नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफ्ना पुराना सहकर्मी मोहन वैद्य किरणसँग बुधबार भेटवार्ता गरेका छन् । भट्टराईले वैद्यसँगको भेटबारे सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।
भट्टराई र वैद्यले लामो समयसम्म एउटै पार्टीमा बसेर सहकार्य गरेका थिए । प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कहिले भट्टराई त कहिले वैद्यलाई साथ लिएर आफू सधैँ शक्तिमा रहने गरेका थिए । अहिले दाहाल नेत्रविक्रम चन्द ‘विप्लव’सँग नजिकिएपछि दुई पूर्वसहकर्मीबीच भेटघाट भएको हो ।
लामो समयदेखि समाजवादी मोर्चा गठनको प्रयासमा जुटेका भट्टराईलाई अन्तिम अवस्थामा सो मोर्चामा नसमेटिएपछि उनी प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डसँग असन्तुष्ट बनेका छन् । प्रचण्डका लागि बाबुरामले आफ्नै चुनावी क्षेत्र गोरखा–२ छाडिदिएर गुन लगाए पनि प्रचण्डले भट्टराईको गुन तिर्न नसकेको भन्दै राजनीतिक वृत्तमा चर्चा हुने गरेको छ ।
भट्टराईले वैद्यसँगको भेटवारे उल्लेख गरे पनि कुन उद्देश्यले भेटवार्ता भएको हो भन्नेबारे स्पष्ट पारेका छैनन् । शुक्रबार मात्रै प्रधानमन्त्री दाहालले पूर्वमाओवादीहरू छिटै एक हुने दाबी गरेका थिए ।
शनिबार एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा समाजवादी मोर्चाको बैठक चलिरहँदा दुई पूर्वमाओवादी शीर्ष नेताको भेटलाई अर्थपूर्ण रूपमा लिइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।