आषाढ शुक्ल एकादशीलाई हरिशयनी भनिन्छ । हरि अर्थात् विष्णु भगवान् यस दिनबाट सुत्ने (शयन गर्ने) भएकाले यो समयलाई हरिशयनी भनिएको हो । यस दिन एकादशीकोे व्रतधारण, कथा श्रवणका साथै तुलसीको रोपण गर्ने कार्य हुने गर्दछ ।
ज्येष्ठ शुक्ल एकादशीका दिन दल (बीउ) राखी हरिशयनी एकादशीमा तुलसी रोपेर चार महिनापछि हरिबोधिनी एकादशीका दिन विष्णु भगवान्सँग तुलसीको विवाह गर्ने शास्त्रीय विधान रहेको छ । हरिशयनीका दिनबाट विष्णु भगवान् चार महिनासम्म शयन गर्ने भएकाले चार महिनासम्म चतुर्मासा व्रतधारण गरी भगवान्को उपासना गर्ने विधिविधान पनि रहिआएको छ ।
तुलसी
तुलसीलाई साक्षात् विष्णु भगवान् मानिन्छ । वृक्षमा तुलसी र पीपल भगवान्का साक्षात् प्रतिरूप हुन् । आजको विज्ञानले पनि तुलसीमा सर्वहितकारी तत्त्वको पुष्टि गरिसकेको छ । आयु वृद्धिमा पनि तुलसीको विशेष महत्त्व रहेको छ । आयुर्वेदमा तुलसीलाई महौषधिको संज्ञा दिइएको छ ।
हाम्रै गाउँघरमा पनि कोही व्यक्ति जीवनको अन्तिम घडीमा रहेका वेला तुलसीको मठनजिक राख्ने चलन छ । त्यसको वैज्ञानिक कारण के हो भने तुलसी अक्सिजनको अत्यन्त राम्रो स्रोत हो । जीवनको अन्तिम श्वास फेर्दा अक्सिजनको सहज पहुँच पुगोस् भन्ने हेतुले तुलसीको मठ नजिक राख्ने गरिएको हो ।
तुलसीपत्र काँचै वा पकाएर खानाले रुघाखोकीका कारण नाक बन्द भएको, घाँटीमा कफ जमेको आदिमा अत्यन्त लाभदायक हुन्छ । यसका लागि हरियो पात मात्रै होइन, सुकेको पात र डाँठ पनि लामो समयसम्म राखेर बेमौसममा पनि औषधिको रूपमा प्रयोग गर्न सकिन्छ ।
ब्रह्मवैवर्त पुराणअनुसार तुलसीका प्रसिद्ध आठ नाम छन् । वृन्दा, वृन्दावनी, विश्वपूजिता, विश्वपावनी, पुष्पसारा, नन्दिनी, तुलसी र कृष्णजीवनी तुलसीका प्रसिद्ध आठ नाम रहेका छन् । यी नामको उच्चारण गर्नाले अभीष्ट फल प्राप्त हुने कुरा समेत पुराणमा वर्णन पाइन्छ ।
तुलसी उत्पत्ति कथा
गोलोक (कृष्ण भगवान्को लोक)मा तुलसी एक दिन भगवान्सँग क्रीडा गरिरहेकी थिइन् । राधाले उक्त क्रीडा देखिन् । मेरो कृष्णलाई भड्काउने ? भन्दै उनले तुलसीलाई ‘पृथ्वीमा जन्म लिनु परोस्’ भनी श्राप दिइन् । सोहीकारण तुलसीले धर्तीमा जन्म लिनुपरेको कथा पुराणमा पाइन्छ ।
यसैगरी पुराणमा तुलसीको पृथ्वी आगमनबारे अर्को कथा पनि पाइन्छ । जब भगवान् शिव र जालन्धर असुर (राक्षस)को महासंग्राम (लडाइँ) भइरहेको थियो । जालन्धरकी पत्नी वृन्दा पतिव्रता रहेको र सोही बलको प्रभावका कारण शिवजीले जालन्धर असुरलाई पराजित गर्न सकेका थिएनन् । जसले गर्दा लोकमा भयावहको स्थिति पैदा भएको थियो । लोक कल्याणका लागि जालन्धरको अन्त्य आवश्यक थियो । वृन्दाको सतित्व बलले जालन्धर निकै बलवान् भएका थिए । यस्तो अवस्थामा वृन्दाको पतिव्रता धर्म भंग गर्नुबाहेक अर्को विकल्प थिएन । यसैले विष्णु भगवान्ले जालन्धरको भेषधारण गरेर वृन्दाको सतित्वलाई नष्ट गरिदिए ।
जब वृन्दालाई यो कुराको थाहा भयो, त्यो बेलासम्म भगवान् शिवले जालन्धरको बध गरिसकेका थिए । यता, वृन्दाले आफू छलमा परेको पछि थाहा पाइन् । यसपछि वृन्दाले आफ्नो सतित्व भंग गर्ने भगवान् विष्णुलाई शीला, रूख, झारपात र घाँस भएर जीवन व्यतीत गर्नु परोस् भनेर श्राप दिइन् । सोही श्रापका कारण भगवान विष्णुले शालग्राम शीला, पीपल, तुलसी र कुश भएर जन्म लिएको कथा विष्णुपुराणमा वर्णन पाइन्छ । यसरी वृन्दाको श्रापका कारण भगवान् तुलसी रूपमा प्रकट भई सर्वकल्याण गरेको कथा पनि पुराणमा पाइन्छन् । तुलसीको वनलाई वृन्दावन भनिन्छ ।
तुलसी किन रोपण गर्ने ?
हाम्रा हरेक धार्मिक कार्यमा तुलसीको विशेष प्रयोग हुने गर्दछ । शास्त्रमा तुलसी कोही देवतासँग देवतासँग पनि तुलाना गर्न योग्य नरहेको अर्थात् ‘अतुलनीय’ रहेको वर्णन पाइन्छ । तुलसीको स्थान देवताभन्दा पनि माथि मानिएको छ ।
तुलसी विभिन्न प्रकारका हुन्छन् । शुक्ला तुलसीको स्वरूप सेतो हुन्छ भने कृष्णा तुलसीको स्वरूप कालो हुने गर्दछ । यी दुवै प्रकारका तुलसी गुणमा बराबर हितकारी मानिन्छन् । वन तुलसी भने त्यति गुणवान् र महिमायुक्त रहँदैन । तुलसीको सेवा गर्नाले सम्पूर्ण पाप नष्ट भएर जाने धार्मिक मान्यता छ ।
तुलसीलाई नित्य (हरेक दिन) दर्शन गर्नाले, स्पर्श गर्नाले, ध्यान गर्नाले, नमन गर्नाले, रोपण गर्नाले र जल सेचन गर्नाले युगौँयुगका पाप नाश भएर जाने गर्दछन् । यसैले तुलसीको विशेष सेवा गर्नुपर्दछ ।
रोपण गरिएकी तुलसी जति समयसम्म बाँच्छिन्, त्यति नै हजार कल्पसम्म भगवान्को दिव्यधाम प्राप्तहुने हुने कुरा शास्त्रमा बताइएको छ । यसैगरी भगवान्लाई फूल चढाएको भन्दा दुईगुणा फल तुलसीपत्र अर्पण गर्नाले मिल्ने गर्दछ ।
तुलसीको विशेष महिमागान गरिएको छ । जहाँसम्म तुलसीको वासना पुग्छ, त्यहाँसम्म तुलसीले पवित्र पार्दछिन् । तुलसी सर्वहितकारी वनस्पति साक्षात् विष्णुकी प्रतिमूर्ति हुन् । तुलसीले इह (पृथ्वी) लोकका साथै परलोकलाई पनि सफल बनाउने धार्मिक मान्यता छ । तुलसीमा औषधीय गुण रहेकाले पनि तुलसीको रोपण, अर्चना एवं वन्दना महत्त्वपूर्ण छ ।
कसरी रोप्ने तुलसी?
हरिशयनी एकादशीका दिन तुलसीको बिरुवालाई मठमा रोपिन्छ । यसरी सर्वप्रथम तुलसीको दल (बीउ) राखेको स्थानमा गई तुलसीलाई नमस्कार गरी निम्न मन्त्रले भगवती तुलसीको प्रार्थना गर्नुपर्दछः
प्रसीदमम देवेशि कृपया परया सदा ।
अभीष्टफलसिद्धिञ्च कुरु मे माधवप्रिये ।।
यसरी प्रार्थनापछि जरा र केही माटो सहित तुलसीलाई पूर्व फर्केर विस्तारै उखेल्नुपर्दछ । यसरी उखेल्दा भगवान्का नाम उच्चारण ‘ॐ नमो भगवतो वासुदेवाय’आदि गर्नु उपयुक्त मानिन्छ । यसरी उखेलिएकी तुलसीलाई मठमा ल्याई पूर्व फर्केर रोपण गर्नुपर्दछ । रोपणपश्चात् पर्याप्त जल सेचन गर्नुपर्छ ।
यसपश्चात् भगवती तुलसीको विशेष विधिले पूजा गर्नुपर्दछ । जल, अर्घ, आचमनी, पञ्चामृत, चन्दन, अक्षता, पुष्प, फल नैवेद्य अर्पण गरी आरती पुष्पाञ्जली गर्नुपर्दछ । यसपश्चात् नित्य तुलसीको हेरचाहका साथै नित्य जल पनि सेचन गर्नुपर्दछ । यसरी तुलसीको नित्य सेवा गर्नाले अभीष्ट सिद्धि (सोचेको फल प्राप्त हुने) कुरा शास्त्रमा उल्लेख छ ।
तुलसीपत्र कुन दिन टिप्नुहुँदैन ?
सबै दिन तुलसीपत्र टिप्नु हुँदैन । तुलसीपत्र टिप्ने पनि विशेष दिन रहेका छन् । वैधृति र व्यतीपात योग, मंगल, शुक्र र आइतबार, औँशी पूर्णिमा, संक्रान्ति, द्वादशी तिथि र सूतक, मृतक परेका बेलमा तुलसी टिप्नुहुँदैन । यस वेलामा टिपिएको तुलसी साक्षत् श्रीविष्णुको शिर छेदन गरेबराबर हुन्छ भनी शास्त्रमा उल्लेख पाइन्छ ।
हरिशयनी एकादशी व्रतपूजा विधि
स्नान गरी शुद्ध भई घरको पूजा स्थलमा भगवान् विष्णुको प्रतिमा राखी षोडशोपचारले पूजा गर्नुपर्दछ । यसपछि पीताम्बर (पहेँलो कपडा)ले सुसज्जित बनाई भगवान्का कथा श्रवण गर्नाले उत्तम फल प्राप्त हुने कुरा एकादशी माहात्म्यमा बताइएको छ । यसरी कथा श्रवणपश्चात् भगवान्लाई झुला वा शय्यामा राखेर शयन गराउनुपर्दछ ।
एकादशीमा आहार विहार
एकादशी तिथिमा सात्विक आहार उपयुक्त मानिएको छ । विशेषतः अन्न नखानु राम्रो मानिन्छ । सात्विक आहार, विहार विचार एकादशीका पर्याय हुन् । भगवानका कथा श्रवण एवं भगवानको नाम संकीर्तन यस दिन उत्तम फलदायी रहन्छन् । यस दिन मांसहार, मैथुन, परनिन्दा, राजसी र तामसीभोजन एवं कार्य निषेध गरिएको छ ।
व्रतफल
वर्ष दिनसम्म भए गरेका पापकर्म हरिशयनी एकादशीको व्रतधारण गर्नाले नष्ट भएर जान्छन् । यसैगरी इह लोकको भोगका साथै परलोकमा मुक्ति पनि एकादशीको व्रतधारणले प्राप्त हुने धार्मिक मान्यता छ । यस दिन गरिने स्नान, दान, तपआदि सबै कार्यको अक्षय (कहिल्यै नाश नहुने) पुण्य प्राप्त हुने कुरा शास्त्रमा वर्णन पाइन्छ ।
वेदले पनि प्रकृतिलाई देवता मानेको छ । त्यसैले प्रकृतिको जगेर्ना मानवधर्म पनि हो । प्रकृतिको संरक्षण, स्वस्थपर्यवरणका साथै परलोकको पुण्यका लागि समेत तुलसीको पूजा एवं संरक्षण आवश्यक देखिन्छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।