काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारी जग्गा महानगरको अनुमतिबिना लिजमा लिएमा नक्सा पास गर्न तथा भौतिक संरचना बनाउन स्वीकृत नदिने बताएका छन् । बिहीबार सामाजिक स्ञ्जाल फेसबुकमा स्ट्याटस राख्दै उनले उक्त बताएका हुन्।
‘काठमाडौं महानगरपालिका क्षेत्रभित्रको सरकारी जग्गा काठमाडौं महानगरपालिकासंग समन्वय नगरी, कुनै जानकारी नदिई, कार्यपालिकाको निर्णय सहितको सिफारिस नलिई अनुचित स्वार्थसिद्धीको लागि लिजमा दिनेलिने सम्बन्धी प्रचलित कानून प्रतिकूलको काम कारवाही भइरहेको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको छ’, उनले लेखेका छन्, ‘काठमाडौं महानगरपालिकाबाट सिफारिस नलिई प्रचलित कानूनी व्यवस्थाको प्रतिकूल हुनेगरी लिजमा प्राप्त गरेको वा गरिने कुनै पनि सरकारी जग्गामा नक्सा पास नगरिने तथा भौतिक संरचना बनाउन स्वीकृती नदिइने कुरा समेत यसै सूचनाद्वारा सूचित गरिन्छ ।’
उनले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९७ को उपदफा (१) ले पनि सरकारी, सार्वजनिक तथा सामुदायिक सम्पत्तिको रेखदेख तथा संरक्षण गर्ने दायित्व स्थानीय सरकारलाई तोकेको बताएका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।