काठमाडौं– आज महाशिवरात्री । पशुपति क्षेत्रमा निकै घुँइचो छ श्रद्धालुहरुको ।
गौशाला चोकसम्म पनि आज पुग्न सकिँदैन, सहजै । ट्राफिक व्यवस्थापनका लागि यो चोकसम्म गाडीहरु जान त दिइएको छैन तर मानिसहरुको भीड पनि छिचोली नसक्नु पो छ । त्यसैले, स्वयंसेवकहरु भक्तजनको व्यवस्थापन गर्न निकै कस्सिएका छन् ।
बरु आजकै दिनका लागि भनेर पशुपति छिर्न तिलगंगा आँखा अस्पताल, जयबागेश्वरी तथा अन्य ठाउँबाट पनि सहज आवातजावत् गर्न मिल्ने वातावरण मिलाइएको छ ।
एउटा लामो लाइनमा कुनै पट्यार नमानी दर्शनार्थी बसेका छन्, कोही दर्शन गरिसकेर फर्किइरहेका छन् ।
महिला पुरुष दुवै लाइनमा छन्, पशुपतिनाथको दर्शन गर्न आतुर छन् । त्यस्तै आतुर भएर लाइनमा बसिरहेकी छिन्, अम्बिका नेपाल । उनी आफ्नो पालो आउनै लागेकामा खुसी छिन् । ‘विहान पाँच बजेदेखि आएर लाइनमा बसेकी छु,’ साढे नौ बजेतिर उनले भनिन्, ‘यो मेरो पहिलो पटक हो, शिव भगवानलाई पूजा गरेर आफ्नो, श्रीमान् र सन्तानको सुस्वास्थ्य र दिर्घायुको कामना गर्ने छु ।’
अम्बिकालाई पुजाआजामा विश्वास छ । विश्वास छैन त व्रत बस्ने कुरामा छैन । ‘भोकै बसेर शिव प्रसन्न हुनुहुन्छ भन्ने नै लाग्दैन,’ उनी भन्छिन् ।
अम्बिकालाई व्रत बस्नु ठिक होइन भन्ने लागे पनि सावित्री केसी चाहिँ व्रत बस्न थालेको वर्षौ भइसक्यो । ८३ वर्षकी बत्तिसपुतलीकी सावित्री केसी यसपटक पनि व्रत बसेकी छिन् । ‘मलाई थाहा नै छैन मैले व्रत बस्न थालेको कति वर्ष भयो,’ उनले भनिन्, ‘श्रीमान् र आफ्नो परिवारको खुसीका लागि व्रत त बस्नै पर्यो नि ।’
शिवरात्रीको अवसरमा उनले व्रत बस्न थालेको निकै वर्ष भइसकेको छ । उनका श्रीमानको मृत्यु भएको एक दशक भइसक्यो, तर उनले व्रत बस्ने परम्परा तोडिनन् । ‘यो सब प्रभुको लिला हो, मैले व्रत बसिरहेकी छु,’ अनुहारमा थोरै चमक ल्याउँदै उनले भनिन्, ‘म बाँचुन्जेल भगवान शिवको दिनमा व्रत बस्छु ।’
८३ वर्षकी यी आमाको छेवैमा छिन्, २० वर्षकी सरिता गिरी । विहान चार बजेदेखि लाइनमा बसिरहेकी सरिताले दर्शन गर्ने पालो आउनै लागेको छ । ‘यो तेस्रो वर्ष हो,’ उनले भनिन्, ‘राम्रो वरका लागि होइन, परिवारमा राम्रो होस् भनेर हामी व्रत बसेका हौँ ।’ फिस्स हाँसेर सरिताले आफ्नै लागि व्रत बसेको कुरा दोहोर्याइन् ।
सिराहाका रामकुमार ठाकुर पनि १० वर्षयता शिवरात्रीमा व्रत बसिरहेका छन् । ‘आफ्नो, परिवार र श्रीमतीको सुख र शान्तिका लागि व्रत बस्न सुरु गरेको थिएँ,’ उनले भने, ‘१० वर्षयता शिवरात्रीमा पशुपतिनाथ आइरहेको छु, अब पनि आउने छु ।’ ठाकुरसँगै छिन्, उनकी श्रीमती पनि । उनीहरु दुवै जना विहानै पशुपति आएका थिए ।
केही पछाडि लाइनमा छन्, उद्धव दाहाल । ६३ वर्षका उद्धव दाहाल पहिलो पटक शिवरात्रीमा पशुपति दर्शन गर्न आएका हुन् । ‘तर, यो दिन व्रत बस्न थालेको त निकै भइसक्यो,’ उनले भने, ‘भगवानको चरणमा परेपछि मैले सबै पाएको छु, राम्री कन्याका लागि व्रत त बसिनँ, तर राम्री कन्या चाहिँ पाएको छु ।’
पशुपतिमा नेपाली दर्शनार्थी मात्र छैनन्, आज । बेलायतबाट भारत घुम्न आएको एउटा जोडी पनि यहाँ आइपुगेको छ । ‘हामी इन्डियाको ट्रिपमा थियौँ,’ उनले भने, ‘एउटा भारतीय साथीले यहाँ ठूलो मेला लाग्छ भनेपछि हामी आयौँ ।’
बेलायतबाट घुम्न नेपाल आइपुगेका स्कटले भने, ‘हामीलाई गाइडले यहाँको बारे सबै कुरा भनिसकेका छन्, हामी यो माहोल इन्जोय गरिरहेका छौँ ।’ स्कटसँगैकी सिमलनले पनि उनको कुरामा सही थपिन् ।
अनि दुवैले एकस्वरमा अंग्रेजी टोनमा गाए– हरहर महादेव, जय शम्भो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।