Fri, 22 Mar, 2019


मैले खिचेको राष्ट्रपति सवारी अवज्ञाको त्यो भिडियो, त्यसपछिका तनाव र अवयव
फरकधार / फागुन २२, २०७५

मंगलबार साँझ मैले आफ्नो फेसबुकमा यसअघि राख्नेभन्दा अलिक फरक खालको भिडियो राखेँ । जस्तो भए पनि बेलाबेला गीत गाएर बनाएका इन्फर्मल भिडियो म अपलोड गर्ने गर्थेँ । तर, मंगलबार साँझ मैले राखेको भिडियो सडकको थियो । 

सडकसँग मेरो विशेष प्रेम छ । यो प्रेम निस्वार्थ प्रेम होइन, बाध्यात्मक प्रेम हो । प्रत्येक दिन जब अफिसबाट म घर फर्किन्छु, मलाई पैदल हिँड्नुमा आनन्द लाग्छ । पैदलयात्रा मेरो दिनचर्या हो, तर बाध्यात्मक परिस्थितिले सिर्जना गरेको । बानेश्वरको अफिसबाट कपुरधाराको कोठासम्म पुग्न अन्य कुनै राम्रा विकल्प छैनन् । गाडी नै चढ्ने हो भने पनि थोरबहुत हिँड्नै पर्छ, अथवा दुई वटा गाडी फेर्नु पर्छ । 

त्योभन्दा साँझमा बहेली खेल्ने हावासँग कानेखुसी गर्दै हिँड्नुमा मलाई धेरै आनन्द आउँछ । झन् बाटोमा हिँड्दा अगाडि र पछाडि अन्य पैदलयात्रीका कुरा सुन्न पाइन्छ, त्यसबाट कहिलेकांही दिव्य ज्ञान मिल्छ त कहिलेकांही टाइम पास गर्ने सजिलो बाहना । अझ आजभोलि हिँड्नुस्, स्वास्थ्यलाई फाइदा हुन्छ भन्ने टिप्स पढ्दा हिँड्नु नै उत्तम कुरा हो भन्ने लाग्छ । 

मंगलबार साँझ पनि बानेश्वरबाट रत्नपार्कसम्म गाडीमा आएपछि म पैदल कोठातिर बढेँ । दरबारमार्गबाट ठमेल तिर सोझिँदा देखि नै बाटोमा गाडीहरु टन्नै थिए, जाममा फसेको जस्तो लाग्यो । अरु सब जाममा फँसेको देख्दा मैले मनलाई नै ढाडस दिएँ– ठिक गरिस् यार, हिँडेर टाइममै पुग्ने भइस् ।

तर, हिजोको जाम अरु दिनको जस्तो थिएन । काठमाडौंमा आजभोलि जाम नै हुँदा पनि खासै हर्न सुन्न पाइँदैन । नो हर्न काठमाडौं शान्त महसुस हुन्छ, जतिसुकै हेभी ट्राफिक भए पनि । तर, मंगलबार जाममा पर्नेहरु आफ्नो सवारी साधनको हर्न मज्जाले बजाइरहेका थिए । 

मलाई अचम्म लाग्यो । अगाडि कुनै दुर्घटना पो भएछ कि केही भयो भन्ने सोचेँ । इयरफोनमा गीत बजिरहेको थियो– नेपथ्य ब्यान्डको संसाँझैमा ।

केही पाइला मात्र चालेको थिएँ, लाजिम्पाट तिरबाट दुई तिनवटा बाइक साइरन बजाउँदै अगाडि गए । 

साइरनको आवाज परपर हुँदै थियो । अब इयरफोनको आवाज भन्दा बढी सडकका सवारीको हर्न बढी बज्न थाल्यो । अब चाहिँ के रहेछ भनेर सोध्नु पनि परेन । कोही ठूलो व्यक्तिको सवारी चल्या रैछ भन्ने मनमा आयो । 

ठमेलअगाडिको चोकबाट मैले बाटो क्रस गरेँ, राहदानी विभागअगाडि हुँदै अगाडि बढेँ । 

केही माथि पुगेको मात्र के थिएँ, सवारी साधनको हर्न झन् चर्को बजिरहेको थियो । दाइले केही दिनअघिमात्र पठाइदिएको मोबाइल हातमै थियो । बजिरहेको गीत बदल्न मोबाइल गोजीबाट झिकेको थिएँ । 

बाटोमा वरपर हिँडिरहेका मानिसहरु भनिरहेको सुनेको थिएँ– गणतन्त्र आयो तर सास्ती हामी जनतालाई नै ! प्रहरीले मानिसहरुलाई पनि हिँड्न दिइरहेको थिएन । जो हिँडिरहेका थिए, उनीहरु सडकभन्दा निकै पर फुटपाथमा पनि बढो सजगताका साथ हिँडिरहेका थिए ।

म अगाडि बढिरहेको थिएँ, हर्न चर्को बजिरहेको थियो । त्यही समयमा मेरो पछाडिबाट कसैले साइकलमा घन्टी बजायो । म पछाडि फर्किएर हेरेँ । एकजना दाइ साइकल डोर्याउँदै आएका रहेछन् ! उनी विस्तारै केही भुतभुताइरहेका पनि थिए, नराम्रा शब्दहरु पनि प्रयोग गरिरहेका थिए ।

सडकको दुवै किनारमा नेपाल प्रहरीका जवानहरु थिए । उनीहरु फुटपाथतर्फ फर्किएका थिए । मानौँ, बाटोमा हिँड्ने मानिसहरुको पैताला कहाँनेर हुनुपर्छ भन्ने गाइड गर्न चाहन्थे उनीहरु ।

नेपाल एसबिआई बैंक कटेर केही पाइला अगाडि मात्र म के पुगेको थिएँ, चोकमा प्रहरीहरुले सवारी साधनमात्र होइन, बटुवाहरुलाई पनि रोकेका थिए । मैले अब गीत बन्द गरेँ, इयरफोन झिकेर गोजीमा राखेँ । हातमा मोबाइल लिएर अगाडि बढेँ । 

बाटो खाली थियो । लैनचौर चोकैमा दुवैतिर प्रहरीहरु उभिएका थिए, मोटरसाइकलहरुलाई रोकिरहेका थिए । उनीहरुलाई त्यहाँ ट्राफिक प्रहरीले साथ दिएका थिए ।

 


लैनचौर चोकैमा पुग्दा सडकको सबैभन्दा अगाडि रहेका मोटरसाइकल चालकहरु चर्को हर्न मात्र बजाइरहेका थिएनन्, होहल्ला पनि मज्जैले गर्दै थिए । प्रहरी उनीहरुलाई रोक्न खोज्दै थियो, उनीहरु आक्रोशित बनिसकेका थिए । एकजना मानिस त्यहाँ चोकैमा भएका प्रहरीसँग चर्काचर्की गर्दै थिए ।

यहीबीच कोही एकजनाले भन्यो– यो बाटो राष्ट्रपतिको होइन, हाम्रो हो, हामीले नै राष्ट्रपति बनाएको हो । 

पक्कै केही लफडा पर्ला कि भन्ने अनुमान मैले लगाएँ र मोबाइल झिकेँ । अब त्यहाँको स्थिति भिडियोमा उतार्छु भन्ने मनमा लाग्यो । भीडमा निकै पछाडि देखि हर्नको आवाज सुनिइरहेको थियो । पछाडिबाट मानिसहरु उस्काइरहेका थिए, भनिरहेका थिए– जाऔं, जाऔँ ।

त्यति बेला शितलनिवासबाट रात्रिभोजमा जान सवार राष्ट्रपति त्यो बाटो कटेको १०–१५ मिनेट भइसकेको थियो । तर, प्रहरीले बाटो खुलाएको थिएन । त्यहीबीच मैले क्यामेरा अन गरेँ । 

एकजना मोटरसाइकल चालकले प्रहरी र ट्राफिकको आँखा छलेर आफ्नो बाइक अगाडि हुत्याए । त्यसपछि त त्यहाँ ट्राफिकले कन्ट्रोल नै गर्न सकेनन् । अरु बाइक चालकले पनि त्यही पहिलो व्यक्तिलाई फलो गरे । त्यसरी अगाडि बढ्दा उनीहरु भनिरहेका थिए– भाग, भाग । हर्न बजाउन पनि उनीहरुले छोडेका थिएनन् । 

यो सबको मैले भिडियो खिचेँ । खासमा यो भिडियो मैले कुनै उद्देश्यविना खिचेको थिएँ । 

फेरि मोबाइलमा गीत सुन्दै म कोठामा पुगेँ । अनि भिडियो फेसबुकमा अपलोड गरेँ । 

भिडियो हेर्नेवित्तिकै एकजना दाइले मेसेज गर्नुभयो– मलाई पठाउ त त्यो भिडियो, म ग्रुपहरुमा हाल्छु । उहाँलाई मैले भिडियो पठाइदिएँ । उहाँले एमआरआर भन्ने ग्रुपमा भिडियो हाल्नु भएछ । म आफैं पनि सदस्य भएकाले भिडियो तत्काल निधै धेरै हेरिएको थाहा पाएँ । 

अब मलाई डर लाग्न थाल्यो । 

पछिल्लो समय सरकारले जसरी अभिव्यक्तिलाई कुन्ठित गर्ने प्रयास गरिरहेको छ, त्यो कुरा मेरो मनमा आउन थाल्यो । हामी कहिलेकांही यस्तो विषयमा हाम्रो न्युजरुममा पनि कुरा गथ्र्यौँ, पछिल्लो समय सामाजिक सन्जाल विधेयकलाई लिएर सरकारका जिम्मेवार हुनु पर्ने मन्त्रीले नै पनि नानाथरी अभिव्यक्ति दिइरहेका छन् । बेलाबेला सरकार वा सत्तामा रहेकाहरुविरुद्ध बोलेको आरोपमै सर्वसाधरण मात्र होइन, पत्रकारहरु नै पनि पक्राउ परेका दृष्टान्त छन् । 

म झन् दोधारमा परेँ । एकातिर भिडियोलाई धेरैले सेयर गरिरहेका थिए, अर्कोतिर मेरो मनमा डर फैलिरहेको थियो । 

मैले झट्ट शिखर सरलाई सम्झिएँ । उहाँलाई फोन गरेर सेयर गरेँ । उहाँले नआत्तिन मात्र भन्नुभएन, समाचार नै बनाउ, हामी पब्लिस गरौँ भन्नुभयो । समाचार पनि हामीले बनाएर छाप्यौँ । तर, मनको डर अझै गएन । आफू डराएको कुरा फेरि मैले शिखर सरसँग सेयर गरेँ । 

उहाँले भन्नुभयो– डन्ट वरी, आइ एम विथ यु । केही पनि हुँदैन कमल, नआत्तिनु । बरु यसमा थप काम गर, भोलि एउटा स्टोरी डेभलप गर ।

अब मन शान्त भयो । राति अबेरसम्म भिडियो कत्तिको हेरिएको छ भनेर चेक पनि गरिरहेँ । 

म उठेर म कलेज गएँ । म पत्रकारिताको विद्यार्थी । आजको दोस्रो पिरियडमा नै सरले रेडियोका सर्ट एनलाइसिस पढाइरहँदा यही भिडियोको प्रसंग अचानक निस्कियो । उहाँले भन्नुभयो– जनता जागरुक भएको दृष्टान्त त हिजोदेखि भाइरल भएको भिडियो पनि हो नि, राष्ट्रपतिको सवारीमा ट्राफिक जाम गराएपछि जनताले अवज्ञा गरेका रहेछन् । 

मैले सरलाई त्यो भिडियो मैले खिचेको हुँ भनेर सुनाएँ । दोस्रो पटकमा मात्र उहाँले मैले बोलाएको सुन्नुभयो, अनि प्रतिक्रिया दिनुभयो– गुड । 

आज दिनभर मैले दर्जनौँ फोन रिसिभ गरेँ, साथीहरुको बधाई दिएको सन्देश पाएँ । विभिन्न साइटहरुमा मेरो भिडियो अपलोड गरिएको रहेछ । मन खिन्न किन भयो भने कतिले त अनुमति नलिइ मेरो भिडियो प्रयोग गर्नुभएको थियो, आफ्नो समाचारमा । 

मैले देखेसम्मका अधिकांश प्रतिक्रिया सकारात्मक थिए । मैले पत्रकारितामा फलो गरिरहेका सुधिर शर्मा सरले पनि भिडियो सेयर गर्नुभएको रहेछ । तर, सँगसँगै केही प्रतिक्रियाहरु नकारात्मक थिए । कतिले त अब त्यो प्रहरीको जागिर जाने भोसमेत भनेका थिए । धेरैले सोचेका रहेछन्, त्यो अवज्ञाले राष्ट्रपतिको सवारी नै प्रभावित भयो । 

तर, वास्तविकता चाहिँ राष्ट्रपतिको सवारी भइसके पछि पनि बाटो नखुलाएपछिको आक्रोश त्यहाँ पोखिएको थियो ।

आज दिनभर केही तनाव, केही खुसी र केही रमाइलो पछि मलाई लाग्यो– अब हिजोको जस्तो समय रहेन । हामीले शासित हुने मानसिकता सायद २०६२÷६३ को आन्दोलनमा नै तिलान्जली दिइसकेका छौँ । तर, हाम्रा नेता वा सत्तामा रहेकाहरुले दम्भ र सत्ताको उन्मादमा कतै हामीलाई फेरि पछाडि धकेल्ने प्रपञ्च त गरिरहेका छैनन् ? 



यो पनि नछुटाउनुहोस्