लन्डन– बेलायतका एक एचआइभीपीडितको स्टिम सेल ट्रिटमेन्टपछि १८ महिनायता रोग गायब भएको डक्टरहरुले बताएका छन् । उपचारमा संलग्न डाक्टरहरुले ‘नेचर’लाई दिएको रिपोर्टअनुसार सेल इम्प्लान्टेसनबाट एचआइभी दबिएको यो अहिलेसम्मकै दोस्रो घटना हो ।
एचआइभीपछि क्यान्सरको सिकार भएका लन्डनका ती रोगीलाई १८ महिनाअघि स्टिम सेल ट्रिटमेन्ट दिइएको थियो । त्यसयता, उनले एचआइभीको कुनै औषधि लिएका छनन् । यतिखेर उनको शरीरमा एचआइभीको कुनै लक्षण देखिन्न, न त परीक्षण गर्दा रोग भेटिन्छ । तर, उनको एचआइभीको निदानै भएको भनिहाल्ने बेला भने नआएको डाक्टरहरु बताउँछन् ।
विज्ञहरु यो विधि एचआइभीको उपचारमा सबैका लागि फलदायी नहुने, तर भविष्यमा ठोस उपचार विधि पत्ता लगाउन सहयोगी हुने बताउँछन् ।
नाम नखुलाइएका ती पुरुषमा सन् २००३ मा एचआइभी संक्रमण देखिएको थियो भने २०१२ मा शरीरको प्रतिरक्षा कायम गर्ने ‘लिम्फ सिस्टम’मा क्यान्सर देखिएको थियो ।
क्यान्सरका लागि उनलाई किमोथेरापी दिइएको थियो । योसँगै, उनको शरीरमा एक डोनरबाट प्राप्त एचआइभी रेजिस्ट्यान्ट स्टिम सेल इम्प्लान्ट गरिएको थियो । यसबाट उनको क्यान्सर र एचआइभी दुवै गायब भए ।
यसअघि पनि एक रोगीको एचआइभी यसरी नै दबिएको थियो । १० वर्षअघि बर्लिनका एचआइभी संक्रमित टिमोथी ब्राउनको शरीरमा ‘भाइरसप्रति प्राकृतिक प्रतिरक्षा भएका’ एक डोनरबाट बोन–म्यारो ट्रान्सप्लान्ट गरिएको थियो ।
एचआइभी/एड्सलाई परास्त गरेका पहिलो व्यक्ति भनिएका ब्राउनलाई दुईवटा ट्रान्सप्लान्ट दिइएको थियो र पूरै शरीरमा ल्युकेमियाका लागि रेडियोथेरापी गरिएको थियो, जुन अहिलेको भन्दा निकै एग्रेसिभ ट्रिटमेन्ट हो ।
‘उस्तै खालको उपचारबाट दोस्रो रोगीमा एचआइभी दबाएर हामीले देखायौँ कि बर्लिनका रोगी अपवाद थिएनन् । यो वास्तवमै उपचार पद्दति नै थियो, जसले यी दुईको एचआइभीलाई हटायो,’ युसिएलका मुख्य अध्येता प्रोफेसर रविन्द्र गुप्ता लेख्छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।