logo-img

चितवनमा १ लाख ६६ हजार नागरिक बाढीपहिरोबाट प्रभावित हुने आकलन

चितवनमा बाढीले कटान र डुबानसँगै पहिरोका कारण १ लाख ६६ हजार तीन सय ५० जना प्रभावित हुने देखिएको छ । बाढीका कारण कटान र डुबानमा ४६ हजार पाँच सय ७० घरधुरीका एक लाख ५८ हजार जनसङ्ख्या प्रभावित हुने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

कार्यालयका सूचना अधिकारी आनन्दवंश न्यौपानेले बाढीबाट सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका जनता प्रभावित हुने बताए । महानगरपालिकाका ३० हजार घरधुरीका १ लाख जनता प्रभावित हुने प्रतिकार्य योजनामा जनाइएको छ ।  

यस्तै, कालिका नगरपालिकाका २ हजार ५० घरधुरीका छ हजार, रत्ननगर नगरपालिकाका ५ हजार घरधुरीका १७ हजार, माडी नगरपालिकाका चार हजार पाँच सय घरधुरीका २० हजार व्यक्ति प्रभावित हुने जनाइएको छ । खैरहनी नगरपालिकाका एक हजार २० घरधुरीका तीन हजार र राप्ती नगरपालिकाका चार हजार घरधुरीका १२ हजार व्यक्ति प्रभावित हुने छन् ।  

यस्तै, पहिरोका कारण १ हजार ८ सय ५६ घरधुरीका आठ हजार तीन सय ५० जना प्रभावित हुने देखिएको छ । पहिरोमा सबैभन्दा जोखिममा इच्छाकामना गाउँपािलका रहेको छ । इच्छाकामनाका एक हजार २ सय ५६ घरका छ हजार २ सय ८० जना प्रभावित हुने अनुमान जिल्ला प्रशासन कार्यालयले गरेको छ । 

भरतपुरका तीन सय घरधुरीका एक हजार, कालिका नगरपालिकाका एक सय घरधुरीका तीन सय ५० र राप्ती नगरपालिकाका दुई सय घरधुरीका सात सय २० जना पहिरोका कारण प्रभावित हुने देखिएको छ । जिल्लामा बाढी, डुबान, चट्याङ, हावाहुरी, पहिरो, जनावर आतङ्क आदि प्रकोप समस्याका रूपमा रहेका छन् । 

‘विपद् व्यवस्थापनका लागि नेपाल प्रहरी, नेपाली सेनाको नयाँ सबुज दल गण, डिभिजन वन कार्यालय, सशस्त्र प्रहरीमा रहेका उद्धारका सामग्री तयारी अवस्थामा राख्न निर्देशन भएको छ,’ सूचना अधिकारी न्यौपानेले भने । अन्य सामाजिक सङ्घ संस्थालाई उद्धार र राहतका लागि तयारी गर्न आह्वान गरिएको उनले जानकारी दिए ।



बाढीका कारण भरतपुर महानगरपालिकाको पश्चिमी क्षेत्र बढी डुबानमा पर्ने गरेकाले सो क्षेत्रका जनतालाई सचेत रहन अनुरोध गरिएको छ । यस्तै, अन्य पालिकामा नदी तटीय क्षेत्रमा बसोवास गर्ने जनतालाई समेत सुरक्षित क्षेत्रको पहिचान गरी विपद्बाट बच्न सजग रहन आह्वान गरिएको उनले बताए । रासस 



  • प्रकाशित मिति : असार २८, २०८० बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया