logo-img

प्रदेशसभा बैठक अवरुद्ध नगर्न एमाले सहमत

लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको बजेटका सम्बन्धमा असहमति जनाएको प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र सरकारबीच सहमति भएको छ । 

बजेटका विषयमा असहमति राख्दै आएकामा प्रमुख प्रतिपक्ष दल सहमत भएपछि आजदेखि बैठक सञ्चालन हुने भएको हो ।

यसअघि लगातार बैठक अवरुद्ध गर्दै आएको प्रमुख विपक्षी दलले मङ्गलबार बसेको दोस्रो बैठकमा पनि विरोध जनाउँदै बजेट पुस्तिकासमेत च्यातेर बहिष्कार गरेपछि मङ्गलबार राति दुवै पक्षबीच वार्ता भएको थियो ।   

वार्तामा विपक्षी दलले उठाएका विषय मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभामा सम्बोधन गर्ने र विपक्षीले पनि आजदेखि प्रदेशसभाको बैठक सञ्चालन गर्न दिने सहमति भएको एमाले प्रमुख सचेतक तुलसी चौधरीले जानकारी दिए ।

बैठक बहिष्कार गरेर बाहिरिएको एमालेसँग मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, सभामुख तुलाराम घर्तीले वार्ता गरेर सहमति जुटाएका हुन् । वार्तामा विपक्षी दलका नेता लीला गिरी, उपनेता चेतनारायण आचार्य, प्रमुख सचेतक तुलसी चौधरी सहभागी थिए ।

सहमति भएपछि मंगलबार स्थगित प्रदेशसभा बैठक आजका लागि बोलाइएको छ । प्रदेशसभा सचिव दुर्ललकुमार पुनमगरले जारी गरेको सूचनामा मङ्गलबार स्थगित भएको प्रदेशसभाको दोस्रो अधिवेशनको १७औंँ बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको उल्लेख छ ।  





  • प्रकाशित मिति : असार २०, २०८० बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया