बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन
सरकार भन्छ– ९१ प्रतिशत मात्रै बजेट खर्च हुने भयो

काठमाडौं– सरकारले चालु आर्थिक वर्षका लागि विनियोजित बजेटको ९१.२ प्रतिशत खर्च हुने अनुमान गरेको छ ।

बजेटको अर्धवार्षिक समीक्षा गर्दै अर्थमन्त्रालयले विनियोजित १३ खर्ब १५ अर्ब  १६ करोड बजेटमध्ये ११ खर्ब ९९ अर्ब १५ करोड मात्रै खर्च हुने प्रारम्भिक अनुमान गरेको हो । पहिलो ६ महिनामा भएको खर्चको अवस्था मूल्यांकन गर्दा ९४ प्रतिशत चालु खर्च, ८४ प्रतिशत पुँजीगत खर्च तथा ८७ प्रतिशत वित्तीय व्यावस्थापनमा खर्च हुने अर्थको अनुमान छ । 

मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २८.६ प्रतिशत बजेट अर्थात् ३ अर्ब ७५ अर्ब ८२ करोड खर्च भएको बताएको छ । मन्त्रालयका अनुसार, चालु खर्चतर्फ २ खर्ब ९६ अर्ब ५७ करोड ५९ लाख अर्थात् ३५.१ प्रतिशत तथा पुँजीगततर्फ ५५ अर्ब ५२ करोड ३३ लाख खर्च भएको छ, यो विनियोजित बजेटको ३५.१ प्रतिशत हो । 

यस्तै, वित्तीय व्यवस्थार्फ १५.२ प्रतिशत अर्थात् २३ अर्ब ७२ करोड ४७ लाख खर्च भएको छ । 

वित्तीय हस्तान्तरणअन्तर्गत ३० प्रतिशत अर्थात् ११ अर्ब ४६ करोड खर्च भएको अर्थले जनाएको छ । चालु आर्थिक वर्षको लागि सरकारले ३७ अर्ब २९ करोड प्रदेशहरुलाई ‘वित्तीय हस्तान्तरण’ गरेको थियो । यस्तै, स्थानीय तहलाई गरेको वित्तीय हस्तान्तरणबाट ८१ अर्ब ६७ करोड खर्च भएको छ । 

समीक्षामा राजस्व संकलन ४ खर्ब २ अर्ब ४५ करोड भएको उल्लेख छ, जुन गत आर्थिक वर्षको तुलनामा २६.१ प्रतिशतले बढी हो । यसमा कर राजस्व मात्रै २८ प्रतिशतले बढेको छ भने गैरकर राजस्व १२.३ प्रतिशतले वृद्धि भएको छ । 



सरकारलाई पहिलो ६ महिनामा १ खर्ब ११ अर्ब ६३ करोड वैदेशिक सहायताको प्रतिबद्धता आएको छ । यस्तै, राष्ट्रिय गौरवका आयोजनाहरुमा भएको खर्च २२ अर्ब ८ करोड छ । सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तथा उत्तर–दक्षिण लोकमार्ग र कालीगण्डकी कोरिडोरको प्रगति उत्साहजनक रहेको जनाएको छ । 

पहिलो ६ महिनाको प्रगतिमा आर्थिक वृद्धिको लागि आधारशीला निर्माणको संकेत मिलेको सरकारले दाबी गरेको छ । कृषि, उद्योग, पर्यटकको आगमन र ऊर्जामा भएको सुधारले सरकारको लक्ष्यअनुसार नै आर्थिक वृद्धि हुने सरकारको अनुमान छ । 



पहिलो ६ महिनामा मुद्रस्फीति ४.२ प्रतिशतमा सीमित भएको समीक्षा प्रतिवेदनले देखाउँछ । यस्तै, रेमिट्यान्स ३०.२ प्रतिशतले बढेर ४ खर्ब ४३ अर्ब ३६ करोड पुगेको छ । 

उता, नेपालको व्यापार घाटा चुलिँदै गएको छ । अर्थमन्त्रालयले गरेको समीक्षामा व्यापार घाटा ३२.१ प्रतिशतले बढेर ६ खर्ब ७८ अबै ५३ करोड पुगेको छ । आयत ३० प्रतिशतले बढ्दा निर्यात १० प्रतिशले मात्रै वृद्धि भएको मन्त्रालयले जनाएको छ । 

चालु आर्थिक वर्षको पहिलो विदेशी विनिमय सञ्चिति ८.९ महिनाको आयात धान्न सक्ने अवस्थामा छ । मन्त्रालयका अनुसार नेपलको कुल विदेशी विनिमय सञ्चिति १० खर्ब ५८ अर्ब छ । 

  • प्रकाशित मिति : फागुन २१, २०७५ मंगलबार २०:३९:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया