धनगढी मुख्य बजार क्षेत्रको सडक स्तरोन्नतिको शिलान्यास गरिएको छ । सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवाले मुख्य सडक कैलाली पुलदेखि क्याम्पसचोकसम्म सडक स्तरोन्नतिको मंगलबार शिलान्यास गरेका हुन् ।
प्रदेश सरकारको ५१ करोड ५९ लाख रुपैयाँ लागतमा बजार क्षेत्रमा फुटपाथसहित अत्याधुनिक सडक निर्माण गर्न लागिएको हो । मुख्य बजार क्षेत्रमा ३० मिटर चौडाइको दुई हजार तीन सय मिटर सडक निर्माण हुने धनगढी उपमहानगरपालिकाले जनाएको छ ।
सडक फराकिलो बनाउन मुख्य बजार क्षेत्रका घरहरु उपमहानगरले भत्काएको छ । सडक निर्माणको ठेक्का केएस कन्स्ट्रक्सनले पाएको छ । गत २७ वैशाखमा प्रदेश मातहतको पूर्वाधार विकास कार्यालय कैलाली र निर्माण कम्पनीबीच भएको सम्झौताअनुसार दुई वर्षभित्र सडक निर्माणको काम पूरा गर्नुपर्नेछ ।
फुटपाथ, साइकल लेन, ढलनिकास तथा विद्युत, टेलिफोन, इन्टरनेटका तारहरु भूमिगत राखी अत्याधुनिक सडक बन्न लागेको हो । उपमहानगरपालिकाको अनुरोधमा प्रदेश सरकारले सडक स्तरोन्नतिका लागि यस वर्ष बजेट विनियोजन गरेको थियो ।
बीच भागदेखि दुवैतर्फ १४-१४ मिटरको मुख्य सडकको दायाँबायाँ डेढ-डेढ मिटरको खानेपानी र टेलिफोनका लागि ‘अन्डरग्राउण्ड पास’ रहने भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव प्रेमदत्त भट्टले बताए ।
मुख्य बजार क्षेत्रअन्तर्गत ट्राफिक चोक चौराहादेखि कैलाली पुलसम्मको खण्ड क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत् निर्माण भइरहेको छ । यो सडक २४ मिटर चौडाइमा काम भइरहेको छ । दुवै खण्डको काम पूरा भएपछि धनगढी बजार क्षेत्रमा सुविधा सम्पन्न स्तरीय सडक हुनेछन् ।
भौतिक पूर्वाधार विकास मन्त्री देउवाले सडक निर्माणमा बजेटको कमी हुन नदिने बताए । उनले सडक निर्माणमा सबैले साथ दिनुपर्ने धारणा राखे । धनगढीका मेयर गोपाल हमालले सडक निर्माणको काम समयमै सम्पन्न हुनेमा आफू आशावादी रहेको बताए । सडक निर्माणका क्रममा उपमहानगरले आवश्यक सहयोग, समन्वय गर्ने भन्दै उनले निर्धारित अवधिभन्दा चाँडै काम सक्न निर्माण कम्पनीलाई आग्रह गरे ।
यसअघि उपमहानगरले थालेको सडक फलाकिलो बनाउने अभियानलाई साथ दिँदै सडक छेउछाउतिर आफ्नो घर आफैँ भत्काउने घरधनीलाई सम्मान गरिएको छ । धनगढी उपमहानगरले मंगलबार एक कार्यक्रम गरेर घरधनीलाई सम्मान गरेको छ । उपमहानगरका अनुसार चार सय २८ घरधनीले आफ्नो घर आफैँ भत्काएर उपमहानगरको अभियानमा साथ दिएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।