logo-img

साफमा नेपालको कमजोर प्रदर्शन : पर्याप्त तयारीबिनाको नतिजा

खेलाडी विदेश पलायन र एन्फाको अव्यवस्थित व्यवस्थापनका कारण समस्यामा रहेको नेपाली फुटबल टोलीले यसपालि पर्याप्त तयारीबिनै साफ च्याम्पियनसिप खेल्यो । नेपालले जस्तो प्रकारको तयारी गरेको थियो नतिजा पनि उस्तै पायो ।  

अर्थात् गत उपविजेता नेपाल यसपल्ट समूह चरणबाटै बाहिरियो । समूह ‘ए’ मा रहेको नेपालले प्रतियोगितामा कुवेतसँग ३–१ र भारतसँग २–० को हार बेहोर्‍यो । सेमिफाइनल दौडबाट बाहिरिसकेको नेपालले अन्तिम खेलमा भने पाकिस्तानविरुद्ध १–० को साँघुरो जित निकाल्यो ।

विगतमा पटकपटक सेमिफाइनलमो यात्रा गरिसकेको नेपाल यसपल्ट पनि त्यही लय दोहोर्याउने लक्ष्यमा थियो । तर, अभ्यास अभाव र प्रतियोगितामा आमन्त्रित टोलीको रूपमा कुवेत र लेबनानको प्रवेशले फेरि एकपटक नेपालको उपाधि सपना अधुरै रह्यो ।    

टोलीका मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनिसले पनि पर्याप्त अभ्यास नपाउँदा नेपालले अपेक्षाकृत नतिजा हात पार्न नसकेको स्वीकारेका छन् । उनका अनुसार यसपल्टको साफ खेलाडीका लागि अनुभव हासिल गर्नु मात्र रह्यो । प्रशिक्षक एनिसले छोटो समयको अभ्यासका बाबजुद प्रतियोगितामा टोलीले गरेको प्रदर्शन सन्तोषजनक नै रहेको पनि बताए । 

१४ औँ संस्करणको साफमा आशिष चौधरी, आयुष घलान, मनिष डाँगीलगायत युवा खेलाडीको प्रदर्शनले भने नेपाली फुटबलको भविष्य उज्ज्जल रहेको संकेत दिएको छ । यद्यपि एन्फाले फुटमबलमय वातावरण बनाउन नसकेमा भने यी युवा स्टारको भविष्य पनि जोखिममा छ । 

आशिष चौधरी । तस्बिर : एन्फा



एन्फामा नयाँ नेतृत्व आएपछि नेपाली फुटबलले सोचेअनुरूप गति लिन सकेको छैन । बरु झन् खेलाडीको विदेश पलायन बढेको छ । साथै, एन्फाले आयोजना गर्ने अन्य प्रतियोगिताको अवस्था पनि लथालिङ्ग छ ।

एन्फाको कछुवा गतिमा काम गर्ने तरिकाले अहिले समर्थक र खेलाडी वाक्कदिक्क छन् । फुटबलको सर्वोच्च एन्फाको यही  कार्यशैली कायमै रहे आगामी दिनमा नेपाली टोलीको प्रदर्शन थप खराब हुनेमा दुईमत छैन । 



  • प्रकाशित मिति : असार १४, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया