मलेसियामा जारी एसिसी यू–१६ इस्ट जोन कपको सेमिफाइनल खेलमा सिंगापुरविरुद्ध नेपाली ओपनिङ ब्याटरद्वय सूर्यांशु कोइराला र निरजकुमार यादव अर्धशतक बनाउन चुकेका छन् ।
४९ बलको सामना गरेका सूर्यांशुले ६ चौकासहित ४३ रनको इनिङ खेले । यस्तै, अर्का प्रारम्भिक ब्याटर निरजले ४९ बलमा ३ चौका र १ छक्काको मद्दतमा ४२ रन बनाए ।
विकेटकिपर आशिष लुहार ६ र नरेन भट्ट ३ रनमा आउट भएका छन् । बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले यो समाचार तयार पार्दासम्म २५ ओभरमा ४ विकेट गुमाएर १ सय १९ रन बनाएको छ ।
नेपालले आजको खेलमा पनि अघिल्लो खेलकै प्लेइङ–११ लाई निरन्तरता दिएको छ । समूह चरणमा नेपाल अपराजित रहेको नेपाल आज सिंगापुरलाई हराउँदै उपाधि नजिक पुग्न चाहन्छ ।
नेपालले समूह चरणमा थाइल्याण्डलाई २२५ तथा मलेसियालाई ८४ रनले हराएको थियो । यस्तै, सिंगापुरले इन्डोनेसियालाई १०४ र माल्दिभ्सलाई २४५ रनले हराउँदै सेमिफाइनलको यात्रा गरेको थियो ।
ऊ हङकङसँग भने ७ विकेटले पराजित भएको थियो । आजै हुने अर्को सेमिफाइनल खेलमा हङकङ र मलेसिया प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको फाइनल खेल मंगलबार हुनेछ ।
हालसम्म नेपालले लगातार दुईपटक यू–१६ इस्ट जोन कपको उपाधि जितेको छ । यसपटक नेपाल उपाधि ह्याट्रिक गर्ने योजनामा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।