logo-img

तङ्ग्रिँदै चितवन मिल्क, दैनिक १ लाख लिटर दूध प्रशोधन

नेपालकै सबैभन्दा ठूलो पाउडर प्लान्ट चितवन मिल्कले दैनिक १ लाख लिटर दूध प्रशोधन गर्न थालेको छ । भरतपुर महानगरपालिका–१ ठिमुरामा रहेको उद्योगले आफ्नो प्रशोधन क्षमता बढाउँदै दैनिक १ लाख लिटर दूध प्रशोधन पुर्‍याएको  हो । 

कुनै समय घाटामा गएका कारण बन्द भएको चितवन मिल्क क्रमशः तङ्ग्रिँदै गएको प्रबन्धक दुर्गाप्रसाद पराजुलीले बताए । असार महिनामा पनि उद्योगमा दूधको अभाव छैन ।

चितवन मिल्कको दैनिक डेढ लाख लिटर प्रशोधन क्षमता छ । बिहान ६ देखि बेलुका ८ बजेसम्म  उद्योग सञ्चालन हुने गरेको उनले जानकारी दिए । पाउडर  र बटर बनाउनका लागि यहाँ पूर्व मेचीबाट पश्चिम महाकालीका विभिन्न जिल्लाका डेरीबाट दूध ल्याउने गरिएको छ । 

अहिले दैनिक ३ सय बोरा पाउडर र तीन सय ५० क्रेट बटर उत्पादन भइरहेको प्रबन्धक पराजुलीले बताए । उनका अनुसार अहिले उत्पादनले गोदाम भरिएको छ । ‘जसले दूध ल्याउँछ उनीहरूले नै उत्पादन भएको पाउडर र बटर लैजाने गरेका छन्,’ उनले भने, ‘दश दिनसम्म यही कोल्डस्टोरमा राखिदिने गरेका छौँ ।’

१ लाख लिटर दूधबाट १० टन पाउडर बन्छ । पाउडर मिल्कको ४ सयदेखि ५ सय रुपैयाँको बीचमा मूल्य पर्छ । एक किलो पाउडरले ११ लिटर दूध बन्छ भने ११ लिटर झोल दूधबाट एक किलो पाउडर बन्छ । 

असार महिनामा यसरी प्लान्ट चलेको पहिलोपटक भएको जनाउँदै पराजुलीले बत्ती र पानीको समस्याले अझ पूरा समय सञ्चालन गर्न नपाएको बताए । ‘जेठ महिनादेखि नै दूध धेरै आएको थियो, असारमा झन् बढ्यो’, उनले भने ।  



वि.सं २०७२ को भूकम्पपछि तीन वर्ष उद्योग बन्द भएको थियो ।  उद्योग सञ्चालन भएपछि किसानले उत्पादन गरेको दूध खपत भएको छ । मिल्क होलिडे (उत्पादन भएको दूध बिक्री नहुने अवस्था) गर्नुपर्ने अवस्था छैन । ‘यहाँ प्रयोग भएको मेसिन जर्मन प्रविधिको हो । एउटा सामान बिग्रे पनि जर्मनबाट ल्याउनुपर्छ’, पराजुलीले  भने ।

सुरुमा उद्योगबाट उत्पादित दूध पाकिस्तानमा पनि बिक्री हुन्थ्यो । हाल नेपालमै खपत भइरहेको उनले बताए । अहिले ३२ जनशक्तिले उद्योगमा काम गरिरहेको पराजुलीले जानकारी दिए ।



चितवन मिल्क बन्द हुँदा दूध उत्पादन धेरै हुने सिजनमा उद्योगीले दूध लिन बन्द गर्दा किसानले सडकमै दूध फ्याँकेर विरोधसमेत गरेका थिए । उत्पादित दूधले बजार नपाएपछि पुनः मिल्क होलिडे हुन थालेको भन्दै केन्द्रीय दुग्ध सहकारी सङ्घले जिल्ला–जिल्लामा आन्दोलनसमेत गरेको थियो । 

जिल्ला दूध उत्पादक सहकारी सङ्घ चितवनका अध्यक्ष किशोर बगालेले बजारमा दूध नबिकेको अवस्थामा उद्योगमा प्रशोधन गरेर पाउडर दूध र बटर बनाउँदा दूध खेर जाने अवस्था नआएको बताए । उनले किसानलाई चितवन मिल्क र अन्य प्रशोधन उद्योगका कारण मिल्क होलिडे गर्नुपर्ने अवस्था नआएको जानकारी दिए । रासस 

  • प्रकाशित मिति : असार २६, २०८० मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया