ध भएका छौँ । संस्कृति हाम्रो गहना हो ।
संस्कृत भाषा संस्कृति र सभ्यताकोे मूल हो । भाषाहीन मानव हुँदैन । जसको जननी संस्कृत हो । संस्कृत भाषा जति व्यवस्थत छ, अरू भाषा छैन । भाषालाई व्यवस्थित गर्ने कार्यममा संस्कृतका पाणिनिको अतुलनीय योगदान रहेको छ । वेद विश्व मानव कल्याणका निम्ति प्रतिपादित ग्रन्थ हो । संसारको कल्याणका कुरा वेदमा अन्तर्निहित छन् । मानव जीवनलाई सभ्य र भव्य बनाउन वेदविहित कर्म आवश्यक पर्दछन् । इतिहास, कला, संस्कृति, भाषा, साहित्य, ज्ञान विज्ञान हरेक विषयवस्तु वेदविहित छन् । अर्थात् भनौँ संसार नै वेद हो । हरेक विषयवस्तुको इतिहास खोज्दै जाँदा वेदमै पुग्नु पर्ने हुन्छ । वेद संस्कृत वाङ्मयको गुरु ग्रन्थ हो । जसले सिकाएका कर्म नै हाम्रा संस्कृति, सभ्यता र रीतिरिवाज हुन् । जसले हामीलाई यो लोकको भुक्ति र परलोकपश्चात् पनि मुक्तिको ज्ञान सिकाएको छ ।
माया, प्रेम र सद्भाव बाँड्न सिकाएको छ । अनि कर्म को मैदानमा होमिएर इह (पृथ्वी) लोकको भुक्ति (भोग)का साथै परलोेकको समेत मुक्तिको कामना गरेको छ । संस्कृतको ज्ञान नै विज्ञानको जननी भएकाले पनि संस्कृत वाङ्मय आफूमै परिपूर्ण छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।