राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कामदारका रूपमा मलेसिया गएर मृत्यु भएका एक व्यक्तिकाे शव नेपाल ल्याउन पहल गरिरहेकाे जानकारी दिएका छन् । सामाजिक सञ्जालमार्फत उनले याे जानकारी दिएका हुन् ।
मृतकनिकट एक व्यक्तिले मृतककाे तस्बिर र उनले शरीरमा खाेपेकाे टाटुकाे तस्बिरसहित सामाजिक सञ्जालमार्फत रविकाे ध्यानाकर्षण गराएका थिए । मृतकले छातीमा रविकाे टाटु खाेपेका थिए ।
जुम्लाकाे हिमा गाउँपालिका देवरगाउँका मयलाल परियारकाे रोजगारीको सिलसिलामा मलेसियामा मृत्यु भएकाे हाे । मृतक परियारकाे शव नेपाल पुर्याउनका लागि सहयाेगकाे अपिल गर्दै ती व्यक्तिले सामाजिक सञ्जालमा सार्वजनिक आह्वान गरेका थिए ।
साे म्यासेजसहितको स्क्रिन सट्मा आफ्नो ध्यानाकर्षण भएको भन्दै रविले उनको शव नेपाल ल्याउन पहल गरेको बताएका छन् । नेपालमा मृतकका परिवारसँग पनि कुराकानी गरेकाे र मलेसियाका राजदूतसँग पनि उनकाे मृत्युकाे कारण र नेपाल ल्याउने विषयमा आफूले कुरा गरेकाे लामिछानेले जानकारी गराएका छन् ।
'मयलाल परियारजी, देशमा नै बस्ने वातावरण बनाउन हामी लड्दै गर्दा तपाईं मलेसियामा अस्ताउनु भयो । तपाईंले यो संसारलाई महसुस गर्दा तपाईं र मेरो भेट भएन । अब तपाईं केही महसुस गर्न नसक्ने अवस्थामा पुग्नुभयो,' रविले भावुक स्टाटस लेख्दै भनेका छन्, 'तर तपाईंलाई देशले स्पर्श गर्नैपर्छ । तपाईंको पार्थिव शरीरलाई नेपाल ल्याउन म समन्वय गरिरहेको छु।'
पेटको कुनै खराबीले मृत्यु भएको प्रारम्भिक खबर दूतावासले गराए पनि तथ्य पत्ता लाग्न पोस्टमार्टमलगायतको प्रक्रियाले केही दिन लाग्न सक्ने रविले उल्लेख गरेका छन् । । सबै प्रक्रिया मिलाएर जतिसक्दो छिटो नेपाल ल्याउने पहलमा आफैँ लागेको उनले बताएका छन् ।
उनले थपेका छन्, 'तपाईंले ममाथि देखाउनु भएको माया र विश्वास कम्तीमा तपाईंकी ११ वर्षीया छोरीले महसुस गर्ने गरी यो देशको सेवा गर्नेछु। तपाईंको छातीको ट्याटुले मेरो छाती छियाछिया भएको छ। म यो पीडालाई शक्तिमा बदलेरै छाड्छु। तपाईंको, मेरो र हाम्रो सपनालाई मरे पनि मर्न दिन्नँ। परिवारलाई यो पीडा सहने शक्ति मिलोस्।'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।