गायक तथा अभिनेता रोविन तामाङको निधन भएको छ । उनको मंगलबार बूढानीलकण्ठ-५ चिसेनीस्थित आफ्नै घरमा निधन भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दान कार्कीका अनुसार रोविन घरमै मृत भेटिएका हुन् । उनको शव दुई तले घरको बेडरुममै भेटिएको कार्कीले बताए ।
रोविनको निधनको कारण खुलिसकेको छैन । नेपाली सांगीतिक क्षेत्रमा रकस्टारका रूपमा परिचित रोविनले दर्जनौँ गीतमा स्वर दिएका छन् । साथै, उनले चलचित्रमा पनि अभिनय गरेका छन् ।
सिंगापुरमा जन्म, नेपालमा कर्म
बेलायती सैनिकका छोरा रोविन सन् १९६३ मा सिंगापुरमा जन्मिएका थिए । बाबुको जागिर सरुवासँगै उनी पनि सानैमा विभिन्न देश पुगे । रोविनको बाल्यकाल हङकङ, सिङ्गापुर र ब्रुनईमा बित्यो ।
सिङ्गापुरमा प्रारम्भिक विद्यालय शिक्षाको क्रममा उनले जिमी हेन्ड्रिक्स र डिप पर्पलको गीत सुन्थे, जुन रोविनको लागि प्रेरणाको स्रोत बन्न पुगे । सन् १९८० तिर कलेजमा अध्ययन गरिरहेको समयमा उनले आफ्नो दोस्रो ब्यान्ड ’तामाङ’ गठन गर्दै सांगीतिक क्षेत्रमा अगाडि बढे ।
सन् १९९६ मा नेपाल आएका रोविनले लुजा ब्यान्ड स्थापना गरे । त्यसपछि उनको सांगीतिक करियरले छलाङ मार्यो । रोविनले लुजासँग विभिन्न स्थानमा प्रदर्शन गरे ।
सन् २००५ मा यो समूह विघटन भएपछि उनले ‘रोविन एन्ड न्यु रिभोलुसन’ ब्याण्ड स्थापना गरे । ‘दम मारो दम’, ‘कल्पना’, ‘वीरताको चिनो’, ‘केटा केटी’, ‘मेरो माया’, ‘ठीकै छ’, ‘आधुनिकको आगमनमा’ जस्ता उनका चर्चित गीत हुन् ।
रोविनको ’मुगलान’ नामक एल्बम अत्यधिक रुचाइएको थियो । उक्त एल्बममा प्रवासी नेपालीको दुःखसुख समेटिएका गीत समावेश छन् ।
साथै, रोविनले ‘जय पशुराम’, ‘बादशाह जुट’, ‘चिसो एष्ट्रे’, मुखौटा’, ‘छड्के’, ‘नाका’, ‘वान वे’ लगायत एक दर्जन बढी नेपाली फिल्ममा खलनायकको भूमिका पनि निभाएका छन् ।
नेपाली रक जनराको गीतको विकासमा रोविनको महत्वपूर्ण भूमिका छ । उनको निधनले धेरै संगीतकर्मीले ‘नेपाली रकपप युगको एक अन्त्य’ भएको उल्लेख गर्नुका साथै श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।
‘यो एक युगको अन्त्य हो । उहाँ मैले चिनेको सबैभन्दा राम्रो रकस्टार हुनुहुन्थ्यो । उहाँसँग मेरो धेरै यादहरू छन् । यो कुरा धेरै नराम्रोसँग दुख्छ । तपाईँले मेरो लागि गरेको सबै कुराको लागि धन्यवाद दाई । मलाई थाहा छ तपाईँ शान्त हुनुहुन्थ्यो । हामी सबै तपाईँको आभाको वरिपरि हुन पाउँदा धन्य थियौँ । यो मैले उहाँसँग खिचेको अन्तिम फोटो हो । रेस्ट इन पिस । तपाईँले हामी सबैलाई ईमानदारीपूर्वक माया र सम्मान गर्नुभयो,’ रकस्टार अभया सुब्बाले सामाजिक सञ्जालमा लेखेकी छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।