नेपाली क्रिकेट टोलीले आगामी बिहीबारदेखि एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्दैछ । श्रीलंकामा हुने प्रतियोगिताका लागि नेपालले रोहित पौडेलको कप्तानीमा टोलीसमेत घोषणा गरिसकेको छ ।
यसपटक नेपालले युवा खेलाडीलाई प्राथमिकता दिँदै टोली घोषणा गरेको हो । इमर्जिङ कपमा ज्ञानेन्द्र मल्ल, करण केसी, सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी र आरिफ शेखलाई देख्न पाइने छैन ।
ज्ञानेन्द्र, करण र आरिफले आराम लिँदा सन्दीप र दीपेन्द्रले यही २० जुलाईदेखि क्यानडाको ग्लोबल टी–२० लिग खेल्नेछन् । उनीहरूको स्थानमा क्यानले सन्दीप जोरा, पवन सर्राफ, देव खनाल, सूर्य तामाङ, श्याम ढकाललगायत युवा खेलाडीलाई मौका दिएको छ ।

प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपालले भारत, पाकिस्तान ‘ए’ र यूएईको सामना गर्नेछ । यस्तै, समूह ‘ए’ मा श्रीलंका, बंगलादेश, अफगानिस्तान ‘ए’ र ओमान रहेका छन् ।
हालसम्म नेपालले इमर्जिङ कपमा समूह चरणसमेत पार गर्न सकेको छैन । तीन संस्करणमा सहभागिता जनाएको नेपालले कुल ९ खेल खेल्दा ७ मा हार तथा २ खेलमा मात्र जित निकालेको छ । नेपाल यसपटक विगत प्रदर्शन भुल्दै उत्कृष्ट नतिजा हात पार्ने दाउमा छ ।
हालै विश्वकप छनोटमा टेस्ट टोलीविरुद्ध सन्तोषजनक प्रदर्शन गरेको नेपाली टोलीमा आत्मविश्वास पनि बढेको छ । यद्यपि नेपाललाई समूह चरण पार गर्न सहज भने छैन ।

समूह चरणमा नै भारत र गत विजेता पाकिस्तान ‘ए’ सँग प्रतिस्पर्धा गर्नुपर्ने भएकाले नेपालको लक्ष्य पूरा हुन केही कठिन छ । भारतको टोलीमा आइपिएलमा राम्रो प्रदर्शन गरिसकेका अभिषेक शर्मा, प्रभसिमरन सिंह, साइ सुदर्शन, राजवर्धन हांगरगेकर, रियान पराग, यश धुललगायत खेलाडी छन् ।
यद्यपि भारतले अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरिसकेका खेलाडीलाई भने टोलीमा राखेको छैन । पाकिस्तानको टिममा भने आठजना सिनियर खेलाडी छन् ।
लगातार दोस्रोपटक उपाधि जित्ने लक्ष्यका साथ पाकिस्तानले अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका मोहम्मद हरिस, शाहनवाज दाहानी, अर्शद इकबाल, कामरन गुलाम, मोहम्मद वासिम जुयिनर, सैम अयुब, साहिबजादा फहरन र तयाब ताहिरलाई टोलीमा राखेको हो ।

सन् २०१३ देखि सुरु भएको इमर्जिङ कपको चार संस्करण सकिँदा दुईपटक श्रीलंका तथा एक/एकपटक भारत र पाकिस्तानले उपाधि जितेका छन् ।
पाँचौं संस्करणको इमर्जिङ कपमा नेपालले पहिलो खेलमा बिहीबार पाकिस्तानको सामना गर्नेछ । यस्तै, नेपालले १ साउनमा भारत, तथा ३ साउनमा यूएईसँग प्रतिस्पर्धा गर्ने तालिका छ ।
समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।
नेपालको टोली : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), अर्जुन साउद (विकेटपिकर), रोहित पौडेल (कप्तान), भीम सार्की, पवन सर्राफ, कुशल मल्ल, सन्दीप जोरा, सोमपाल कामी, ललितनारायण राजवंशी, देव खनाल, गुलशन झा, प्रतिश जिसी, किशोर महतो, श्याम ढकाल र सूर्य तामाङ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।