शिक्षकमाथिको बल प्रयोगप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राहत तथा बालविकास शिक्षकको आन्दोलनमा सरकारले गरेको बल प्रयोगप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ । 

‘लामो समयदेखि सामुदायिक विद्यालयमा अध्यापनरत राहत तथा बालविकास शिक्षकहरुले आफ्ना माग राखी २०७५ फागुन १९ र २० गते काठमाडौंमा गरेको विरोध प्रदर्शनमा प्रहरीले बल प्रयोग गरी शिक्षकहरुप्रति गरेको अमानवीय व्यवहारका कारण दर्जनौँ शिक्षकहरु घाइते भएको घटनाप्रति नेपाली कांग्रेसको ध्यान गम्भीर रुपले आकृष्ट भएको छ,’ कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलको हस्ताक्षरमा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाल शिक्षक महासंघ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबीच वार्ता भई गरेको सम्झौताविपरीत सरकारले निर्णय गरेर गम्भीर त्रुटि गरेको नेपाली कांग्रेसको ठहर छ । शान्तिपूर्ण रुपले प्रदर्शन गर्न पाउने नैसर्गिक अधिकारमाथि वर्तमान सरकारले अंकुश लगाउने कार्य गरिरहेको विज्ञप्तिमा उल्लेख छ । 

‘यस घटनाले सरकारको निरकुंश चरित्रलाई उदांगो बनाएको छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘फागुन १९ र २० गते शिक्षकहरुमाथि भएको अमानवीय घटनाप्रति नेपाली कांग्रेस घोर निन्दा र भत्सर्ना गर्दै शान्तिपूर्ण विरोध प्रदर्शनमाथि यस प्रकारको बल प्रयोग नगर्न समेत सरकारलाई सचेत गराउँछ ।’

वार्ता र संवादको माध्यमबाट राहत तथा बाल विकास शिक्षकहरुको जायज माग तत्काल पूरा गर्न, गिरफ्तार सबै शिक्षकहरुलाई अविलम्ब रिहा गर्न र घाइते शिक्षकको उपचारको प्रबन्ध गर्न कांग्रेसले माग गरेको छ । 





  • प्रकाशित मिति : फागुन २१, २०७५ मंगलबार १६:५९:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया