काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले निजी विद्यालयका शिक्षकलाई पनि सरकारी विद्यालयका शिक्षक सरह तलब दिन अनुरोध गरेका छन् ।
सामुदायिक विद्यालयभन्दा न्यून भएको गुनासो आएको भन्दै मेयर शाहले शिक्षा ऐन, २०२८ को दफा १२ (७) (छ) मा उल्लेख भएअनुसार संस्थागत विद्यालयको शिक्षकलाई पनि सरकारले तोकिदिएको तलब स्केल नघटाइ तलब दिन अनुरोध गरेका हुन् ।
काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाईपाई आएकोमा नघट्ने गरी संघीय शिक्षा कानुनमा तोकिए बमोजिम हुने उल्लेख गरिएको पनि उनले उल्लेख गरेका छन् ।
‘शिक्षा ऐन, २०२८’ को दफा १२ (७) (छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाइ तलब दिनुपर्ने भनी उल्लेख गरिएको छ’, मेयर शाहले सामाजिक सञ्जाल लेखेका छन्, ‘काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानुनमा तोकिए बमोजिम हुने उल्लेख गरिएको छ ।’
उनले तोकिएअनुसार तलब सुविधा प्राप्त नपाए महानगरपालिका शिक्षा विभागमा सम्पर्क गर्न पनि आग्रह गरेका छन् ।

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।