logo-img

जसले अक्षरभन्दा पहिले 'आर्ट' सिके

हामी सबैले कलम समाउन सक्ने भएपछि सबैभन्दा पहिले के सिक्यौँ होला ? पक्कै पनि कसैले कि कखग...लगायत नेपाली अक्षर सिक्यौँ होला कि एबिसिडीलगायत अंग्रेजी वर्णमालाका अक्षर । तर, कसैले यस्ता वर्णमालाका अक्षरभन्दा पहिले नै चित्रकला सिक्न सम्भव होला कि नहोला ? केटाकेटीले धुलोमा कोर्दा आफैँ केही आकृति  त बन्न सक्छ, तर त्यो अमूर्त हुन्छ । एकाध व्यक्तिहरूलाई भने समय र परिवेशले बाल्यावस्थामै कलाकार बनाइसक्ने रहेछ, त्याे पनि कसैले नसिकाई स्वतस्फूर्त  । 

यिनैमध्ये एक हुन्, उनी । उनी अर्थात् सूर्य लामा । हामीले बच्चा बेलामा जसरी अक्षर लेखेर ज्ञान लिन सुरु गर्छाैं। तर सूर्यको ज्ञान आर्टबाट सुरु भएको रहेछ । उनलाई याद भएसम्म जति आर्टका लागि मिहिनेत गरेका छन्, त्यति अक्षरका लागि कहिल्यै गरेका छैनन् ।

सानैदेखि चित्र बनाउन रमाउने सूर्यलाई कहिलेबाट आफू यसतर्फ लागेँ भन्ने यकिन जानकारी छैन। उनले थाहा पाउँदा रुचि चित्र बनाउनेमै थियो । सानोमा अन्य साथीभाइसँग गोठालो जाँदा उनी खोला किनारको बालुवा होस् या माटो त्यहाँ विभिन्न आकृतिहरू कोर्दथे । 

ललितपुरको विकट गाउँ कोन्ज्योसोम गाउँपालिका–२ मा जन्मिएका सूर्यको परिवार सामान्य थियो। घरको कान्छो छोरा दिए, उनी । बा–आमाको एउटै चाहना थियो – छोराले राम्रो पढिदियोस्, ठूलो मान्छे बनोस्। 

तर, बा–आमाको इच्छाभन्दा विपरीत स्वभावका थिए, उनी।  उनी बालापनका याद सुनाउँछन्, ‘मलाई पढ्न लेख्न भनेपछि दाँतबाट पसिना आउँथ्यो। मैले कहिल्यै पनि पढिनँ। पढाइमा कहिल्यै सिरियस भइनँ। र, त परीक्षामा सधैँ फेल हुन्थेँ।’



उनीसँग परिचय हुनुपूर्व एक दिन उनको कला हेर्ने अवसर जुर्यो । जहाँ एउटा रुमलाई क्यानभास बनाइएको छ। जहाँ हिमाल, पहाड, परम्परागत घर, चौँरी– यस्ता थुप्रै मूर्त आकृति छन्। ढोकाभित्र पस्नेबित्तिकै मेरा आँखा एक टकले अडिए, यी दृष्यमा। महसुस भयो, म कुनै सहरमा होइन, नेपालको कुनै÷पहाडमा पुगेको छु।  



यी भित्ताको कलात्मक चित्र सिर्जना गरिरहेका व्यक्तिको बारेमा जान्ने कौतुहलता जाग्यो, ममा। त्यतिखेर एकदमै व्यस्त थिए, उनी। उनको नाम रहेछ– सूर्य लामा। ऊ बेला नामभन्दा बढी जान्ने मौका पाइनँ। मेरो प्रश्नको जवाफ दिने मुडमा थिएनन्, उनी। उनको नम्बर लिएर फेरि कुनै फुर्सदको समयमा कुरा गर्ने वाचासहित म बिदा भएँ। करिब तीन हप्तापछि समय मिल्यो, उनीसँग भलाकुसारी गर्ने । यतिखेर पनि एकदमै व्यस्तताका बाबजुद थोरै समय निकालेका थिए।

भेट हुने बित्तिकै, मैले मेरो मनमा उठेका प्रश्नका जवाफ खोज्ने तर्फ लागिहालेँ– तपाईं त एकदमै राम्रो आर्ट गर्नुहुँदोरहेछ, आर्ट गर्न थाल्नुभएको कति भयो?
‘अक्षरभन्दा पहिले मैले आर्ट गर्न सिकेँ’ मेरो प्रश्न नटुंगिँदै उनले जवाफ फर्काइहाले। 

बच्चैदेखि आर्ट उनको तन, मन, मष्तिस्कमा बसेको थियो। नशा नसामा दौडिरहन्थ्यो। यहाँसम्म कि परीक्षामासमेत चित्र मात्र कोरेर कापीका पाना भरेर आउँथे रे उनी ।  

ती दिनका किस्सा सुनाउँदै भने, ‘६–७ कक्षाको कुरा हो। वातावरणको परीक्षा थियो। वातावरणसम्बन्धी चित्र बनाउनुहोला भनेर एउटा प्रश्न आयो। अरू के–के प्रश्न छन् भनेर मलाई मतलब पनि भएन। मेरो इच्छाअनुसारको एउटा प्रश्न भेटिहालेँ। त्यसपछि घोडाबाट चित्र कोर्न थालेको मैले घर, रुखलगायतका मलाई मन पर्ने सबै चित्र कोरेँ।’ 

अरू दिन खाली रहने कापीका पाना, त्यो दिन सबै भरे । तीन घण्टाको समय सकिएको मलाई उनलाई भएन। समय सकिएपछि  शिक्षकलाई कापी बुझाएर घर फर्किए । त्यो दिन उनी निकै खुसी थिए, प्रफुल्लित पनि। त्यो दिन उनलाई लागेको थियो रे– यो वर्ष म फेल हुदिनँ। 

तर, जब रिजल्ट आयो। उनी त्यो वर्ष पनि फेरि फेल भए। प्रधानाध्यापक सरले त उनलाई अफिसमा बोलाएर उभ्याएर प्रश्नको पहाड खडा गरिदिए । किन अरू प्रश्नको उत्तर नलेखेको? किन यति राम्रो चित्र बनाउन सक्नेले अरू प्रश्नको जवाफ नलेखेको? आदि इत्यादि।  सरले जति प्रश्न गरेपनि एक शब्द बोलेनन्। 

सरले जति भने पनि उनी सुध्रेनन्। बुबाले लेख्नलाई भनेर दुई रुपैयाँको कापी किनिदिन्थे। उनी चित्र मात्र कोरेर सकाउँथे। 

उनी ती दिन सम्झन्छन्,‘जिन्दगीमा चित्र कोर्न जति जोस कहिल्यै केहीमा आएन। बुबाले लेख्नलाई कपी किनिदिनु हुन्थ्यो। तर, म चित्र बनाएर सकाइदिन्थेँ। विद्यालयबाट फर्किंदा बुबाले देख्नुहुन्छ कि भनेर बनाएको चित्र खोलामा बगाएर घर फर्किन्थेँ।’

आर्टमा सधैँ फस्र्ट हुने उनी पढाइमा भने सधैँ लास्ट। जति सम्झाइ बुझाइ गर्दा पनि परिवर्तन नदेखेपछि बा–आमा, शिक्षकले पनि यो यस्तै हो भनेर केही भन्न छाडे। 
जसोतसो कक्षा १२ सम्म म्यानेजमेन्ट लिएर पढे। त्यसपछि पढाइ छाडे। करिब दुई वर्ष पछि आर्ट पढाइ हुन्छ भन्ने थाहा पाए। त्यसपछि आर्ट पढ्ने निधो गरेर ०६०–०६२ तिर लतिकला क्याम्पसमा मेजर फाइन आर्ट लिएर ब्याचलर गरे।  

कलेज जोइन गरेसँगै उनीभित्रको कला अझ निखारिएर आयो। आर्टकै सिलसिलामा उनले विभिन्न देश, विदेश घुम्ने मौका पनि पाए। बच्चैदेखिको सोखलाई पूरा गर्दै गए। 

जे देखे पनि उनले जस्ताको उस्तै उतार्ने क्षमता थियो, उनीमा। ‘म बुकको पहिलो कभर होस् या जेसुकै । जस्ताको तस्तै उतार्थें,’ उनी अनुभव साट्छन्, ‘कुन चैँ ओर्जिनल हो भनेर मानिसलाई मैले बनाएको चित्र छुट्याउनै मुस्किल पथ्र्यो। धेरैजना झुकिन्थे।’

एक दिनको कुरा हो। ३३ वर्षका सूर्य बजार भर्न काठमाडौंको वसन्तपुर पुगे। त्यतिखेर त कहाँ हो भेर थाहा पनि थिएन। तर, अहिले सम्झँदा त्यो वसन्तपुर रहेछ। त्यहाँ एउटा आर्ट ग्यालरी पसल थियो। पसल बाहिर एउटा पौवा थांका आर्ट देखे । ‘त्यो आर्ट मलाई एकदमै मन पर्यो। ३० मिनेटसम्म मैले त्यो आर्टलाई एकोहोरो हेरिरहेँ। मैले त्यसरी हेरेको देशेपछि पसले दाइले पसलभित्रै बोलाएर सबै आर्ट हेर्न दिए । 

उनी त्यतिखेर सानै थिए, गाउँबाट आएको। यो के हो? कसरी बनाइन्छ भनेर सोध्ने आँटै थिएन। ‘अहिले भएको भएचैँ म सोध्थेँ,’ हाँस्दै उनले भने। 
यसरी उनले कुनै पनि चिजलाई केहीबेर हेरेपछि जस्ताको तस्तै चित्र उतार्ने खुबी उनीमा थियो। उनले सबैभन्दा पहिला घोडाको चित्र ‘ए फोर पेपर’मा कोरेर बिक्री गरेका थिए रे। त्यति पनि ४ सयमा। उनको यो नै पहिलो कमाइ थियो। ‘त्यति बेला ५ रुपैयाँमा मःम आउँथ्यो। ४ सय भनेको धेरै ठूलो रकम हो। यसरी पैसा आउन थालेपछि त सधैँ बनाएर बिक्री गर्न थालेँ,’ उनले भने। 

सुरु–सुरुमा त बजार पाउन पनि एकदमै मुस्किल। एक दिनमा १२–१३ वटा चित्र कोर्थे र बेलुका–बेलुका ठमेल एरियामा ग्यालरी पसल–पसलमा बिक्री गर्दै हिँड्नुपर्ने बाध्यता थियो। तर, पछिल्लो समय समय फेरिएको छ। 

उनले बनाएको चित्रको मूल्य यति नै भन्ने छैन। उनी भन्छन्, ‘क्यानभास चित्रको महत्व बुझ्ने ग्राहकले कलाको उचित मूल्य दिएका छन्।’

‘क्यानभास चित्रको साइजअनुसार नै मूल्य पर्छ,’ उनी भन्छन्,‘पहिलेको तुलनामा अहिले आफ्नो सीप, कला र पौरख भएमा स्वदेशमै बसेर पनि स्वरोजगार भई जीविकोपार्जन गर्न सकिनेछ।’

उनले डेढ सयदेखि ११ लाख सम्म एउटै आर्टको मूल्य लिएका छन्। ‘नेपाली याक, माउन्टेन, कल्चरलाई लिएर आर्ट बनाएको थिएँ। नेदरल्याण्डस्का एक विदेशीले किन्नुभएको थियो। त्यो नै सबैभन्दा बढी मूल्यमा बिक्री गरेको थिएँ,’ उनले भने। 

विशेष गरेर उनी समसामायिक लाइभ आर्ट गर्छन्। पछिल्लो समय ग्यालारी आर्टभन्दा पनि वाल आर्टमा व्यस्त छन्, उनी। नेपालमा पनि कलाप्रति सर्वसाधरणको रुचि बढ्दै गइरहेको उनको ठम्याइ छ।

दर्जनौँ विद्यालयस्तरीय, जिल्लाव्यापी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सामूहिक कला प्रदर्शनीमा सहभागिता जनाइसकेका छन् । उनका चित्रहरुले स्थानीय बजारको साथै अमेरिका, अष्ट्रेलिया, जापान, युएई, बेल्जियम, बेलायत, क्यानडा, इटाली, स्लोभेनियालगायत देशमा बिक्री भएका छन् ।

‘मलाई आफ्नो कला मान्छेले मन पराउँदा निकै खुसी मिल्यो’ उनी भन्छन् ‘मैले होटेल, निजी घर, सरकारी कार्यालयका भित्तामा आर्ट गरिसकेँ। यही पेसाले मेरो आवश्यकता पूरा भएका छन्, म रमाइरहेको छु।’

प्रकृतिलाई आफ्नो गुरु मान्ने उनी भौगोलिक परिदृश्य, प्राकृतिक सौन्दर्य, मुहार चित्र, थ्री डी भित्तेचित्रका साथै देवीदेउतालगायत विभिन्न वस्तु तथा प्रतीकको चित्रजस्ताको तस्तै उतार्ने गर्छन्। आफ्ना ग्राहकको इच्छा र सोचाइलाई रंगहरुले जीवन भर्ने सूर्र्य भन्छन्, ‘दर्जनौँ रेस्टुरेन्टका भित्ता रंग्याइयो। दर्जनौँ स्कुलका भित्ता पनि रंग्याइयो। सार्वजनिक स्थानका पुराना फोहोर भित्तामा पनि चेतनामूलक धेरै आर्टहरु बनाइयो।’

उनलाई भित्तेकला हरेक ठाउँमा होस् भन्ने लाग्छ। ‘भित्तेकलाले ठूलो समूहमा आफ्नो प्रभाव एकैपटक प्रवाह गर्न सक्छ। सोच बदल्न सक्छ,’ उनी भन्छन्, ‘भित्तेकलामा नयाँ पुस्ताको रुचि बढ्दै गएको छ। व्यावसायिकताको अभ्यास सुरु भएको छ, म आशावादी छु।’

कलाक्षेत्रमा तत्काल प्रतिफल खोजेर अत्तालिन नहुने सुझाब दिँदै उनी भन्छन्, ‘साधना गरिरह्यो भने कसैले न कसैले हामीलाइ हेरिरहेकै हुन्छ । आफ्नो लक्ष्यबाट भाग्नुभएन, एक समयमा सपोर्ट गदिने मान्छे भेटिन्छ, भेटिन्छ। अवसर आउँछ आउँछ।’ 

पछिल्लो समय सूर्र्यको चर्चा एक्कासि ह्वात्तै बढेको छ। ‘मेरो काम मन परेर सबैले मलाई नै खोज्नुहुन्छ। कामको अभावले खाली बस्नुपर्ने अवस्था छैन,’ उनी भन्छन्, ‘कलालाई चिन्न सके नामदाम कमाउन गाह्रो हुँदैन रहेछ भनेर बुझ्दै छु।’

‘मेरो पढाइ नराम्रो भए पनि आर्टमा राम्रो थिएँ। मलाइ चित्र बनाउँदा परमादन्द आउँछ,’ सूर्र्य भन्छन्, ‘कमाइ पनि भइरहेकै छ भनेर सुरुमा पेसामा आएँ, तर भगवान्ले  चित्रकलाको लागि मलाई बच्चैदेखि तयार गरिरहनुभएको रहेछ।’

कलाले मौलिकता बोक्नुपर्छ भन्ने मान्यता राख्ने उनी पर्यटनको विकास भए मात्र नेपाली चित्रकलाको बजार बढ्ने बताउँछन्। हाम्रो देशका प्राकृतिक सुन्दरता र संस्कतिलाई क्यानभासमा उतार्न सकिने बताउँछन्, उनी।

‘अझ भित्तेचित्रकलाको क्यानभास अन्य चित्रकलाको भन्दा ठुलो हुने भएका कारण धेरै कुरा देखाउन सकिन्छ। समाजमा सकारात्मक सन्देश प्रभाव गर्नु हाम्रोे जिम्वेवारी हो,’ उनी भन्छन्, ‘विभिन्न स्थानमा मैले कोरेका रंगहरु छन्, मेरा सिर्जनाहरु छन्, तिनले समाजमा सकारात्मक प्रभाव पारेको छ जस्तो लाग्छ।’

चित्रकला भनेको रङको मेला मात्र होइन, सिर्जनात्मक बौद्धिकता पनि हो ।  चित्रकार बन्न त्यति सजिलो छैन। उनी भन्छन्, ‘हामीले कलर कसरी चलाउने? ब्रस कसरी चलाउने ज्ञान हुनुपर्छ। हामी बाहिर बाट हेर्दा ब्रस घुमाएको मात्र देख्छाैँ। तर, वास्तविकता त्यो होइन। ब्रसको इमोसन कलरको नाइफहरू हुन्छन्। सबै तालमेल मिलाउनुपर्छ।’ 

साथै उनी कलालाई भावनाको अभिव्यक्ति पनि मान्छन्। त्यसैले उनका चित्रहरू भावनात्मक छन्। अनुभूतिको रङलेपनमा आकार थप्दै उनी कतै आस्थाको उदय गर्छन्, कतै श्रमको मूल्य खोज्छन् र कतै प्रेम–प्रीतिको विम्ब खिच्छन्। उनका चित्रहरू यथार्थ प्रतिविम्बको धरातलभन्दा अर्धअमूर्त रङको रूप विन्यासमा प्रस्तुत हुन्छन्। 
कला पारखीका लागि उनले रङहरूको मीठो मिलन र आकृतिहरूको संरचनामा आनन्द प्रदान गर्दछन्। 

  • प्रकाशित मिति : असार ९, २०८० शनिबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया