नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धनले चित्त बुझ्ने गरी काम नगरे गठबन्धन फेरिने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन् ।
उनले गठबन्धन ठिक ढंगले चलने र चित्त बुझेन भने गठबन्धन फेर्ने कुरा नौलो नभएको बताए । उनले नेपाली कांग्रेसले सरकार छोड्नुपर्छ की भन्ने डरले चुनावअघि नै गठबन्धन गर्नु गलत भएको बताए । उनले सरकार छोड्नुपरे पनि नडराईकन एक्ला एक्लै चुनाव लड्न कांग्रेसले सक्नुपर्ने बताए ।
उनले भने, ‘हामी अहिले एक गठबन्धनमा छौँ, गठबन्धन ठीक ढंगले गएन, चित्त बुझेन भने गठबन्धन बदलिन्छ । नयाँ सरकार बन्छ, कुनै अनौठो कुरा भएन । बन्छ, भत्किन्छ भइराख्छ ।’
महामन्त्री थापाले गठबन्धन फेरिनु र नयाँ सरकार बन्नु कुनै नौलो कुरा नभएको जिकिर गरे । उनले समाजवादी मोर्चामा अझै नेकपा एमाले पनि थपिएर कम्युनिस्टहरू एकै ठाउँमा भए पनि कांग्रेसलाई फरक नपर्ने बताए । उनले संसदमा समानुपातिक निर्वाचन प्रणाली नराख्न आग्रह गरे ।
‘अब नेपाली कांग्रेसले छलफल गर्ने बेला आएको छ । यो गठबन्धन, जताततै प्रदेशमा तल,माथि सबैतिर गठबन्धन किन भइरहेको छ ? यसको एउटा कारण भनेको हाम्रो निर्वाचन प्रणाली हो । हामीले यस्तो निर्वाचन प्रणाली किन बनायौँ ? मिसिएको निर्वाचन प्रणाली हामीले संसद समावेशी बनाउन बनाएका हौँ’, उनले भने, ‘हाउस समावेशी बनाउने अरू तरिका पनि छन् । हाम्रो हाउस समावेशी बनाऔँ, तर निर्वाचन प्रणाली बदलौँ । अब यो समानुपातिक निर्वाचन प्रणाली कम्तीमा लोअर हाउसमा नराखौँ । महिला, दलित, मधेसी कसरी जाने भन्न सकिन्छ, महिलाका लागि निर्वाचन क्षेत्र तोकौँ । सकिन्छ नि । समाजका समस्याको चिन्तनका केन्द्रमा नेपाली काँग्रेसलाई ल्याउनुपर्छ । काँग्रेसले आकर्षण गरोस् ।’
महामन्त्री थापाले समाजका समस्याको चिन्तनका केन्द्रमा नेपाली कांग्रेसलाई ल्याउनुपर्ने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।